१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प–किम शिखर बैठक अमेरिकी निर्वाचनपछि’

जुन १२ मा सिंगापुरमा भएको पहिलो ऐतिहासिक शिखर बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (दायाँ) र उत्तर कोरियाली नेता किम जोङ–उन। फाइल तस्बिर : एजेन्सी

वासिङ्टन (बिबिसी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँगको दोस्रो शिखर बैठक अर्को महिना हुने अमेरिकी मध्यावधि निर्वाचनपछि हुने बताएका छन्।

अमेरिकाका केही राज्यमा आउँदो नोभेम्बर महिनामा सिनेटका लागि मध्यावधि निर्वाचन हुँदैछ। त्यसैको प्रचारप्रसारमा निकै व्यस्त रहेका राष्ट्रपति ट्रम्पले निर्वाचनअघि किमसँगको बैठकको कुनै सम्भावना नरहेको बताएका हुन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले शिखर बैठकका लागि तीन–चारवटा स्थानबारे विचार भइरहेको समेत बताए । उनले संयुक्त राज्य अमेरिका वा उत्तर कोरियामा पनि शिखर बैठक हुन सक्ने उल्लेख गरे।

ट्रम्प र किमबीच दोस्रो चरणको बैठकका लागि वातावरण तयार गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले केही दिनअघि उत्तर कोरिया, दक्षिण कोरिया, जापान र चीनको भ्रमण गरेका थिए। विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेता किमसँगको वार्ता अत्यन्त सकारात्मक रहेको र उत्तर कोरियाको पूर्ण तथा अन्तिम आणविक निःशस्त्रीकरणको बाटो हेर्न सकिने धारणा सार्वजनिक गरेका थिए । हालै सम्पन्न संयुक्त राष्ट्रसंघको ७३औं महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्री री योङ–होले प्योङयाङमाथि अमेरिकाले प्रतिबन्धलाई निरन्तरता दिइराखे आफ्नो देशले निःशस्त्रीकरण नगर्ने चेतावनी दिएका थिए।

यसै वर्षको जुन १२ का दिन ट्रम्पले किमसँग ऐतिहासिक शिखर बैठक गरेका थिए, जहाँ किमले पारमाणविक निःशस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए । नेता किमले सुरक्षाको प्रत्याभूति भएमा आफ्नो मुलुकको आणविक हातहतियार नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सिंगापुरमा भएको सो बैठक बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो शिखर बैठक थियो । सिंगापुर बैठकमा दुवै नेताले नयाँ सम्बन्ध स्थापित गर्ने, पूर्ण निःशस्त्रीकरणका लागि काम गर्ने र कोरियाली प्रायद्वीपमा दीर्घकालीन शान्तिका लागि काम गर्नेबारे एउटा सहमति पत्रमा हस्ताक्षर गरेका थिए । यद्यपि निःशस्त्रीकरण कहिलेसम्म हुने र त्यसको प्रमाणीकरण कहिलेसम्म हुने भन्नेबारे भने सो सहमति पत्रमा उल्लेख गरिएको थिएन।

एक वर्षअघि मात्रै पनि अमेरिका र उत्तर कोरिया पारमाणविक युद्धबारे सार्वजनिक रूपमा बोल्ने गर्दर्थे । ट्रम्प र किमबीच गत जुनमा भएको शिखर बैठक गराउन दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले महत्वपूर्ण भूमिका खेलेका थिए।

प्रकाशित: २५ आश्विन २०७५ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App