१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जहाज सुसार्दै पाँच दशक

काठमाडौं- मुलुकको उड्डयन क्षेत्रमा सम्भवतः एक मात्र यस्ता व्यक्ति छन् जसले निरन्तर ५२ वर्षदेखि जहाजलाई चुस्त–दुरुस्त राख्दै यात्रुलाई सुरक्षित उडान भर्न सघाइरहेका छन्। उमेरले ७७ वर्षमा कुदाए पनि उनको उमेर ठ्याक्कै त्यत्ति नै हो भन्ने विश्वास कसैले पनि गर्दैन। किनकि उनमा जोस र जाँगर लक्का जवानको भन्दा कम छैन। त्यसैले उमेर उनका लागि संख्या मात्र हो। र, भन्छन्, 'म अझै युवा नै छु।'

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरका बेस मेन्टिनेन्स म्यानेजर शारदाभक्त राजभण्डारी भन्छन्, 'मैले लगभग ६ दशक उड्डयन क्षेत्रमा बिताइसकेँ तर त्यसलाई फर्केर हेर्दा काम सुरु गरेको भर्खर ६ वर्षमात्र भएको हो कि झैं लाग्छ।'

राजभण्डारी बुद्ध एयरका सबैभन्दा वरिष्ठ कर्मचारी हुन्। त्यही भएर उनलाई बुद्धका सारा कर्मचारीले माया गरेर 'राज दाइ' सम्बोधन गर्छन्। यही सम्बोधन गर्न रुचाउँछन् बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत पनि।

राजभण्डारीको काम गर्ने थलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्धको जहाज राख्ने तथा मर्मत गर्ने 'ह्यांगर' हो। उनको काम बुद्धका जहाजमा सबै पुर्जा चुस्त–दुरुस्त छ वा छैन भन्नेदेखि आवश्यक पुर्जा मर्मत गरिएका छन् या छैनन् र तोकिएको समयमै परिवर्तन गरिएका छन् कि छैनन् भन्ने सुक्ष्म रूपमा नियाल्नु हो किनकि उनलाई राम्रोसँग थाहा छ, एउटा झिनो गल्ती वा मसिनो पुर्जा यताउता भए जहाज ठूलो दुर्घटनामा पर्नसक्छ।

राजभण्डारीले सुरुमा उड्डयन क्षेत्रमा काम गर्छु भन्ने कहिल्यै पनि सोचेका थिएनन्। बरु, उनी नेपाली सेनामा काम गर्न चाहन्थे। यसमा उनलाई एउटा अवसरले सेनाबाट उड्डयन क्षेत्रमा जाने बाटो पहिल्याइदियो। विज्ञान विषयमा स्नातक सक्नासाथ उनीसहित १२ जना साथी पाकिस्तानमा अध्ययन गर्न जान छनोट भए। उता पढाइ सकेर सन् १९६७ मा नेपाल फर्केपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा काम गर्न सुरु गरे। निगममा उनले ३२ वर्ष काम गरे।

निगमबाट अवकास लिएपछि पनि उनी चुप लागेर बसेनन्। उनले स्वतन्त्र रूपमा उड्डयन क्षेत्रमा काम गर्दै रहे। नौ वर्ष यसरी काम गरेपछि उनले सन् २००८ मा बुद्ध एयरमा काम सुरु गरे। सुरुमा काउन्सेलर, त्यसपछि पाइलट र इन्जिनियरलाई पढाउँदै उनले पूर्णकालीन कर्मचारीका रूपमा काम गर्न थालेका थिए।

'राज दाइ हाम्रा उत्कृष्ट कर्मचारीमध्ये एक हुन्,' बुद्धका प्रबन्ध निर्देशक बस्नेत भन्छन्, 'उनी सबै कर्मचारीका लागि उत्साह र ऊर्जा भर्ने प्रेरक व्यक्तित्व पनि हुन्।' राजभण्डारी आफू जे गर्छन्, त्यसमा सन्तुष्ट हुन्छन्। आफ्ना सहकर्मीप्रति उनी समान र मित्रवत व्यवहार गर्छन्। बच्चाले जस्तो सिकिरहने बानी भएका उनको शैली देखेर जो कोही पनि प्रेरित हुने गर्छन्।

'तपाईंको उमेर  ढल्कँदैमा सिक्ने र ज्ञान प्राप्त गर्ने प्रक्रिया रोकिँदैन किनभने ज्ञान पाउन तपाईंको उमेर र अन्य अवस्थाले छेक्दैन,' उनी भन्छन्। उनीसँग यस्तै एउटा अनुभव पनि छ– एकपल्ट एकजना सहकर्मीसँग मिलेर जहाजको 'कभर' राख्न जतिचोटि प्रयास गर्दा पनि सम्भव भएन। अचानक मेरो ध्यान धेरै बेरदेखि हाम्रो काम हेरिरहेका कम्पनीकै सरसफाइ गर्ने एक कर्मचारीमाथि पर्‍यो। मैले उनलाई सहयोग गर्न आग्रह गरेँ। उनले केही विचार गरे र भने, 'यो कभरको छेउछेउमा 'ग्रिज' दल्नुस् अनि यो फिट हुन्छ।' अचम्म, उनको सुझावले काम गर्‍यो। जहाज मर्मत पुस्तिकामा ग्रिज दल्ने बुँदा कहिल्यै पनि उल्लेख गरिएको हुँदैन।

जहाज राख्ने ह्यांगरलाई राजभण्डारी आफ्नो मन सन्तुष्ट राख्ने ठाउँका रूपमा लिन्छन्। कहिलेकाहिँ अस्वस्थ भएका बेला पनि उनी काम गर्न ह्यांगर आइपुग्छन् किनभने त्यहाँ उनको मष्तिष्क व्यस्त भइरहने उनको अनुभव छ।

उनी काममा यति दत्तचित्त छन् कि परिवारलाई समय दिन भ्याउँदैनन्। 'श्रीमानसँग कुनै पनि योजना बनाउन नपाएको भन्दै श्रीमतीले सधैं गुनासो गर्छिन् किनभने कामको चटारोका कारण म उनको योजना रद्द गरिदिन्छु,' राजभण्डारी भन्छन्, 'बरु जहाज तोकिएको समयभन्दा ढिलो उड्ने भयो भनेर यात्रुलाई सम्झाउन मलाई गाह्रो हुँदैन, श्रीमतीलाई सम्झाउन गाह्रो छ। तर केही वर्षदेखि कुरा बुझ्न थालेकी छिन्।'

बेस मेन्टिनेन्स म्यानेजरका रूपमा काम गर्नु सजिलो भने छैन। उड्नुअघि प्रत्येक जहाजलाई न्यूनतम १२ घन्टासम्मको तयारी राजभण्डारी आफैंले हेर्ने गर्छन्। यति समय भनेको जहाजका सबै पुर्जा सही हालतमा छन् या छैनन् भनेर हेर्ने तनावपूर्ण अवस्था हो। 'मेरो पेसा एउटा सुन्दर कथा हो,' राजभण्डारी मुस्कुराउँदै भन्छन्।

प्रकाशित: ६ आश्विन २०७३ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App