१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

दसैँमा छुट अफर

हिन्दू धर्मावलम्बीहरूको मुख्य पर्व दसैँ नजिकिएसँगै व्यापारीहरूले छुट अफर ल्याएका छन्।

पुल्चोकस्थित आरभ कलेक्सनले ‘न्यु एराइभ’मा ४० र क्लियरेन्समा ५० प्रतिशतसम्म छुट दिएको छ । पसल सञ्चालिका हुन्, अनिला श्रेष्ठ । पसल सञ्चालन भएको सात वर्षभन्दा बढी भएको उनी बताउँछिन् । ‘हामीले प्रायः डिस्काउन्ट दिइरहेका हुन्छौं, नेपाली चाड होस् या अन्य अवसरहरू छुट त दिन्छौ नै,’ उनले भनिन् । दसैँमा त झन् विशेष छुट दिँदै आएको उनले सुनाइन्।

नेपाली समाजमा हिन्दू धर्मावलम्बीका लागि दसैँको विशेष महत्व छ । दसैँमा नयाँ लुगा लगाउने, मिठो मसिनो खाई हर्सोल्लासका साथ मनाउने चलन छ । दसैँको समयमा सहरबजारका हरेक पसलमा ४० देखि ७० प्रतिशतसम्मकोे बम्पर अफर टाँसेको देख्न सक्छौं।

यो अवसरमा कपडा मात्रै होइन, घर सजाउने सामग्री, भान्छाका सामग्री, घरमा लगाइने रंगलगायत हरेक कुरामा भारी छुट राखिएको पाइन्छ । यस वर्षको समर सिजनमा फेसनले बजारमा कब्जा जमायो । मानिसको रुचि फरक हुने भएर फेसनमा पनि विविधता देख्न सकिन्छ । गर्मी मौसमको अन्य र चिसो मौसमको सुरुवातको मौसम सबैलाई निकै मनपर्छ । बीचको यो मौसमलाई अटम मौसम भनिन्छ । अटम मौसमको फेसनले कब्जा गर्ने समय सुरु हुँदैछ । बजारमा विभिन्न ट्रेन्डका फेसनेबल लुगाहरूका विभिन्न ब्रान्डले आकर्षक छुटसहित चाडपर्वको सेल लगाएको छ।

पाटनकी सरस्वती खड्का यसपालिको दशैँ मनाउन गाउँ जाने तरखरमा छिन् । चित्लाङकी सरस्वती पाटनमा व्यापार गरेर बस्छिन् । सधैंजस्तै उनी यसपालिको दसैँ गाउँ गएर मनाउने योजनामा छिन् । दसैँको बेलामा घर, माइत गरेर सबै आफन्तलाई केही न केही उपहार लैजाने गरेको उनी बताउँछिन्  । ‘अघिपछि गाउँ जान पाइँदैन, यही दसैँको बेला हो, वर्षमा एक पटक गाउँ जाँदा सबैले आस गरेका हुन्छन्।’

मंगलबजारमा कपडा छान्दै गरेकी उनी चाडपर्वको बेला छुट पाएपछि दंग छिन् । प्रायः चाडपर्वको समयमा छुट उपभोक्तालाई सहुलियत हुने उनी बताउँछिन्।

दसैँ नजिकिएसँगै विभिन्न पसलहरूले डिस्काउन्ट अफर टाँसेको देख्न सकिन्छ । यो स्टोर क्लिरियन्स गर्ने र व्यापार बढाउने माध्यम रहेको बताउँछन्, पुनम रेडिमेड स्टोरका सञ्चालक भोला कुमार।

न्युरोडमा रहेको पुनम रेडिमेड स्टोरमा लेडिजका हरेक आइटमहरू पाइन्छन् । पसलहरूमा सेल लगाएका बेला ग्राहकको चहलपहल निकै बढेको उनले बताए । अघिपछिको समयमा भन्दा दसैँको समयमा व्यापार राम्रो हुने उनी बताउँछन् । ‘दसैँ अफर भएकाले मानिसहरूको आगमन निकै राम्रो हुन्छ,’ उनी भन्छन्, ‘कति फेसेनेबल लुगा आइसके भने कति आउन बाँकी नै छ ।’ वान पिस, जम्पसुट, लङ ड्रेस्, जिन्स पाइन्ट, टि–सर्ट, सर्ट ग्राहकहरूको विशेष रोजाइमा रहेको उनको अनुभव छ।

प्रिती थापा सकेसम्म ब्रान्डेड लुुगा किन्न रुचाउँछिन् । ‘आफूले लगाउने पहिरन ब्रान्डेड होस् भन्ने चाहना कसको नहोला,’ उनी सुनाउँछिन् । त्यसकारण पनि उनी कपडा किन्न पसलहरूमा चहार्ने गर्छिन् । उनी स्टक बेच्ने स्टोरहरूमा ४० देखि ६० प्रतिशतसम्म छुट दिने सेलहरूमा धाउने गर्छिन् । अरु समयभन्दा यो समयमा सपिङ गर्न रमाइलो हुने उनी बताउँछिन् । ‘कतिपय ब्रान्डेड सामान किन्न त मैले सेलको समय नै कुरेर बस्छु, ब्रान्डेड सामानलाई सुपथ मुल्यमा किन्ने अवसर नै हो,’ उनले भनिन् । ब्रान्डेड सामान लगाउनेहरूको लागि ‘सेल’ निकै राम्रो अवसर रहेको उनले बताइन् । ‘त्यसैले मनपरेका लुगा ‘सेल’मा नै किन्ने गरेकी छु,’ उनले भनिन्।

कुनै समय यस्तो थियो, जतिबेला समय हेर्न घडी लगाइन्थ्यो । तर, हिजोआज भने घडीलाई इज्जतको रूपमा बाँध्ने चलन बढेको पाइन्छ । थरिथरिका ब्रान्डले नयाँ–नयाँ डिजाइन बजारमा ल्याएको छ । समयसँगै घडीको फेसन पनि निकै परिवर्तन आएको छ । सानो फिता र सानो डायल भएको घडीभन्दा ठूलो डायल भएको घडीको चल्तीमा छ।

केही दिनअघि कोटेश्वरका रोमहर्ष वलीले जमलस्थित घडी स्टोरमा घडी रोज्दै थिए । दसैँको मौकामा ‘सेल’मा राखिएको घडीहरूमध्ये उनले स्काजेन ब्रान्ड रोजे । घडीमा २५ देखि ४० प्रतिशतसम्म छुट दिएको थाहा पाएपछि घडी किन्न आएको उनले सुनाए।

‘मलाई घडीमा लेदरको ठूलो बेल्ट र डायल भएका घडी मन परेर नै किनेको हुँ,’ उनले भने । उनले खैरो रंगको ठूलो डायल र बेल्ट भएको स्काजेन ब्रान्डको घडी किनेका हुन्।

उनी मात्रै होइनन्, चाडवाड आएसँगै जुत्ता किन्नेको पनि जमात बढेको देख्न सकिन्छ । लगनखेलका व्यापारी घनश्याम तामाङ यसलाई पुष्टि गर्छन् । उनी ७ वर्षदेखि सेलमा जुत्ता–चप्पल बेच्ने गर्छन् । पसलमा रहेका जुत्ता– चप्पलको स्टक क्लियरेन्स गर्ने ठाउँबाट सामान ल्याई बेच्ने गरेको उनले बताए । उनले दसैँको मौकामा पसलमा १० देखि २५ प्रतिशतसम्म छुट दिएका छन् । महिला–पुरुषका जुत्ता बेच्ने गरेको उनले सुनाए । दसैँको मौका भएकाले जुत्तामा र चप्पलमा मिलाएर छुट दिइएको उनले बताए।

विभिन्न समयमा ‘सेल’ राखिए पनि दसैँका बेला भने विशेष हुने बताउँछन्, पुष्परत्न शाक्य । दसैँको बम्पर सेलसँगै स्टक क्लियर गर्न समेत सेल लगाउने गरेको कुमारीपाटीस्थित सिन्सियर सपका व्यापारी पुष्परत्न शाक्य बताउँछन् । चाडवाडको समयमा मानिसहरूको भिड धेरै हुने उनको अनुभव छ । ‘चाडवाडको समयमा मात्र नभएर स्टक क्लियर गर्न यस्ता धेरै अफरहरू दिँदै आएका छाैं,’ उनले भने।

प्रकाशित: २२ आश्विन २०७५ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App