१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बामदेव गौतमलाई सम्मान गर्दै राजीनामा गर्न लागेको हुँ : रामवीर मानन्धर

काठमाडौं – तत्कालीन नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभामा निर्वाचित रामवीर मानन्धरले नेता वामदेव गौतमका लागि ठाउँ खाली गर्ने घोषणा गरेका छन् । मानन्धरले मंगलबार पत्रकार सम्मेलन गरी सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गौतम प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए।

मानन्धरले पार्टीलाई राजीनामा बुझाइसकेको र पार्टीको निर्णयपछि सभामुखलाई पनि बुझाइने बताए । नेकपाको बुधबार बस्ने सचिवालय बैठकले राजीनामा स्वीकृत गरे आफूले सभामुखसमक्ष बुझाउने मानन्धरले स्पष्ट पारे । ‘मैले राजीनामा स्वीकृतिका लागि पार्टीलाई बुझाइसकेको छु, पार्टीले निर्णय गरेलगत्तै संसद्बाट राजीनामा दिन्छु,’ मानन्धरले भने । पार्टीको निर्णयअनुसार नै आफूले राजीनामा दिएको उनको दाबी छ।

मानन्धरले पार्टीअध्यक्ष पुष्पकमल दाहाल र नेता वामदेव गौतमसँगको भेटपछि राजीनामा बुझाएको बताएका छन् । ‘उहाँहरुसँगको भेटपछि राजीनामा दिने निर्णय गरेको हुँ,’ उनले भने । सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मानन्धरको राजीनामापत्र पेस गरेपछि त्यसलाई महासचिव विष्णु पौडेलले पढेर सुुनाएका थिए।

काठमाडौ–७ का जनताले तपाईंको निर्णय स्वीकार गर्छन् त भन्ने जिज्ञासामा मानन्धरले जनताले विकास चाहेको र त्यो वामदेव निर्माचित भएमा सम्भव हुने भएकाले जनताले आफ्नो निर्णय स्वीकार गर्ने दाबी गरे । ‘उहाँ संसद्मा जाँदा जनताको सम्मान नै हुन्छ’, मानन्धरले भने । उनले आफू संसद्मा हुँदा सांसदमात्रै हुने तर वामदेव संसद् हुँदा प्रधानमन्त्रीसम्म हुने सम्भावना रहेकाले उनको सम्मानका लागि आफूले ठाउँ छोड्ने निर्णय गरेको बताए । पद छाड्न कुनै लेनदेन नभएको तर पार्टीले जिम्मा दिएको खण्डमा जुनसुकै जिम्मेवारी लिन आफू तयार भएको मानन्धरले बताए।

एक दर्जन प्रयासपछि मात्र ढोका खुला

नेता गौतमले सांसद बन्न यसअघि नै विभिन्न विकल्पमा प्रयास गरेका थिए । निर्वाचन हारेयता गौतमले पुनः सांसद बन्नका लागि झन्डै एक दर्जन प्रयास गरेका थिए, जुन असफल बनेका थिए । निर्वाचनमा पराजय भोगेपछि गौतमले सुरुमा बर्दिया–२ बाट निर्वाचित सांसद सन्तकुमार थारूलाई राजीनामा गराएर सांसद बन्ने प्रयास गरेका थिए । त्यो प्रयास असफल भएपछि उनले पूर्वी रुकुममा सांसद कमला रोकालाई राजीनामा गराएर सांसद बन्न खोजेका थिए । उनको त्यो प्रयास पनि असफल भयो । गौतमले दैलेखका सांसद रवीन्द्रराज शर्मालाई राजीनामा गराएर सांसद बन्ने प्रयास पनि गरेका थिए।

दैलेखमा धोका खाएपछि गौतमले डोल्पाका सांसद तथा हाल राज्यमन्त्रीसमेत रहेका धनबहादुर बूढालाई राजीनामा गराउन प्रयास गरे । बूढा सुरुमा गौतमलाई ठाउँ छाड्न तयार भए पनि पछि उनले राजीनामा दिन अस्वीकार गरेका थिए । बुढालाई राजीनामा गराएर गौतमलाई सांसद बनाउने प्रस्ताव नेकपाको सचिवालयसम्म पुगको थियो । बैठकमा महासचिव विष्णु पौडेलले प्रस्ताव लगेका थिए भने दाहालले त्यसलाई समर्थन गरेपछि गौतम सचिवालय बैठकमा करिब एक घन्टा बोलेका थिए।

गौतमले नवलपुर २ का सांसद तिलक महतसमक्ष पनि ठाउँ छाड्न प्रस्ताव गरेका थिए । महतले पनि गौतमको प्रस्ताव अस्वीकार गरेका थिए । त्यसपछि गौतमको नजर आफ्नै जन्मथलो प्युठानमा परेको थियो । त्यहाँबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई राजीनामा गराएर गौतम चुनाव लड्न चाहेका थिए । त्यो प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले लिखित रूपमै अस्वीकृत गरिदियो । गौतमले ललितपुर–१ का सांसद नवराज सिलवाललाई पनि राजीनामा दिन दबाब दिएका थिए । सिलवाल पनि गौतमलाई पद छोड्न तयार भएनन् । अन्तिममा गौतमले बाँके–३ का सांसद नन्दलाल रोकायलाई राजीनामा दिन दबाब दिएका थिए । रोकायले पार्टी नेतृत्वले सामूहिक निर्णय नगरेसम्म आफूले पद नछाड्ने बताएका थिए।

बाँकेमा रोकायले पनि सांसद पद छाड्न तयार नभएपछि गौतमको नजर बैतडी–१ मा पुगेको थियो । कांग्रेससँग ११ हजार मतान्तरमा विजयी भएका बैतडीका सांसद दामोदर भण्डारीलाई राजीनामा गराएर सांसद बन्न गौतमले पहल गरेका थिए । त्यसपछि उनले कञ्चनपुरका सांसद दीपप्रकाश भट्टलाई पनि राजीनामा गराउने प्रयास गरेका थिए।

अन्तिममा उनका लागि पद छाड्न मानन्धर तयार भएका हुन् । गौतमले आफू निर्वाचनमा पराजित भएपछि झलनाथ खनाललाई राष्ट्रपति बनाएर इलामबाट आफू निर्वाचन लड्न खोजेका थिए । गौतमले नेता माधवकुमार नेपाललाई पनि राष्ट्रपतिमा उठ्न आग्रह गरेका थिए । नेपाल राष्ट्रपति भएमा उनको निर्वाचन क्षेत्र काठमाडौं–२ बाट निर्वाचन लड्ने गौतमको चाहना थियो।

प्रकाशित: २३ आश्विन २०७५ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App