१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तरकारी खेतीमा फड्को मार्दै बेथानचोकका गाउँले

काभ्रे (बेथानचोक) – केही वर्षअघिसम्म गाउँमा परम्परागत कृषि उत्पादन मात्र हुथ्यो । तोरी, मकै, गहुँ, कोदोले परिवार धान्दै आएका थिए, काभ्रेको बेथानचोकका गाउँलेले । पछिल्ला वर्षहरुमा भने कृषि उत्पादनमा परिवर्तन आएको छ । किसानले तरकारी खेतीको नयाँ प्रविधि सिकेका छन्, जसले उत्पादनमात्र बढाएको छैन; स्थानीयको जीवनशैली समेत परिवर्तन भएको छ।

नयाँ तरिकाबाट व्यावसायिक तरकारी खेती गर्दा आयआर्जनको माध्यम बनेको लड्कु चनौटे सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष रामहरि तिमल्सिनाले बताए । ‘हामीले पछिल्लो समय व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छौं,’ तिमल्सिनाले भने, ‘यो आयआर्जनको माध्यम पनि बनेको छ ।’ परम्परागत रुपमा चल्दै आएको खेतीबाहेक आलु, गोलभेंडा, बन्दा, मुला, साग, धनियाँ लगायतको व्यावसायिक खेती सुरु गरेको उनी बताउँछन्।

तिमल्सिनाको गाउँबाहेक बेथानचोक गाउँपालिकाका च्याम्राङबेसी, ढुंखर्क, चलाल गणेशथान, च्यासिखर्क र भुंग्देउ महाँकालका गाउँमा पनि वातावरणमैत्री आधुनिक खेतीको सुरु भएको छ । यो गाउँलेलाई आयआर्जनको स्रोत बनेको छ । वातावरण मैत्री खेती गनु पर्छ भन्न चेतना समेत जागेको छ।

यी गाउँमा ग्रामीण प्रविधि केन्द्र (सिआरटिएन)को सहयोगमा ‘वातावरणमैत्री गाउँ विकास अवधारणा’ कार्यक्रम लागू भए पनि खेती प्रणालीसहित स्थानीयको जीवनशैलीमै परिवर्तन आएको हो । केन्द्रले विगत चार वर्षसम्म यी गाउँमा तरकारी खेती, पानीको सुविधाको लागि हाइड्रोलिक ¥याप पम्प, प्रांगारिक खेती प्रविधि, पोखरी निर्माण सौर्यबत्ती, सुधारिएको चुलो, प्लास्टिक टनेल, फोहोर व्यवस्थापन, सुधारिएको पानी घट्ट लगायत कार्यक्रम सञ्चालन गरेको छ । यी कार्यक्रमले आफ्नो जीवनस्तर उकास्न सहज बनाएको उपभोक्ता बताउँछन्।

चलाल गणेशथानमा सिँचाइ सुविधा नहुँदा तरकारी खेती गर्न गाह्रो थियो । हरेक घरमा प्लास्टिक पोखरी निर्माण गर्दा तरकारीमा सिँचाइ गर्न सुविधा भएको वीरबहादुर तामाङले बताए । उनले आफ्नो बारीमा बन्दा, साग, मुला, धनियाँ उत्पादन गरिरहेका छन् । खेती गर्दा विषादीको प्रयोग गर्दैनन् । प्रांगारिक मल हाल्छन्।

सोही ठाउँका रामकुमार तामाङले यो वर्ष तरकारी खेतीबाट ३० हजार कमाए । मलेसिया र साउदी अरबमा पाँच वर्ष बसेर फर्केका तामाङले नयाँ खेतीको तरिका अपनाए । उनले प्रांगारिक मल बनाएर राखेका छन् । पूणरुपमा आर्गानिक खेती गरिरहेका तामाङले यसैबाट प्रगति गर्न सकिन्छ भन्ने विश्वास बढेको बताए।

लड्कु चनौटे मोटरबाटो सुविधा नपुगेको तल्लो भेगमा पर्छ । त्यस गाउँका ३९ घरपरिवार लड्कु चनौटे सिँचाइ जल उपभोक्ता समितिमा आवद्ध भएर नयाँ खेती तरिका अपनाइरहेका छन् । तालिम, बीउ र खेती गर्ने तरिका जानेपछि गाउँमा तरकारी उत्पादन बढेको समितिका अध्यक्ष तिमल्सिनाको भनाइ छ । ‘म नयाँ तरकारी खेती गर्दा वार्षिक चारदेखि पाँच लाख कमाउन थालेको छु,’ तिमल्सिनाले भने।

गाउँमा अर्गानिक खेती उत्पादन गरे पनि भाउ पाउन भने गाह्रो भइरहेको सोही गाउँका कृष्णप्रसाद तिमिल्सिना बताउँछन् । ‘अर्गानिक खेती गरे पनि बजार लगेर वास्तविक मूल्य पाउन गाह्रो छ,’ कृष्णप्रसादले भने, ‘बिचौलियाले धेरै खाएका छन् ।’ उनका अनुसार किसानले २०–३० रुपैयाँमा बिक्री गरेको तरकारी बजारमा सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । चारदेखि पाँच ठाउँ तहमा बिक्री हुँदै उपभोक्तासम्म पुग्दा चार–पाँच गुणा बढी मूल्य पर्ने गरेको उनको भनाइ छ।

गाउँका हरेक घरमा सोलार बत्ती जडान भएको छ । बिजुली नपुगेको ठाउँमा सोलार बत्ती जडान भएपछि दैनिक जीवनमा धेरै सजिलो भएको सन्तमाया श्रेष्ठले बताइन् । ‘सोलार बत्तीले बच्चालाई पढ्न सजिलो भएको छ,’ श्रेष्ठले भनिन, ‘खाना पकाउन पनि सजिलो भएको छ ।’ बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले कृषि उत्पादनको मुख्य क्षेत्र बनाउन विभिन्न योजना बनाएको बताए । उनले गाउँपालिकामा आएको बजेटमध्ये कृषि र वातावरणमा १० प्रतिशत बजेट छुट्ट्याएको जानकारी दिए।

‘यो गाउँपालिकाबाट गत वर्ष आठदेखि १२ करोड रुपैयाँको आलु बिक्री भएको छ,’ अध्यक्ष तिमल्सिनाले भने, ‘यस गाउँपालिकाबाट दैनिक ६–७ ट्रिप तरकारी बिक्री पनि भइरहेको छ ।’ साथै, दैनिक १३ हजार लिटर दूध पनि बिक्री भइरहेको उनले जानकारी गराए । बेथानचोक गाउँपालिकामा ५५ सय घरधुरी रहेको र प्रत्येकमा मौरीका घार राख्ने योजना भएको समेत उनले सुनाए । ‘यसको मुख्य उद्देश्य तरकारीमा विषादी प्रयोग नगरुन् भन्ने हो,’ अध्यक्ष तिमिल्सिनाले भने।

बेथानचोक गाउँपालिका खाद्यान्न र जडीबुटी उत्पादनका लागि उपयुक्त भएको गाउँपालिकाका प्रमुख प्रशासन अधिकृत टेकराज आचार्यले बताए । उनका अनुसार एक हजार तीन सयदेखि एक हजार चार सय मिटर उचाइमा रहेको यो गाउँ खाद्यान्न उत्पादनलाई उपयुक्त छ ।  त्यसैगरी, सिआरटिएनका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँमा बेमौसमी तरकारी समेत उत्पादन भइरहेको बताए । ‘यस कार्यक्रमबाट जनचेतना जागरण गराउने काम भएको छ,’ लामिछानेले भने, ‘वातावरण संरक्षणसम्बन्धी ज्ञान पनि बढेको छ।’

सिआरटिएनका कार्यकारी निर्देशक हरिगोपाल गोर्खालीले बेथानचोक गाउँपालिकामा चार वर्षसम्म सञ्चालन भएको कार्यक्रम सफल भएको र स्थानीयले धेरै मन पराएको बताए । ‘कार्यक्रमले सबैभन्दा ठूलो कुरा चेतनास्तर बढेको छ,’ गोर्खालीले भने, वातावरणसम्बन्धी चेतना जगाउनु ठूलो उपलब्धि हो।’

प्रकाशित: २४ आश्विन २०७५ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App