१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

एउटा फरक पात्र – मुपात्र

मुपात्रको भेषमा मकरबहादुर भुजेल (बीच)। तस्बिर सौजन्य : शिवकृष्ण याकामीको फेसबुक

मुपात्र जात्रा भक्तपुरको इन्द्रजात्राको प्रमुख आकर्षण हो  । तर, जात्राको मुख्य पात्र बन्न कोही रुचाउँदैनन् । अरुले मन नपराउने यहि भूमिका यहाँ एक गैर नेवारले निभाउँदै छन् । रामेछाप, गुम्देलका ७० बर्षीय मकरबहादुर भुजेल मुपात्र बन्दै डेढ दशकदेखि नेवार संस्कृतिको निरन्तरतामा सहयोग पु-याउँदै आएका छन्।

‘नेवारी संस्कृतिमा यो पात्र बन्नुलाई राम्रो मानिँदो रहेनछ,’ उनले भने, ‘अरुले नगरेपछि मैले यो भूमिका निभाउन थाले ।’ सुरुमा भक्तपुरस्थित गुठी संस्थानका कर्मचारीको आग्रहमा आफूले जात्रामा सहभागिता जनाएको उनले सुनाए । ‘त्यसयता हरेक वर्ष जात्रालाई निरन्तरता दिँदैछु,’ उनले भने।

मुपात्रलाई राक्षसको प्रतिक मान्दै दुःख दिने चलन पनि छ । भुजेलले विगतमा यस्ता हण्डर थुपै्र खाएका छन् । तर, पनि उनले संस्कृतिलाई निरन्तरता दिन छाडेका छैनन्।

भुजेल युवा उमेरमै कामको खोजीमा राजधानी आएका हुन् । उनले भक्तपुर क्षेत्रलाई आफ्नो कार्यथलो बनाए । यहाँका जात्रा र संस्कृतिमा रमाए । जब पछिल्ला समयमा मुपात्र हुने व्यक्तिको अभाव देखे, तब आफै यो भूमिकामा निस्कन तयार भए।

तर, यो जात्रामा मुपात्रको भूमिका निभाउन कम्ता कठिन काम नरहेको उनी सुनाउँछन् । मुपात्र बनेर सहर घुम्दा स्थानीयले दुःख दिने चलनले जात्रा जोखिमपूर्ण रहेको उनले सुनाए । विगतका वर्षमा जात्राको क्रममा चोटपटक समेत लागेको उनी बताउँछन् । ‘प्रहरीको घेरामा बसेर सहर परिक्रमा गरे पनि कतिपय सर्वसाधारणले सुइले समेत घोचेका छन्,’ उनले भने, ‘निकै संघर्षका साथ तीन दिनको जात्रा बित्ने गर्छ।’

अघिल्ला वर्षझैं यस पटक पनि इन्द्रजात्राको क्रममा भक्तपुरमा अघिल्लो  साता सम्पन्न मुपात्र जात्रामा उनी सहभागी बने । आठ दिने इन्द्रजात्राको क्रममा अन्तिम तीन दिन मुपात्र जात्रा चलाउने परम्परा छ । सहरका विभिन्न भाग परिक्रमा गरेकाले होला  भुजेलका गोडा पछिसम्म सुन्निएका थिए । उनका शरीरमा थकान थियो । तर, मनमा उत्साह झल्किन्थ्यो।

इन्द्रजात्राको प्रमुख आकर्षण रहेको यस जात्रामा मुपात्र हुने व्यक्तिको अभाव हुँदा गैर नेवार समुदायका मकरबहादुर भुजेलले डेढ दशकभन्दा लामो समयदेखि जात्रालाई निरन्तरता दिँदै आएका छन् । भक्तपुरमा उनी मजदुरको काम गर्छन् । उनले भारीसँगै यहाँको संस्कृति पनि बोकिरहेका छन्।

‘के गर्ने जात्रा नै यस्तो रहेछ, उनले भने, ‘दुःख भए पनि निरन्तरता दिँदै आएको छु।’

दत्तात्रय मन्दिर नजिकको नारायण मन्दिरबाट मुपात्र जात्रा सुरु भएको उनले सुनाए । नगर परिक्रमा गर्दै सोही स्थान पुगेपछि पहिलो दिनको जात्रा सम्पन्न भएको उनी बताउँछन् । त्यसैगरी दोस्रो दिनको जात्रा भक्तपुर दरबार स्क्वायरका चार धाम मन्दिरबाट नगर परिक्रमा गरी दरबार स्क्वायरमै पुगेर समापन भएको उनले बताए।

अन्तिम तेस्रो दिन  टौमढीस्थित भैरव मन्दिरबाट सुरु भई त्यहीं पुगेर जात्रा सम्पन्न भयो । यहि क्रममा केटाकेटी तथा अन्य युवाले उनलाई दुःख दिएको उनी सुनाउँछन् ।  प्रहरीको सुरक्षा त हुन्छ । तर, पनि लुक्दै मुपात्रलाई रमाइलो मान्दै आक्रमण गर्न केही तम्सिन्छन्।

जात्राका बेला हातमा खड्ग लिएका मुपात्रले टोलटोलमा ठड्याइएका यम द्य (इन्द्रका छोराको प्रतीकको रूपमा रहेको लिंगो)लाई तीनपल्ट घुमेर खड्गले प्रहार गर्छन् । त्यतिबेला जात्रालुले ठुल्ठूलो स्वरमा ‘हया चायगु कप मुपात्र, गेरा म्येसा ला’ अर्थात् हाँसको टाउको र गैँडाको मासु खाने मुपात्र भन्दै जिस्क्याउँछन्।

मुपात्रसँगै दायाँबायाँ दुई अन्य व्यक्ति हुन्छन् । धिचा भनिने उनीहरू दैत्यराजाका सहायक अर्थात् मन्त्री हुन् । यसमध्ये एकमा मधेसी समुदायका व्यक्ति थिए भने अर्को एक भने नेवार समुदायका रहेका थिए।

गैर नेवार समुदायले जात्रालाई निरन्तरता दिएकोमा स्थानीय पनि खुसी छन् । ‘नेवार समुदायमा यस्तो पात्र बन्ने रहर कसैले गर्देनन्, उनले हाम्रो संस्कृति जोगाउँदै आएक छन्,   सुरेश तमखुले भने, ‘जे जस्तो भए पनि उनले हाम्रो संस्कृति धान्नमा सहयोग गरेका छन्।’

मुपात्रको भूमिका निभएको भुजेलकी श्रीमती रमा भने त्यति खुसी छैनन् । समाजले राम्रोसँग सम्मान नगरेको उनको  गुनासो छ । ‘जात्रामा सहभागी भएबापत गुठी संस्थानले तीन दिनको पाँच हजार रूपैयाँ दिनेबाहेक अरु केही छैन,’ उनले भनिन्, ‘समाजले राम्रो सोचेजस्तो व्यवहार गरेको छैन।’

उनको कुरासँग स्थानीय केही सहमत छन् । नेवारी संस्कृतिको निरन्तरतामा लागेका भुजेललाई सम्मान गर्नुपर्ने  स्थानीय पथ प्रदर्शक एंव शिक्षक मुरज दिदियाको बुझाई छ । ‘समाजले उनलाई जात्राको क्रममा घोचेपेच होइन, बरु  सहजता दिलाउनुपर्छ,’ उनी भन्छन्, ‘हाम्रो संस्कृति रक्षा गर्दै सामाजिक सद्भाव बढाउनेको सम्मान गर्नुपर्छ।’

भक्तपुरमा उनी मजदुरी गर्छन् । पसलका सामान ओसारपसार गर्छन् । यसैबाट उनको जीविका चल्दैछ  । ‘उनले भारीसँगै यहाँको संस्कृती पनि बोकिरहेका छन्,’ दिदियाले थपे, ‘उनलाई भरथेग गर्नुपर्छ।’

के हो मुपात्रको कथा?
स्वर्गका राजा इन्द्रकी आमा वसुन्धरालाई गणेश चौथीको व्रत बस्न पारिजातका फूल र खाइसी नामको एक फल (किप) आवश्यक परेको थियो । जुन स्वर्गमा पाइँदैनथ्यो । स्वर्गमा नपाइने भएपछि इन्द्रले छोरा जयन्तलाई मृत्युलोकको एक बगैंचामा फुलिरहेको पारिजातको फूल र फल कसैसँग नसोधी जयन्तले टिपेकै कारण मालीले चोरी आरोपमा समातेर दैत्यराजाकहाँ लैजान्छन् । जयन्तलाई सजाय दिने क्रममा दैत्यराजाले तरबारले प्रहार गर्छन्।

त्यही कुराको सम्झना गराउन जात्राको मुपात्रले टोलमा ठ्याइराखेका लिंगोलाई खड्गले प्रहार गर्ने चलन चलेको हो । अन्तमा देवताहरूले युद्ध गरी जयन्तलाई छुटाएर लगेको भनाइ छ । प्रचलित कथन अनुसार त्यही दैत्यराजा नै त्यही मुपात्रा हो भन्ने जनविश्वास छ।

राक्षस होइन, राजा
संस्कृतविद् ओम धौभडेल मुपात्रलाई राक्षसभन्दा पनि मूल पात्र मान्छन् । देवतासँग वैरी खोजेका कारण उति बेला उनलाई राक्षसको संज्ञा दिएको हुन सक्ने उनको अनुमान छ।

‘सम्भवत ऊ न्याय प्रेमी थियो, त्यहि भएर चोरीको आरोप लागेपछि इन्द्र र इन्द्रको छोरालाई समेत छाडेनन्,’ उनले भने, ‘त्यसैको विरोधमा अहिलेसम्म पनि मुपात्रलाई नकार्ने चलन छ ।’ मुपात्रको भेषमा आउने व्यक्तिको शिरमा मुकुटसमेत हुने उनले सुनाए।

मुपात्रले न्यायसंगत काम गरेका कारण उसको भेषमा आउने व्यक्तिलाई समाजले नकार्ने हैन बरु सम्मान गर्नुपर्ने बताए। ‘भक्तपुरका अन्यले नगरेको काम उनले गरेका छन्,’ उनी भन्छन्, ‘जे उद्देश्यले जसरी भएपनि उनले नेवारी संस्कृतिको रक्षामा योगदान पु-याएका छन्।’

विगतको समयमा मुपात्र हुनेको छोरी चेलीको बिहे समेत हुन मुस्किल पर्ने गरेका कारण अझै पनि भक्तपुरका स्थानीय मुपात्र बन्न तयार नभएको उनको बुझाई छ । ‘विगतमा त एक पटक मुपात्र बनेपछि उसको लागि यो ठाउँमा बस्नै मुस्किल पर्थ्यो,’ उनले भने, ‘तर, अहिले समय फेरिएको छ।’

मुपात्रको भूमिका निभाउँदै आएका भुजेललाई समाजले सम्मान गर्नुपर्ने उनको पनि तर्क छ । जात्रामा सहभागी भएर भुजेलले दुई छाक मात्र टारेका हैनन, बरु हाम्रो सदियौ पुरानो संस्कृतिलाई जोगाएको उनले सुनाए । ‘दुई–चार सय रूपैयाको दिएको भरमा राक्षसको संज्ञा दिएर भगाउने भन्दा पनि उनलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘तब मात्र हामीले हाम्रो संस्कृतिलाई माया गरेको ठहर्छ।’

मुपात्रलाई अपराधी देखाएर निन्दा गर्ने चलन विगतमा रहेको उनले सुनाए । ‘देवताको विरोधमा लाग्नेलाई राक्षस बनेर हेला गरिन्थ्यो,’ उनले भने, ‘त्यति बेलाको त्यो सोच अहिले देखिने जात्रामा पछि झल्कन्छ।’

प्रकाशित: २७ आश्विन २०७५ ०४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App