१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

राजधानीका फाँटमा तराईको गुन्जन

शब्द–तस्बीर:उपेन्द्र लामिछाने

कतै भोजपुरी गीत बज्दै छ, कतै मिथिलाको धुन । कतै भैया हो, भैयाको खिलखिलाहट । कतै सूतीको थपथपाहट ।  उपत्यकामा धान काट्न सुरु भएलगत्तै यहाँका फाँटमा तराईको झल्को देखिएको छ।

उपत्यकाका काठ क्षेत्रका फाँटमा तराईबाट धान काट्न आउने किसानका समूह देखिएका छन् । हरेक वर्ष दसँैअघि उनीहरू समूहमा राजधानी भित्रिन्छन् । उनीहरू बिहानैदेखि साँझ अबेरसम्म धान खेतमा काम गरेर बिताउँछन् । यसबापत उनीहरूले दैनिक सात सयदेखि ८ सय रूपैयाँसम्म पारिश्रमिक पाउँछन्।

करिब एक महिना यहाँ काम गरेपछि उनीहरू घर फर्कन्छन् । कोही दसैं मनाउन फर्कन्छन् त कोही तिहार । अनि धेरै चाहि छठ मनाउन घर फर्कने गरेका छन् । फुर्सद भएकाले कामको खोजीमा राजधानी आएको उनीहरू बताउँछन्।

उनीहरू हरेक बिहान सवेरै धान काट्न निस्कन्छन् । बिहानको खाना खेतको आलीमा बसेर खान्छन् । दिनभर काम गर्छन् । खेतमै खाजा खान्छन् । अनि धानको बोरा बोकेर जग्गाधनीको घरमा पुग्छन् । साँझको खाना भने उनीहरूको घरमै खान्छन् । उनीहरू सामूहिकरूपमा बस्दै आएका छन्।

सिरहा, विसनुपरबाट नानु पासवान १२ जनाको टोलीसहित  दुई साताअघि राजधानी आएका हुन् । उनी दशकअघि पनि आएका थिए । उनी दसँै मनाउन घर फर्कने सुनाउँछन् । ‘यहाँको कमाइले चाडवाड धुमधामसँग मनाउँछौ,’ उनले भने, ‘राजधानीको यात्रा रमाइलो पनि हुन्छ, अनि कमाइ पनि हुन्छ।’

उनीहरू आउँदा उपत्यकाका किसानलाई पनि सजिलो भएको छ । युवाहरू रोजगारीका सिलसिलामा खाडीलगायत देशमा पुगेपछि खेती गर्नेको कमी हुँदा तराईबाट आउने दाजुभाइले धान भित्राउने काममा सजिलो बनाइदिएका छन्।

शिवप्रसाद साह सर्लाही बरथवाबाट आएका हुन् । उनको  ४० जनाको टोली छ  । उनी भने दसैँमासमेत यहि बस्ने र काम सकाएपछि छठ मनाउन मात्र घर फर्कने बताउँछन् ।  ‘दसैँ–तिहारभन्दा पनि छठमा बढी रमाइलो हुन्छ,’ उनले भने, ‘दसैँ यहि मनाएर तिहार र छठ पर्व मनाउन घर फर्कन्छौं।’

प्रकाशित: २२ आश्विन २०७५ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App