१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पोपलाई प्योङयाङ भ्रमणको निमन्त्रणा

सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले इसाई धर्मगुरु पोप फ्रान्सिसलाई आफ्नो देशको भ्रमणमा आउन निमन्त्रणा गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ । फ्रान्सिसलाई दिइएको प्योङयाङ भ्रमणको निमन्त्रणा युरोप भ्रमणका क्रममा अर्को साता भ्याटिकन सिटीमा रहँदा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले हस्तान्तरण गर्ने बताइएको छ।

हालसम्म कुनै पनि पोपले उत्तर कोरियाको भ्रमण गरेका छैनन् । यद्यपि दिवंगत पोप जोन द्धितीयलाई पनि उत्तर कोरियाले एक पटक आफ्नो देश भ्रमणका लागि निमन्त्रणा दिएको थियो । उत्तर कोरिया र भ्याटिकन सिटीबीच हालसम्म औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको छैन।

‘प्रोप फ्रान्सिसँगको भेटघाटका क्रममा राष्ट्रपति मुन जाय–इनले उत्तर कोरियाली वकर्स पार्टीका अध्यक्ष किमको यदि पोप प्योङयाङ भ्रमणमा आए भने आफूले हार्दिकताका साथ स्वागत गर्ने भन्ने सन्देश दिने छन्,’ सञ्चारकर्मीसँग दक्षिण कोरियाली राष्ट्रपति मुनका प्रवक्ता इयू–क्येवमले बताए।

पोप फ्रान्सिसलाई उत्तर कोरिया भ्रमणको निम्ता दिनु प्योङयाङको पछिल्लो रणनीतिक कदम भएको बताइएको छ । रणनीतिक योजनाअन्तर्गत नै उत्तर कोरियाली नेता किमले यस वर्षको सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ऐतिहासिक बैठक गरे । त्यसैगरी यही वर्षमात्रै तीन वटा अन्तर–कोरियाली शिखर बैठक भएका छन्।

सन् २००० मा हालका उत्तर कोरियाली नेता किमका पिता किम जोङ–इलले पोप जोन पल द्धितीयलाई उत्तर कोरिया भ्रमणका लागि निमन्त्रणा गरेका थिए । पोपले यदि आफू उत्तर कोरिया गए त्यहाँ चमत्कार हुने बताएपछि तत्कालीन उत्तर कोरियाली शासक किम जोङ–इलले उनलाई प्योङयाङ भ्रमणको निम्ता दिएका थिए।

तत्कालीन दक्षिण कोरियाली राष्ट्रपति किम दाय–जङसँगको उत्तर कोरियाली नेता किम जोङ–इलको शिखर बैठकका बेला पोप जोन पल द्धितीयलाई निमन्त्रणा गरिएको थियो । तर भ्रमण कहिले हुन सकेन । त्‘यसबेला भ्याटिकनले यदि क्याथोलिक धर्मगुरुलाई उत्तर कोरियामा स्वीकार गरिन्छ भने मात्रै पोपले प्योङयाङको भ्रमण गर्ने बताएको थियो,’ समाचार एजेन्सी एसोसिएटेड प्रेसले जनाएको छ।

उत्तर कोरियाको संविधानले ‘विश्वास वा भक्तिमा अधिकार’ को प्रतिबद्धता गरेको छ र त्यहाँ राज्य नियन्त्रित चर्च पनि रहेका छन् । तर एकजना मानवअधिकार अभियन्ताका अनुसार यो देखाउनका लागि मात्रै हो । ‘वास्तविकतामा उत्तर कोरियामा धार्मिक स्वतन्त्रता छैन,’ एम्नेस्टी इन्टरनेसनलका अनुसन्धानकर्ता आर्नल्ड फाङलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रकाशित: २४ आश्विन २०७५ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App