१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘आइटी पार्कमा सेक्युरिटी प्रेस राख्छौं’

बनेपा – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुककै एक मात्र आइटी पार्कमा राष्ट्रिय सुरक्षण छपाइ प्लान्ट (सेक्युरिटी प्रेस) स्थापना गरिने बताएका छन्।

बर्सेनि बैंक नोट, राहदानी, नेसनल आइडी कार्ड, स्मार्ट कार्ड, चेकबुक र बायोमेट्रिक कागजात छपाइमा मुलुकबाट १० अर्बभन्दा बढी रकम बाहिरिने गरेको उनको भनाइ छ । ‘सरकारी तथा निजी क्षेत्रका लागि आवश्यक पर्ने सुरक्षित छपाइका लागि सरकारले पार्कमा सेक्युरिटी प्रेस राख्ने प्रक्रिया अघि बढाइरहेको छ,’ धुलिखेलमा आयोजित एक कार्यक्रममा उनले भने।

हाल सरकारी कामका लागि करिब आठ अर्ब र निजी क्षेत्रको करिब दुई अर्ब गरी १० अर्ब रुपैयाँ बर्सेनि बाहिरिने गरेको बाँस्कोटाको भनाइ छ । ‘मुलुकमै सेक्युरिटी पे्रस हुँदा बर्सेनि बाहिरिने अर्बौं रकम स्वदेशमै प्रयोग गर्न सकिने हुँदा नेपालीलाई रोजगारीको अवसरमसमेत उपलब्ध हुनेछ,’ उनले थपे। 

सेक्युरिटी प्रेस स्थापनाका लागि ३५ देखि ३८ अर्ब रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान रहेको बाँस्कोटाले भने, ‘प्रेस सञ्चालनमा लगानी धेरै देखिए पनि यो काम पैसा र व्यापारसँग मात्रै जोडिएको नभई देशको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासँग पनि जोडिएकाले सरकार गृहकार्यमा जुटेको हो,’ उनले थपे।

सरकारले १५ वर्षअघि काठमाडौंबाट ३० किलोमिटरको दूरीस्थित बनेपा–पनौती सडकको धनेश्वरमा पार्क बनाएको हो । लामो समयसम्म पार्क सञ्चालनमा आउन नसकेपछि २०७२ मा आइटी पार्क व्यवस्थापन कार्यविधि जारी भएपछि केयु र दुइटा निजी कम्पनी कार्यरत रहँदै आएका छन् । करिब १२ हेक्टर (दुई सय ३४) रोपनीको क्षेत्रफलमा फैलिएको आइटी पार्कभित्र पाँचवटा ब्लकसहितको बिजनेस ब्लक रहेको छ। 

१६ हजार पोर्न साइट बन्द
सरकारले सोमबारसम्ममा १६ हजारवटा अश्लिल (पोर्न) साइट बन्द गराएको मन्त्री बाँस्कोटाले जानकारी दिए । ‘पछिल्लो समय यौन हिंसा र बलात्कारका घटना बढ्दो क्रममा रहेपछि यसको कारकमध्येको एक मानिएको अश्लिल वेब साइट बन्द गर्ने सरकारको निर्णयअनुसार नेपाली आइएसपीले १६ हजारवटा साइटलाई यहाँबाट नखुल्ने गरी बन्द गराएका छन् । अरु बन्द हुने क्रममा रहेकाले सरकारले काम गरिरहेको छ,’ उनले भने।

 

प्रकाशित: १७ आश्विन २०७५ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App