१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी सुरु

काठमाडौं – भृकुटीमण्डपमा तीनदिने अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी सुरु भएको छ। प्लास्ट नेपाल फाउन्डेसनद्वारा आयोजित ‘प्लास्ट नेपाल २०१८’ को शुक्रबार अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरे।

‘प्लास्टिकलाई चिनौं’ भन्ने मूल नाराका साथ आयोजित दोस्रो संस्करणको यो मेला आइतबारसम्म चल्नेछ। प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी एक सय २५ उद्योगी एवं वितरकको सहभागिता रहेको मेलाका संयोजक विवेक तातेडले जानकारी दिए। विदेशी प्रदर्शकमध्ये ५० प्रतिशतभन्दा बढी भारतीय रहेको उनले बताए।

संयोजक तातेडले प्लास्टिकजन्य उत्पादनको प्रवद्र्धनका साथै उपभोक्तालाई प्लास्टिकबारे सचेतना जगाउने र स्वदेशी तथा विदेशी उत्पादनबारे जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको बताए। प्रदर्शनीमा प्लास्टिकबाट बनेका दैनिक उपभोग्य वस्तुदेखि ती वस्तु उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, मेसिन तथा नयाँ–नयाँ प्रविधिबारे जानकारी प्रदान गरिने उनको भनाइ छ।

‘तयारी उत्पादन, उद्योगमा प्रयोग हुने मेसिन, कच्चा पदार्थ तथा प्रविधिलाई समेटेका छौं,’ संयोजक तातेडले भने, ‘प्रदर्शनीमा अवलोकनकर्ताले प्लास्टिक र यसबाट हुने उत्पादनका बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्नेछन्।’

प्रदर्शनीमा विभिन्न स्टलमार्फत उपभोक्ताले स्वदेशी तथा विदेशी  उत्पादनबारे जानकारी पाउनेछन्। प्लास्टिक उद्योगी व्यवसायीले आफ्ना उत्पादनका साथै यसक्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधि तथा कच्चा पदार्थबारे जानकारी प्रदान गर्नेछन्। मुलुकमा प्लास्टिक उद्योग व्यवसाय प्रवद्र्धनसँगै उपभोक्तालाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लास्टिकजन्य वस्तु उपलब्ध गराउन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकले गरेको छ।

फाउन्डेसनले प्लास्टिकजन्य उत्पदानको प्रवद्र्धन तथा प्लास्टिकबारे जनचेतना फैलाउने काम गर्दै आएको छ । संस्थाले ‘थ्री आर’ रिड्युस, रियुज र रिसाइकल (न्यूनीकरण, पुनः प्रयोग र पुनर्नवीकरण) सिद्धान्तलाई मुल आधार बनाएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएको छ।

प्रकाशित: २१ आश्विन २०७५ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App