१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विद्युतगृह निर्माणको काममा ढिलाइ

निर्माणाधीन विद्युत्गृह ।   तस्बिरः योगेश/नागरिक

टीकापुर – राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माण हुने विद्युत् गृहको काम चार वर्षसम्म पनि पूरा हुन सकेन । निर्माण अवधिको तीन र थप भएको एक वर्ष गरी चार वर्ष बिते पनि विद्युत् गृह निर्माणको काम आधा पनि पूरा भएको छैन।

जानकी गाउँपालिका–९, कटासेबजार नजिकै निर्माण हुने विद्युत् गृहको अहिलेसम्म फाउन्डेसन मात्रै तयार भएको छ । आयोजनासँग एसइडब्ल्यू–तुँदीले सन् २०१७ जुलाईमा निर्माण सक्ने भन्दै सन् २०१४ मा विद्युत् गृह र पाँच किलोमिटर नहर निर्माणको ठेक्का सम्झौता गरेको थियो । आयोजनाले विद्युत् गृह र नहर निर्माणका लागि ठाउँ उपलब्ध गराउन नसक्दा निर्माण कार्यमा ढिलाइ भएको बताइएको छ। 

विद्युत् गृह निर्माणस्थल र नहरमा पर्ने रुख काट्न ढिलाइ भएका कारण आयोजनाले निर्माण पक्षलाई समयमा ठाउँ उपलब्ध गराउन नसकेको आयोजना निर्देशक मधुकर रानाले जानकारी दिए । ‘आयोजनाको काम ढिलो हुनुमा पहिलो कारण रुख काट्ने आदेश समयमा नपाउनु हो,’ उनले भने, ‘रुख काट्न नपर्ने ठाउँको काम चाँडै सम्पन्न भएको छ ।’
वन विभागले रुख काट्न आदेश दिन कम्तीमा दुई वर्ष लगाएको थियो, जसका कारण विद्युत् गृह र नहर निर्माणको काम समयमा हुन नसकेको निर्माण पक्षको भनाइ छ । नहरको काम केही हदसम्म सम्पन्न भए पनि विद्युत् गृह निर्माणको काम सन्तोषजनक छैन। 

‘नहर र विद्युत् गृह दुवै मिलाएर ४५ प्रतिशत काम सम्पन्न भयो,’ आयोजनाका सिनियर डिभिजन इन्जिनियर दिनेश भट्टले भने, ‘विद्युत् गृहको काममा खासै प्रगति हुन सकेको छैन ।’ विद्युत् गृह निर्माणमा केही समय जमिनमुनिबाट निस्केको पानीले समेत प्रभावित पारेको थियो । उक्त पानी नियन्त्रण गर्न धेरै समय खर्चिनु परेको सिनियर डिभजन इन्जिनियर भट्ट बताउँछन् । उनले हाल जमिनमुनिको पानी नियन्त्रणमा आइसकेको जानकारी दिए । 

विद्युत् गृहका लागि आवश्यक सबै उपकरण भारतको नोयडामा निर्माण भइरहेका छन् । कतिपय उपकरण निर्माणस्थलमा ल्याइसकेको बिडिए जिओइसी इको कोड कन्सल्टेन्सीका टिम लिडर अरुण चौधरीले जानकारी दिए । उनले विद्युत् गृह निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताए । ‘अहिले कुनै बाधा छैन । काम धमाधम भइरहेको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य छ।’

आयोजनाले विद्युत् गृह निर्माणका लागि थप एक वर्ष समय माग गरेको छ । उसले आगामी सन् २०१९ जुलाईसम्म विद्युत् गृह निर्माणको समयसीमा तोकिदिन विभागसँग माग गरेको छ । आयोजनाले समयमा विद्युत् गृह निर्माणस्थल उपलब्ध गराउन नसक्दा निर्माण कार्यमा ढिलाइ भएको निष्कर्ष निकाल्दै विभागसँग समयसीमा थपका लागि माग गरेको हो। 

विद्युत् गृह निर्माणका लागि मुल नहरसँगै १६ मिटर गहिरो खाल्डो खनिएको छ । जुन खाल्डोको जमिनमुनिबाट अहिले पनि अत्याधिक पानी आइरहेको छ । जमिनमनिबाट निस्केको पानी खाल्डोमा जम्न नदिन बोरिङका माध्यमबाट बाहिर निकाल्ने काम भइरहेको निर्माण पक्षले जनाएको छ । 

यो विद्युत् गृह नेपाल सरकारको करिब ४५ करोडको लागतमा निर्माण हुन लागेको हो । यसबाट ४.७१ मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ । यहाँ उत्पादित बिजुली आयोजना क्षेत्रभित्रका बासिन्दालाई वितरण गर्ने आयोजनाको उद्देश्य छ । आयोजनाले विद्युतबाट भएको आम्दानीले सिँचाइ आयोजना मर्मतसम्भार लगायत काममा खर्च गर्न सकिने जनाएको छ। 

सिँचाइ आयोजनाको काम सर्भे भइरहेका बेला विज्ञहरुको टोलीले नहरबाट विद्युत् उत्पादन गर्न सकिने कुरा औंल्याएका थिए । सोही आधारमा रानी जमरा कुलरिया जल उपभोक्ता समितिले सम्भाव्यता अध्ययनका लागि सरकारसमक्ष आग्रह गरेको थियो । विज्ञहरुको टोलीले विद्युत् उत्पादनको सम्भावना रहेको भन्दै सरकारसमक्ष प्रतिवेदन बुझाएपछि सरकारले सिँचाइ आयोजनामा विद्युत् उत्पादनको कामसमेत जोडेको थियो।

यो विद्युत् गृहसँगै आयोजनाले अन्य ठाउँमा समेत विद्युत् उत्पादनको सम्भाव्यताबारे अध्ययन गरिरहेको छ । लम्की चुहा नगरपालिकामा एक मेगावाट र जानकी गाउँपालिकाको दुर्गौली नजिकै केही मात्रामा विद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिएको बताइएको छ । सिँचाइसँगै विद्युत् सुविधासमेत पाउने देखिएपछि यस क्षेत्रका बासिन्दा खुसी छन्। उनीहरु लामो समयदेखिको विद्युत् अनियमितता लगायत समस्याबाट मुक्त हुनेमा आशावादी छन्।

प्रकाशित: १७ आश्विन २०७५ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App