१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

कांग्रेस सत्तासँग कति टाढा?

वर्तमान सरकार कसरी ढाल्ने भन्ने जमघट भएछ, देउवा निवासमा । नेपाली कांग्रेससँगै मधेसी जनअधिकार फोरम, तमलोपा र सत्तासँग असन्तुष्ट केही सत्ताधारी दलका सांसद पनि सहभागी त्यो भेलामा जति लामो बहस गरे पनि सत्ताको साँचो फेला परेन । अब के गर्ने ? दसैँ पनि नजिकिँदै गरेकाले तास खेलैरै छुट्टिऔँ भन्ने सहमति भयो । तासका तीन बुक झिकाइयो । अफसोस ती बुकमा पनि सत्ता थिएनन्।

कांग्रेसको भाग्यमा सत्ता निकै पर छ भन्ने संकेतका साथ गरिएको यो व्यंग्यमा नेकपाको दुई तिहाइ सरकार हुनु र कांग्रेसले जनताले सोचेजस्तो प्रतिपक्षको भूमिका ननिभाउँदा यथार्थको झल्को भेटिन्छ । चुनावी पराजयपछि सुध्रने त कताकता झनै आन्तरिक किचलोमा फसेको प्रतिपक्ष देखेरै होला, दुई तिहाइ सरकार आफ्ना तमाम कमजोरीका बाबजुद आत्मविश्वासमा देखिन्छ । सत्ता गठबन्धन यसरी काम गर्दैछ– मानौँ, ऊ अजेय हो।

राजनीति सधैँ एकनासको रहँदैन । जुनसुकै बेला पनि पासा पल्टिन सक्छ । त्यसैले त यसलाई सम्भावनाको खेल पनि भनिन्छ । विश्लेषक पुरञ्जन आचार्य नेपाली राजनीतिमा महत्वाकांक्षाको चलखेल हुँदै आएको सुनाउँदै सत्ताभन्दा धेरै टाढा देखिएको कांग्रेसको भाग्यमा कुनै पनि बेला ‘सत्र पल्टिन’ सक्ने अनुमान गर्छन् । सामान्य अवस्थामा कांग्रेस सत्ताबाट टाढा देखिए पनि नेकपाभित्र पछिल्लो समय आन्तरिक द्वन्द्वले सत्ताको नजिक ल्याएको उनको बुझाइ छ।

नेकपाभित्रको अहिलेको अवस्था २०४८ सालको निर्वाचनपछि नेपाली कांग्रेसभित्र पलाएको अन्तर्विद्रोह जस्तै रहेको उनको बुझाइ छ । पछिल्लो समय वामदेव, माधव नेपाल र झलनाथ एकै ठाउँमा उभिएर केपी ओलीविरुद्ध मोर्चा कस्न सक्ने उनको बुझाइ छ । अझ यस्तो बेलामा त सत्ताका नामुद खेलाडी प्रचण्डको भूमिकाले सत्ता कसको हातमा जान्छ भन्ने कुराको समेत निर्णय गर्ने उनको बुझाइ छ।

वाम विश्लेषक श्याम श्रेष्ठको कुरा सुन्दा नेकपामा सत्ता परिवर्तनको संकेत मिल्छ । उनले सिधै सरकार असफल भएको त भनेनन् तर यसको इच्छाशक्ति चाहिँ नभएको स्वीकार्छन् । अहिले सरकारले राम्रो काम गर्न नसके पनि नेकपा पार्टीले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको बुझाइ छ । अहिलेको सरकारसँग समय र शक्ति भएको तर इच्छाशक्तिको कमी रहेको उनको बुझाइले अर्को कुनै विकल्पको खोजी पनि हुन सक्ने संकेत दिन्छ । सत्ता सञ्चालनको ७ महिनामा चीनसँगको पारवहन सन्धिबाहेक यो सरकारसँगै अन्य केही उल्लेख्य काम नगरेको भन्दै अब राम्रो र देखिने काम गर्नुको विकल्प नरहेको बताउँछन् । सिन्डिकेट, सुनकाण्ड र ठेकेदारको कारबाहीका कुरा उठ्दै सेलाउँदै गरेको उनले सुनाए । त्यसैले कांग्रेस सत्ताको जति टाढा देखिए पनि सरकारको काम यस्तै हो भने नजिक आउन धेरै समय नलाग्ने उनको बुझाइ छ।

के कांग्रेस नेकपा फुटेर या कमजोर भएर मात्र अगाडि आउने हो कि आफ्नै कार्यक्षमता र संगठन विस्तारले अगाडि बढ्ने हो, त्यो प्रतीक्षाको विषय हो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल त यस्तो अवस्था कुर्नु भनेको कांग्रेस सकिनुको संकेत गर्छन् । त्यसैले होला, केही दिन अगाडि युरोप भ्रमणको क्रममा कम्युनिस्टहरूमा अन्तद्र्वन्द्व आउला र हाम्रो पालो आउला भन्ने कांग्रेसले सोच्नु भनेको दुर्भाग्य हुने बताएका थिए । यस्तो सोचियो भने ठूलो आत्मघात हुन सक्छ । कम्युनिस्ट असफल हुँदा अर्कै शक्ति पनि आउन सक्छ।

उनले भनेजस्तै अर्को शक्ति आउला त ? छिमेकी देश भारतमा आम आदमी पार्टीको उदय सेलाए पनि भर्खरै पाकिस्तानमा इमरान खानको पार्टीले विजय हासिल गरेपछि कतिपयले यस्तो सम्भावना बाँचेको देख्छन् । विवेकशील साझा पार्टी या अन्य कुनै पार्टीले कम्युनिस्ट मन नपराउने र कांग्रेससँग आशा नभएका जनताको ठाउँ लेलान् भन्ने जमात पनि छन्।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले त पार्टी नेतृत्व अलोकतान्त्रिक हुँदै गएको र पार्टी घोर अप्रजातान्त्रिक र निरंकुश हुँदै गएको सुनाए । उनीहरूका कुरा कांग्रेसमा सुनिएला भन्ने संकेत छैन । केही समयअघि शशांक कोइरालाले क¥याङकुरुङ चराको उदाहरण दिँदै कसरी उनीहरूले नेतृत्व परिवर्तन गर्छन् भनेर बुझाउन खोज्दा कांग्रेस सभापति देउवाले क-याङकुरुङ थाक्यो होला म छैन भन्ने जवाफ फर्काएका थिए।

यस्तो बेलामा कांग्रेस आफू कसरी अगाडि बढ्ने भन्नेमा अन्यौल छ । वरिष्ठ नेता पौडेल त कांग्रेसले आफूलाई सक्षम र सबल बनाउने अनि कमी कमजोरीलाई सुधारेर जनताका बीचमा जाने बताउँछन् । । कांग्रेसले जनताको स्वार्थसँग आफूलाई गाँस्ने र कर्मशील बनेर देशलाई आफैँ हाँक्ने हिम्मत राख्नुपर्ने उनको विचार छ । उनको विचार अल्पमतमा छ।

वर्तमान सरकार जतिसुकै अलोकप्रिय भए पनि कांग्रेस सत्ताभन्दा निकै टाढा रहनेछ । उसको अवस्था यस्तो छ, नेकपा सरकारको कमजोरी नियाल्दा ऊ अलिकति भए पनि सत्ताको नजिक देख्छ । तर कांग्रेसले जब आफ्नै पार्टीको अवस्था नियाल्छ तब आफैँले आफूलाई सत्ताबाट कोसौँ टाढा देख्नेछ।

प्रकाशित: २८ आश्विन २०७५ ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App