१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खानीको समाचार लेख्ने अपराधी हुन् : उद्योगमन्त्री

काठमाडौं - ‘खल्तीमा खानी’ शीर्षकमा नागरिक दैनिकमा प्रकाशित समाचारतर्फ लक्षित गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पत्रिका र पत्रकारमाथि गम्भीर आरोप लगाएका छन्। रिपोटर्स क्लबको साक्षात्कारमा आइतबार उनले खानीसम्बन्धी समाचार लेख्ने ‘अपराधी’ भएको बताएका हुन्।

‘मातृका आएपछि खानी बेच्यो भनेर समाचार लेख्यो,’ उनले भने, ‘त्यो समाचार लेख्ने नै अपराधी हो या त त्यसले कसैको पैसा खाएर लेखेको हो।’ उनले आफूले एउटा पनि खानी नबेचेको दाबी गरे। नागरिक दैनिकमा भदौ ६ गते देशमा खानी अन्वेषण र उत्खननका नाममा जथाभाबी लाइसेन्स दिइरहेको खुलासासहितको समाचार छापिएको थियो । व्यक्ति र कागजी कम्पनीका नाममा खानी दर्ता गर्ने र बिक्री गर्ने गिरोहले राजनीतिक र कर्मचारी तहमा समेत प्रभाव जमाएर खानीमा चलखेल गरिरहेको विवरण समाचारमा उल्लेख थियो।

खानी तथा भूगर्भ विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ४४ वटा खानी अन्वेषण वा उत्खननका लागि लाइसेन्स दिइएको छ। गत वर्ष २४ वटा लाइसेन्स नामसारीका नाममा बिक्री गरिएको खुलासा नागरिकले गरेको थियो । व्यक्तिका नाममा दुई सय २१ खानी रहेकोमा २१ मात्र सञ्चालनमा रहेको कागजमा देखिएको छ। खानी लाइसेन्स नवीकरणमा पनि रकमको चलखेल हुने गरेको छ। मन्त्री यादव र उनका आसेपासे खानी दर्ता गर्न दिन सक्रिय भइरहेका बखत समाचार प्रकाशित भएपछि समस्यामा परेका थिए।

मन्त्री यादवले चिनीमा कमिसनको खेल भइरहेको समाचार छापेको भन्दै मिडियाप्रति आक्रोश पोखे। चिनीमा अर्ब रुपैयाँभन्दा बढीको कमिसन लेनदेन भइरहेको समाचार मिडियामा आएको छ। उनले चिनीसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पनि ‘अपराधी’ को संज्ञा दिए।

प्रकाशित: २२ आश्विन २०७५ ०१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App