१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस एक भए आर्थिक समृद्धि : सिंह

नुवाकोट - नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेकपा सरकारको ‘समृद्धि, समुन्नति र आर्थिक क्रान्ति’ को नारा गाउँदेखि केन्द्रसम्म कांग्रेस एक भए सफल हुने बताएका छन्। दसैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेस नुवाकोटले विदुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले नेपालको संविधान कम्युनिस्टको सरकारले जारी गर्न नसकेको बताउँदै थपे, ‘नेकपाले अहिले लिएको नारा पनि घुम्दैफिर्दै कांग्रेसको पोल्टामा आउने निश्चित छ। गाउँदेखि केन्द्रसम्म कांग्रेस एक भएर योजना बनाउँदै जनताको पक्षमा काम गर्नुपर्छ ।’ जुन ठाउँमा पनि कांग्रेस एकजुट छैन, गुट निर्माणमा व्यस्त छ भन्ने गुनासो सुन्नुपरेको बताउँदै उनले पार्टी संस्थागत नभएसम्म एक ढिक्का भएर अघि बढ्न नसक्ने स्पष्ट पारे।

‘कांग्रेसको विधान, नियमअनुसार नेताकार्यकर्ता सबैले एउटै गन्तव्य देख्नुपर् । वडादेखि केन्द्रसम्मकै नेतृत्वमा कमजोरी देखिएकाले गल्ती महसुस गर्दै सच्चिँदै जानुपर्छ । नत्र सधैं पार्टी अस्तव्यस्त रुपमा सञ्चालन हुन्छ र विलीन हुने अवस्थामा पुग्छ,’ नेता सिंहले भने, ‘कार्यकर्ता नेताको पछि होइन विचारको पछि लाग्नु आवश्यक छ । राजनीति गर्नु नै छ भने जनताको आवाज बोल्नुपर्छ होइन भने राजनिति गर्नुको औचित्य छैन।’

कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले नेकपाको सरकारले जिल्लाको विकास निर्माणका लागि आवस्यक बजेट कटौती गरेको बताए । मुख्य सडक खाल्डाखुल्डीले अस्तव्यस्त भएको अवस्थामा रेलको सपना देखाएर जनतालाई छल्ने काम सरकारले गरिरहेको आरोप डा. महतको थियो। पार्टीभित्र विश्वास र खुला हृदयको खाँचो रहेको बताउँदै उनले भने, ‘एकअर्कामा सहकार्य आवश्यक छ अनि मात्र अबको निर्वाचनमा हामी अगाडि आउन सक्छौं । अहिले हामी पदीय रुपमा अवसरविहीन छौं तर सरकारको क्रियाकलापमा जनता सन्तुष्ट छैनन् । हत्या, हिंसा, बलत्कारको घटना बढ्दो छ तर सरकार मौन छ । त्यसका लागि आवाज उठाउनु आवश्यक छ।’

अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विश्वविद्यालय, अस्पताल, प्रेस जताजतै सरकारको हस्तक्षेप बढेको बताए । उनले मूल्यवृद्धिले जनताको ढाड सेक्ने काम भइरहेको, आपराधिक घटनाको छानबिनमा सरकारले ध्यान दिन नसकेको आरोप लगाए। पार्टीभित्रको कमजोरी बाहिर ल्याएर टीकाटिप्पणी गर्नुभन्दा पनि देखिएको चुनौती अन्त्य गर्न पाटी एकतामा जोड दिनुपर्ने उनले बताए । पछिल्लो निर्वाचनको परिणामबाट कमजोर देखिए पनि पार्टी एक भएमा कुनै अर्को शक्तिले पछि पार्न नसक्ने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा जिल्लास्तरका नेताहरुले कांग्रेसको संगठन मजबुत भए पनि शीर्ष नेतामा रहेको गुटबन्दीका कारण पछिल्लो चुनावमा कमजोर बन्न पुगेको बताएका थिए।

प्रकाशित: २६ आश्विन २०७५ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App