१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तेल ट्यांकरमा गाँजा तस्करी

काठमाडौं – तेल बोकर ल्याउने टयांकरको डब्बाभित्र राखेर भारततर्फ गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंले ट्यांकर चालक प्रल्हाद ठकुरीलाई मकवानपुरबाट ट्यांकरभित्र रहेको २ सय ९५ किलो चिप्पडसहित पक्राउ गरेको हो।

प्रहरीको नियमित चेकजाँचका क्रममा भारततर्फ निकासी गर्न लागिएको सो परिमाणको गाँजा बरामद गरिएको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी विश्वराज पोखरेलले बताए । उनका अनुसार ना४ख ३९६९ नम्बरको खाली ट्यांकरमा पोका बनाई राखिएको अवस्थामा गाँजा भेटिएको थियो । पोखरेलका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा मध्यराति ट्यांकरमा गाँजा लोड गरिएको थियो।

सो ट्यांकरका ५ डब्बामध्ये २ वटामा गाँजा भरिएको ब्यूरोले जनाएको छ । ‘रमनटारबाट मनहरी हुँदै रक्सौल भारत पास गर्न लागिएको गाँजा प्रहरीले मनहरी नजिकै बरामद गरेको हो । चालक ठकुरीले यसअघि पनि यसरी नै गाँजा रक्सौल लैजाने गरेको खुलेको छ,’ एसएसपी पोखरेलले भने । प्रहरीका अनुसार ठकुरीले ट्यांकरको डब्बाभित्र गाँजा हालेर लगेबापत प्रतिट्यांकर ४० हजार रुपैयाँ लिँदै आएका थिए।

प्रकाशित: १७ आश्विन २०७५ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App