१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

‘उचित आहार–विहार, स्वास्थ्यको मूल आधार’

आजभोलि युवा उमेरमै मान्छेलाई अनेक रोगले सताउन थाल्छ। तर कतिपय मानिस यस्ता पनि छन्, जो वृद्ध उमेरमा प्रवेश गरिसक्दा पनि स्वस्थ नै हुन्छन्। नेपाल क्लेज अफ ट्राभल एन्ड टुरिजमकी संस्थापक प्रमुख तथा व्यवसायी छाया शर्मा पनि एउटा त्यस्तै उदाहरण हुन्, जो उमेरले ६ दशक पार गरिसक्दा पनि स्वस्थ र फूर्तिलो नै छिन्।

बिहानदेखि बेलुकीसम्म काममै व्यस्त रहने उनी अहिलेसम्म शरीरमा कुनै रोगले आक्रमण नगरेको बताउँछिन्। प्रस्तुत छ– उनको स्वस्थ जीवनबारे नागरिकले गरेको संक्षिप्त कुराकानीः

कति वर्षकी हुनु भयो?
६३ वर्षकी भइसकें।

तपाईंको उचाइ कति छ?
५ फिट ३ इन्च।

तौल कति छ नि?
६० केजी।

निकै फूर्तिलो देखिनुहुन्छ ? कुनै रोग छ कि छैन?
अहिलेसम्म कुनै रोग लागेको छैन । केही वर्ष पहिले रक्तचाप केही बढेको थियो, अहिले त कम भइसक्यो।

निकै स्वस्थ देखिनु हुन्छ ? कस्तो खानेकुरा कसरी खाने गर्नुभएको छ?
बिहान ब्राउन राइस, तरकारी, फलफूल सबै मिलाएर खान्छु । फ्रिजको पानी पिउँदिनँ, कोकाकोला, फ्यान्टाजस्ता कोल्ड ड्रिंक्स पनि प्रयोग गर्दिनँ । बजारमा पाइने बट्टाको जुस पनि पिउँदिनँ । जुस पिउनै परे घरमै बनाएको मात्र पिउँछु । सकेसम्म फलफूलै बढी खान्छु । सागपात अनिवार्य जस्तै हो । बेलुकीमा दलिया, सुप यस्तै हल्का खानेकुरा खान्छु । मैदाबाट बनेका खानेकुरा खाँदिनँ, आँटाको खान्छु । खानासँग पानी पिउँदिनँ । खाने खानेबित्तिकै पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हो । खानाको एक÷डेढ घण्टाअघि वा पछि मात्र पानी पिउनु पर्छ।

स्वस्थ रहन अरू के–के गर्नु हुन्छ?
बिहान ५ बजे नै उठ्छु। आधा घण्टा हिंड्डुल गर्छु । फर्केर आएपछि योग, ध्यान गर्छु । योग, ध्यान गर्दा हरेक दिन दुई घण्टा बित्छ । योग, ध्यान सकेपछि भान्छामा काम गर्छु । भान्छाको तालिका बनाउनेदेखि आवश्यक सामाग्री जुटाउनेसम्म काम गर्छु । त्यसपछि कलेजका काममा निस्कन्छु । बेलुकी ८ बजेपछि मात्र फुर्सदमा हुन्छु।

फुर्सदमा के गर्नु हुन्छ त?
फुर्सदमा बढी पुस्तक, पत्रपत्रिका पढ्न रुचाउँछु । लामो विदा मिलेमा नेपाल तथा भारतका आश्रममा घुम्न निस्कन्छु । हालै भारतको कैलाश आश्रम पुगेर आएँ । नेपालका धेरैजसो पर्यटकीय स्थल घुमिसकेकी छु।

अरूलाई आफूजस्तै स्वस्थ हुन के सुझाव दिनु हुन्छ?
मेरो अनुभवले के भन्छ भने योग, ध्यान, स्वस्थ आहार विहार नै स्वस्थ जीवनको मूल आधार हो । यो कुनै काल्पनिक कुरा हैन । योग र ध्यान गर्न थालेपछि आफसेआफ शरीर र मन दुवैमा ताजगी आउँछ ।
योग तथा ध्यानमा लीन मान्छेलाई अरूले के भन्छन् भन्ने कुराले प्रभाव पार्दैन । प्रभाव नपरेपछि कुनै कुराको तनाव हुँदैन । स्वस्थ खानपान, नियमित व्यायाम र असल कामले नै मानिस स्वस्थ र सुखी बन्छ।

प्रकाशित: २७ आश्विन २०७५ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App