१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

गलकोटमा मंगलबारबाट राष्ट्रिय महिला भलिबल हुँदै

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक । तस्बिरः संगम/नागरिक ।

बागलुङ – बागलुङको गलकोट नगरपालिका–३ हटियामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबार (आज) देखि सुरु हुँदै छ। नेपाल भलिबल संघको आयोजनामा २२ आैं राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुन लागेको छ। 

गलकोट नगरपालिकाको विशेष सहयोग र जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगितामा ६ प्रदेश र ३ विभागीय टोली गरी ९ टिम सहभागी हुनेछन्।  नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, प्रदेश २, ३, ५, ६ र कर्णाली प्रदेश प्रतियोगिताका लागि गलकोट आइसकेको जिल्ला भलिबल संघले जनाएको छ।

१० समूहले सहभागिता जनाउने बताइएपनि अन्तिम समयमा प्रदेश नम्बर १ ले सहभागिता जनाउन असमर्थता देखाएको नेपाल भलिबल संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा प्रतियोगिता समन्वय समितिका संयोजक याम गुरुङले जानकारी दिए।

‘प्रतियोगितामा सबै प्रदेशलाई सहभागिताका लागि पूर्व जानकारी गराइएको छ, तर प्रदेश १ ले अन्तिम समयमा आउन नसक्ने जानकारी गरायो,’ उनले भने, ‘यो प्रतियोगितामा सहभागिता नजनाउनु संघ र प्रतियोगिताप्रतिको गम्भीर बेवास्ता हो, प्रदेश १ को भलिबल संघलाई पेनाल्टीसहित कारबाही गर्न बाध्य हुनेछाैं।’

प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने समूहलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार प्रदान गरिने जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यम श्रीसले बताए। सर्वोत्कृष्ट खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ। अन्य पाँच विधा उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सटर र उत्कृष्ट ब्लकरलाई पनि नगद ५–५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ।

यो प्रतियोगिता सम्पन्न गर्नका लागि कुल २२ लाख खर्च लाग्ने अनुमान गरिएको छ। जसका लागि गलकोट नगरपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेको छ भने राष्ट्रिय भलिबल संघले १ लाखसहित खेलकुद सामग्री प्रदान गरेको छ। अन्य आवश्यक रकम जिल्ला भलिबल संघले स्थानीय स्तरबाटै व्यवस्थापन गरेको संघका जिल्ला अध्यक्ष श्रीसले जानकारी दिए। अध्यक्ष श्रीसका अनुसार राष्ट्रिय महिला भलिबल प्रतियोगिताले व्यावसायिक खेलको प्रवद्र्धन हुनेछ भने खेलले पर्यटनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतियोगिताले जिल्ला र गलकोट क्षेत्रको पहिचानलाई राष्ट्रव्यापी रूपमा चिनाउन र भलिबल खेलतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए। ‘यस क्षेत्रलाई चिनाउन खेलले महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ मेयर गैरेले थपे, ‘हामीले राष्ट्रिय प्रतियोगिता गर्ने भनेर नगरसभाबाटै बजेट विनियोजन गरेका थियाैं, सोहीअनुसार प्रतियोगितामा हातेमालो गरेका हाें।’

प्रकाशित: २३ आश्विन २०७५ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App