१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कृषिमन्त्री भन्छन् : उपत्यकामा राँगाको मासु खानलायक छैन, ४० मिटमार्ट खोल्दैछौं

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले काठमाडौं उपत्यकामा राँगाको मासु खानलायक नभएको बताएका छन्। ‘काठमाडौंमा राँगाको मासु खानलायक छैन। अरु मासु पनि व्यवस्थित छैनन्’, उनले भने। मासुबारे अलिक बढी सचेत हुनुपर्ने भन्दै मन्त्रालयले मासुको नियमन गरिरहेको उनको भनाई छ। 

मन्त्री खनालले आफूहरुले काठमाडौंमा गरेको मासुको अनुगमनबाट राँगाको मासु खानलायक नरहेको जिकिर गर्दै यसप्रति सचेत रहन उपभोक्तालाई आग्रह गरे। उनले भने, ‘अरु मासुपनि व्यवस्थित छैनन्। तर, राँगाको मासु खानलायकको छैन्।’

राँगाको अव्यवस्थित बधलाई व्यवस्थित गर्न काठमाडौं उपत्यकाभित्र ४० वटा ‘मिट–मार्ट’को व्यवस्था गर्ने, हेटौंडाको पुरानो बधशालालाई तुरुन्त सञ्चालन गर्ने र फ्रिजर भ्यानबाट काठमाडौं मासु ढुवानीको व्यवस्था गर्ने सरकारको तयारी रहेको उनले सुनाए। 

शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले काठमाडौंमा मासुको अनुगमन गरिरहेको तर, नियमन हुन नसकेको बताए। ‘राँगाको मासुको सन्दर्भमा निकै नै अप्ठ्यारो स्थिति छ। काठमाडौंमा दैनिक ३५० देखि ४०० सम्म राँगा बध गरिन्छन्। बध गर्ने मुख्य २० ठाउँ छन्। तीमध्ये ५ वटामा अनुगमन गर्दा ४ गुणस्तर नपाएकोले हामीले अहिले ४ वटामा सिलबन्दी गरिसकेका छौं।’

उपभोक्ताको पहुँच नभएका कारण राँगा काट्ने ठाउँ अव्यवस्थित रहेकोले बन्द गरेको जानकारी दिँदै उनले थपे, ‘तर, खसी, कुखुरा, भेडा र च्याङ्ग्राको स्थिति अलिक फरक छ। त्यहाँ उपभोक्ताको सहज पहुँच हुन्छ। प्रत्यक्ष निगरानी हुन्छ।’

बधशालालाई व्यवस्थित गर्नको लागि मासु जाँच ऐन–२०५५ जारी गरिएपनि कार्यान्वयन नभएको गुनासो गर्दै उनले भने, ‘नेपालमा ऐन पारित गर्ने तर कार्यान्वयन नहुने समस्या छ। अब कार्यान्वयनतर्फ ध्यान दिनुपर्छ। ऐन कार्यान्वयन नहुँदा मासुको स्थिति राम्रो देखिएन।’

मन्त्री खनालले हेटौंडामा रहेको पूरानो बद्यशालालाई पुनः सञ्चालनमा ल्याउनेबारे सरकारले तयारी गरिरहेको जानकारी दिए। उनले भने, ‘दैनिक ४ सय राँगा काट्न सकिन्छ। हेटौंडालगायत अन्य ठाउँमा बध गरेर काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न सकिन्छ। सरकारले यसबारेमा पनि सोचेको छ।’

डलरको भाउ बढ्दा मूल्य आकासियो, कालोबजारी गरे कारवाही

न्त्री खनालले पछिल्लो समय चिनी, खाद्य मल र पेट्रोलियम पदार्थमा महँगी देखिनुमा डलरको भाउ बढ्नुले पनि केही असर परेको जिकिर गरे। उनले भने, ‘तर हाम्रो देशमा उत्पादित खाद्य वस्तु र छिमेकी देशबाट आयात हुने कुरामा डलरको त्यति धेरै असर त होइन होला। खाद्य वस्तुको कुरा गर्दा हिजो २ महिना अघि र अहिलेको तुलनामा मुल्यवृद्धि भएकोजस्तो मलाई लाग्दैन्।’

उनले चाडपर्वको मौका छोपेर कसैले कालोबजारी र गलत काम गर्न खोजे सरकारले कडाभन्दा कडा कारबाही गर्ने पनि चेतावनी दिए। उनले भने, ‘हामीले बजार अनुगमन गरिरहेका छौं। कसैले पनि चाडपर्वको मौका छोपेर गलत गर्नेबारे नसोचे हुन्छ।’

प्रकाशित: २६ आश्विन २०७५ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App