१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

२०२० मा भारतीय–चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता

काठमाडौं – सरकारले भिजिट नेपाल २०२० मा भारती र चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता दिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा सरकारले यस्तो धारणा राखेको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भिजिट नेपाल वर्ष सन् २०२० मा भारत चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता दिने बताए । ‘सरकारले दुई ठूला देशका पर्यटकलाई पहिलो प्राथमिकतामा राखेको छ । नेपालको पर्यटन क्षेत्रमा चीन र भारतको ठूलो योग्दान छ,’ पर्यटन मन्त्री अधिकारीले भने, ‘हामीले अन्य देशका पर्यटकलाई पनि उत्तिकै प्राथमिकता दिन्छौं । समग्रमा अहिले भारत र चीन पहिलो प्राथमिकतामा परेका छन्।’

वल्र्ड टुरिजम काउन्सिलको रिपोर्टअनुसार नेपालको जिडिपीमा पर्यटनको ७.८ प्रतिशत योगदान रहेको मन्त्री अधिकारीले बताए । तर, सञ्चारमाध्यमले गलत तथ्यांक प्रयोग गरेको समेत उनले टिप्पणी गरे । ‘आगामी १० वर्षभित्र २० प्रतिशत जिडिपी पुर्याउने लक्ष्य छ,’ मन्त्री अधिकारीले भने, ‘यसका लागि सरकारले लगानी गर्न तयार हुनुपर्छ । पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदान रहेको छ।’ 

कार्यक्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ५५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । करिब ६ महिनाभित्र नयाँ रन वेबाट उडान सुरु गर्ने मन्त्रीको भनाइ छ । यस क्षेत्रबाट वैदेशिक रोजगारीका लागि उडान गर्ने तयारी रहेको मन्त्री अधिकारले बताए। 

उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) २४ घन्टा सञ्चालन हुने छ । ‘टिआइएको २७ वर्षदेखि रोकिएको रिह्याब गर्न कोही तयार छैन । सानो निर्णय गर्नुपर्याे भने बैठकमा आउनै छोड्छन् । अर्थ मन्त्रालयका कोही पनि बैठकमा आउन तयार हुँदैनन् । यसमा सोच्नुपर्ने समय आएको छ,’ मन्त्रीले भने।  

कार्यक्रममा अर्का वक्ता महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भिजिट नेपाल वर्षमा २० लाख पर्यटक भित्र्याउन कुनै समस्या नभएको बताए । यसका लागि सरकारले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने गोल्छाको भनाइ थियो। 

‘हामीले हेरिटेज टुर, सिटी टुर, बुद्धिस्ट सर्किटको विषयमा कहिल्यै ध्यान दिन सकेको छैन । यति मात्रै होइन नेपाली स्वादको खाना कहाँ खुवाउने ? ठमेलमा विदेशी र चाइनिज खाना मात्र पाइन्छ,’ उपाध्यक्ष गोल्छाले भने, ‘धेरैले नेपालको खानाको परिकार खाना खोजेका हुन्छन् । यस विषयमा कस्को ध्यान जाने ?’ 

कार्यक्रममा नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङले नेपालको पर्वतारोहण क्षेत्रको विषय पहिलो सर्तको रुपमा उठाउने पर्ने सुझाव दिए । फरक उचाइको फरक फरक हिमाल भएका कारण पर्वतारोहीलाई २० लाख पर्यटक भिœयाउने क्रममा हिमालहरुको प्रवद्र्धन हुनुपर्ने गुरुङको भनाइ थियो। 

कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री बजारको व्यवस्थापन हुन नसकेकाले पर्यटन मन्त्रीको ध्यानकर्षण गराएका थिए । महासंघको पर्यटन विभागका प्रमुख जोत्सना श्रेष्ठले समग्र पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्ने बताइन। 

दाङमा निगमको जहाज सफल परीक्षण 
नेपाल वायुसेवा निगमले दाङमा सफल परीक्षण उडान गरेको छ । काठमाडौंबाट बिहान ९ बजे उडेको जहाज १० बजेर १५ मिनेटमा दाङमा अवतरण गरेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। 

लामो समय बन्द अवस्थामा रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा दसैंलाई लक्षित गर्दै निगमले मंगलबार परीक्षण उडान गरेको हो । हप्तामा दुईवटा उडान गर्ने योजना रहेको निगमले दसैं अगाडि नै नियमित उडान गर्ने जनाएको छ। 

निगमको सानो जहाजले गरेको परीक्षण उडानमा पाइलट, प्राविधिक लगायत स्थानीय जनप्रतिनिधि रहेका थिए । निगमका प्रवक्ता सिग्देलका अनुसार परीक्षण सफल भएपछि दसैंअघिदेखि वाई १२ जहाजबाट काठमाडौं भैरहवा दाङ हप्तामा दुई पटक उडाउने तयारी गरिएको छ।

तर, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर मात्रै नियमित उडानमा जान सक्ने प्रवक्ता सिग्देलले बताए । उनका अनुसार ती स्थानमा सोमबार र शुक्रबार मात्रै उडान हुनेछ।

 

प्रकाशित: १७ आश्विन २०७५ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App