१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बंगबन्धु गाेल्डकपः नेपाल समुह चरणबाटै बाहिरियाे

प्यालेस्टाइनी खेलाडीसँग बल खाेस्न प्रयास गर्दै नेपाली खेलाडी तेज तामाङ (निलाे) । तस्बिर साैजन्यः बिएफएफ

काठमाडाैं - प्यालेस्टाइनसँग भएको खेलमा शनिबार १–० ले पराजित हुँदा साबिकको विजेता नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ।

गर या मरको अवस्थामा रहेको नेपालका प्रशिक्षक बालगोपाल महर्जनले नवयुग श्रेष्ठलाई दोस्रो हाफमा मैदान प्रवेश गराउँदा कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै प्यालेस्टाइनले नेपालमाथि १–० को जित निकाल्न सफल भएको हो।

समूहचरणका सबै खेलमा स्पष्ट जित निकाल्दै प्यालेस्टाइन समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइलनमा प्रवेश गरेको हो । यस्तै समूह ‘ए’ बाटै दुई खेलमध्ये एकमा जित र एकमा पराजित भएको ताजिकिस्तान ३ अंक बटुल्दै उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको हो । नेपाल भने दुवै खेलमा पराजित हुँदै बाहिरिएको हो।

नियमित कप्तान विराज महर्जन र मुख्य रक्षक अनन्त तामाङ घाइते हुँदै पहिलो रोजाइमा नपर्दा नेपालको रक्षापंक्ति कमजोर भएको थियो । तामाङको ठाउँमा सुमन आर्यालले खेलेका थिए भने विराजको स्थानमा देवेन्द्र तामाङ समावेश भएका थिए।

नीराजन खड्काको कप्तानीमा मैदान उत्रिएको नेपालले पूर्वाद्र्धमा गोलरहित बराबरी खेलेको थियो ।  उत्तरार्धमा नेपालमाथि प्यालेस्टाइन हाबी हुँदा नेपालले गोल खाएको थियो । प्यालेस्टाइनका खालेद सलेमले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सलेमले क्रसबललाई हेडमार्फत जाली जुमाउँदा नेपालको बंगबन्धु यात्रामा पूर्णविराम लागेको हो।

खेलमा नेपालका लागि ७९औं मिनेटमा सुमन अर्यालको क्रसबललाई नवयुगले वन टच गर्दै गोलका लागि प्रयास गरे पनि उक्त प्रयास अकासिएको थियो । नेपालको अधिकांश समय प्यालेस्टाइनका प्रहार रोक्नमा नै सीमित भएको थियो । जितको खोजीमा रहेको प्यालेस्टाइनले गोलका लागि पटकपटक प्रहार गरेको थियो । उनीहरूका केही प्रहारलाई रक्षापंक्तिले बचाएको थियो भने केही प्रहार नेपालका गोलकिपर विकेश कुथुले रोकेका थिए।

यता नेपालले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि स्थगित भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग बुधबारबाट पुनः हुन सक्ने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । ‘७२ घण्टाअगाडि पत्राचार गर्नुपर्ने नियमअनुसार हामीले आइतबार लिगका क्लबलाई पत्राचार गर्छौं,’ निर्देशक मिश्रले भने, ‘पहिलो चरणका खेल दशैंअगाडि सक्ने उद्देश्यअनुसार हामी अगाडि बढ्नेछौं । सम्भवतः बुधबारबाट लिग पुनः सञ्चालन हुन सक्छ।’

पहिलो चरणका लिगअन्तर्गत सातमध्ये दुई खेल सम्पन्न भइसकेका छन् भने पाँच खेल दशैंअगाडि सक्ने योजनामा एन्फा रहेको छ । १४ टिमको सहभागिता रहेको लिगमा न्युरोड टिम (एनआरटी),  विभागीय टोली त्रिभुवन आर्मी क्लब, संकटा क्लब र सरस्वती युथ क्लबले पहिलो चरणका खेल खेलिसकेका छन् भने अन्य क्लबले खेल्न बाँकी छ।

नियमित कप्तान विराज महर्जन र मुख्य रक्षक अनन्त तामाङ घाइते हुँदै पहिलो रोजाइमा नपर्दा नेपालको रक्षापंक्ति कमजोर भएको थियो । तामाङको ठाउँमा सुमन आर्यालले खेलेका थिए भने विराजको स्थानमा देवेन्द्र तामाङ समावेश भएका थिए।

प्रकाशित: २० आश्विन २०७५ १४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App