१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चाडपर्व लक्षित सुरक्षा रणनीतिले राजस्व बढ्यो

बर्दिया – भारतसँगको सीमाक्षेत्रमा चाडपर्व लक्षित सुरक्षा रणनीति लागू गरिएसँगै राजस्व संकलन बढेको छ । नेपाल प्रहरीले चाडपर्वका बेला सीमाक्षेत्रमा हुनसक्ने अपराध तथा अवैध तस्करी नियन्त्रणका लागि विशेष सुरक्षा अभियान थालेको हो।

त्यसयता प्रहरीले भारतबाट लुकिछिपी भित्र्याउने सामान बरामद गर्न थालेको छ । प्रहरीका अनुसार निर्माण सामग्री, सुर्तीजन्य पदार्थ, खाद्यान्न र चोरीका सवारीसाधन बरामद गरिएको छ । यसले सीमाक्षेत्रबाट भइरहेको राजस्व चुहावट नियन्त्रण भई छोटो समयमै राजस्व संकलन बढेको देखिन्छ । भारतबाट अवैधरुपमा सामान भित्र्याउन सक्रिय गिरोहका १० जनालाई सामानसहित पक्राउ गरी भन्सार ऐनबमोजिम कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले राजस्व चुहावट र अपराध नियन्त्रणमा कडाइ गरिएको बताए । नयाँ सुरक्षा रणनीति लागू भएपछि सीमाबाट हुने राजस्व चुहावट र अपराध नियन्त्रणमा प्रहरीले सफलता हात पारेको उनको भनाइ छ।

सीमाक्षेत्रमा पर्ने नेपाली बजार जमुनी, सानोश्री, मथुराहरद्वार, कोठियाघाट र राजापुरबाट दैनिक लाखौं राजस्व छली भइरहेको प्रहरीले भन्सार बुझाएको सामानबाट पुस्टि हुन्छ । भदौ २४ गतेका दिन विभिन्न क्षेत्रमा परिचालित प्रहरीले भारतीय सवारीसाधनबाट तीन लाख रुपैयाँ बराबरको सामान बरामद गरी भन्सारलाई बुझाएको देखिन्छ।

प्रहरीले गुलरिया नगरपालिका–५ र ११, सानोश्री र राजापुरको विभिन्न स्थानबाट नियन्त्रणमा लिई भन्सारमा बुझाएको सूचीमा चिनी, बिडी, गुट्खा लगायत सामान रहेका छन् । त्यस्तै, अवैधरुपमा नेपाल भित्र्याएका भारतीय कुखुरा, गोरु, खसी, नगदेबाली बरामद गरेको प्रहरीले जानकारी दिएको छ । यही साता विभिन्न ठाउँमा गरेको अपरेसनबाट राजस्व छली गरी भित्र्याइएका पाँच लाख रुपैयाँ बराबरको सामान बरामद गरेको प्रहरीको तथ्यांकमा देखिन्छ।

नेपाल र भारतका अवैध खुला सीमासँग जोडिएको ठाउँमा हुनसक्ने संभावित अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएकोे छ । प्रहरीले चाडपर्व लक्षित अभियान थालेपछि अपराधिक क्रियाकलाप नियन्त्रणमा आएको दाबी गरेको छ । रणनीतिक योजनाअनुरुप प्रहरीले राजस्व चुहावट, लागू औषध र फरार अपराधीविरुद्ध अपरेसन सुरु गरेको छ । उक्त रणनीतिमार्फत अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सफल भएको प्रहरीले जनाएको छ।

यसअघिका चाडपर्वमा सुरक्षा प्रत्याभूति दिलाउन नसक्दा प्रहरीले आलोचना बेहोर्नुपरेको थियो । यसपटक रणनीतिक योजना अख्तियार गरेपछि योजना अनुरुप कार्यप्रगति देखिएको छ । सामाजिक सुरक्षाका लागि अपराधिक गतिविधि नियन्त्रण, चाडपर्वको अवसर छोपेर खेलिने जुवा रोक्न, नेपाल–भारतको सीमावर्ती जिल्लाबाट राजस्व छली र फरार अपराध नियन्त्रणका लागि सक्रियता बढाइएको बताए । ‘चाडको बेला हुनसक्ने अपराधिक क्रियाकलाप, चोरी र छुटफुटका घटना पनि रोकिएको छ,’ उनले भने, ‘कार्यगत लक्ष्य लिएर स्थलगत खटिएको प्रहरीले सफलता हासिल गरेको छ।’ 

 

प्रकाशित: १७ आश्विन २०७५ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App