१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुख्यमन्त्री गुहार्दै केरा किसान

टीकापुर – भारतीय केरा रोक्न माग गर्दै किसानहरुले तीनवटा प्रदेशका मुख्यमन्त्री गुहारेका छन् । उनीहरुले सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई भेटेर यस्तो माग गरेका हुन्।

पश्चिम तराईका केरा किसानहरु सम्मिलित टोलीले तीनवटै मुख्यमन्त्रीहरुलाई भेटेर भारतीय केरा भित्रिएका कारण आफूहरुको केरा खेती धरासायी बनेको भन्दै सहयोगका लागि आग्रह गरेका छन् । उनीहरुले सीमा क्षेत्रमा कर्मचारीहरुको मिलेमतोमा भारतीय केरा निर्वाध भित्रिरहेको मुख्यमन्त्रीहरुलाई जानकारी गराए । भारतीय केरा चेकजाँच नै नभएर आयात हुने गरेको किसानहरु बताउँछन्।

किसानहरुले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई असोज १८ गते भेटेका थिए । मुख्यमन्त्री भट्टले कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई आवश्यक निर्देशन दिएपछि भारतीय केरा आयात रोकिएको छ ।
कैलाली र कञ्चनपुर जिल्लाबाट भारतीय केरा भित्रिन रोकिएपछि दलालले नेपालगञ्ज हुँदै भारतीय केरा भित्र्याउन थालेका छन् । किसानहरुले असोज २२ गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेर सीमामा कडाइ गरिदिन आग्रह गरे । उनीहरुले नेपालगञ्ज र भैरहवा सीमा नाकाबाट आयात भइरहेको भारतीय केरा रोकथामका पहल गरिदिन आग्रह गरेका हुन्।

मुख्यमन्त्री पोखरेलले भन्सार कडाइ गर्ने अधिकार संघीय सरकारको रहेको भन्दै किसानलाई त्यसतर्फ दबाब दिन सुझाव दिएको किसान रामबहादुर कुँवरले जानकारी दिए । उनले मुख्यमन्त्री पोखरेलले संघीय सरकारले पहल गरे आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए।

उनीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समेत असोज २३ गते भेटेर आफ्नो समस्या राखेका छन् । मुख्यमन्त्री शाहीले आफ्नो प्रदेश मातहतमा भन्सार नभए पनि स्वदेशी केराको बजारीकरणमा ध्यान दिने बताएका छन् । उनले भन्सारमा कडाइ गर्ने कुरामा सबै मुख्यमन्त्रीसँग समन्वय गर्न पहल गर्ने आश्वासन दिएको किसान कुँवरले जानकारी दिए।

किसान कुँवरले प्रदेश सरकारकातर्फबाट समस्याको समाधान हुन नसके आगामी दिनमा संघीय सरकारलाई दबाब दिने बताए । उनले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने जिम्मेवारी राज्यको भएको बताउँदै राज्य किसानको अभिभावक बन्नुपर्ने बताए।

किसानहरु भारतीय केराका कारण बारीमै केरा कुहिन थालेपछि चिन्तित बनेका छन् । उनीहरु राज्यले संरक्षण गर्नुपर्ने माग गर्दैै आएका छन् । दलालले व्यापारीलाई भारतीय केरा मात्रै बिक्री गर्न दबाब दिने गरेका छन् । जसका कारण व्यापारीहरु स्वदेशी उत्पादन बिक्री गर्न डराइरहेका छन्।

प्रकाशित: २४ आश्विन २०७५ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App