१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चुरे क्षेत्रबाट ब्यापक ढुंगा तस्करी

देउराली सामुदायिक वनले ढुंगा संकलन वाफत दिएको रसिद। तस्विर : नागरिक

टीकापुर – कैलालीको चुरे क्षेत्रबाट ब्यापक मात्रामा ढुंगा तस्करी भइरहेको छ। दिनहुँ सयौं ट्याक्टरले वातावरणीय दृष्टिकोणले महत्वपूर्ण चुरे क्षेत्रबाट ढुंगा तस्करी गरिरहेका छन्। कतिपय ठाउँमा ढुंगा उत्खननमा स्काभेटरको समेत प्रयोग भएको पाइएको छ।

स्थानीयका अनुसार बिहानदेखी राति अबेरसम्म ट्याक्टरले ढुंगा ओसार्ने गरेका छन्। करिव १५० ट्याक्टर ढुंगा ओसार्ने कार्यमा संलग्न रहेको पाइएको छ। एउटै ट्याक्टरले दिनमा ६ देखी ७ पटक ढुंगा ओसार्ने गरेको बताइएको छ। ट्याक्टरले चुरेबाट संकलन गरिएको ढुंगा नजिकैको वन क्षेत्रमा घाटगद्दी गरेर राख्ने गरेको छ।

त्यसरी घाटगद्दी गरिएको ढुंगा तस्करीमा संलग्न व्यक्तिहरुले ठेकेदारलाई बेच्दै आएका छन्। चुरेबाट संकलन भएको ढुंगा छिमेकी जिल्ला बर्दियातर्फ समेत तस्करी भइरहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जले चिसापानीको बाटोहुँदै ढुंगा लैजान रोकेपछि यतिबेला टीकापुर–सत्तीहुँदै तस्करी भइरहेको छ।

ढुंगा तस्करीमा वन कार्यालयका कर्मचारीहरुको मिलेमतो रहेको आरोप लाग्ने गरेको छ। वन कार्यालयको बाटो हुँदै ढुंगा तस्करी भइरहँदा समेत कर्मचारीहरु मौन बस्नुलाई स्थानीयले संलग्नताको आरोप लगाएका छन्। उनीहरु ढुंगा तस्करलाई वन कर्मचारीकै संरक्षण रहने गरेको बताउछन्।

वन कर्मचारीकै मिलेमलोमा ढुंगा तस्करी भइरहेको कुरा लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाई समेत बताउछन्। उनले कर्मचारीको संलग्नता बिना खुलेयाम चुरे दोहन हुन सम्भव नहुने बताए। ‘खुलेयाम चुरे दोहन भैरहेको छ’ उनले भने, ‘वन कर्मचारीको संलग्नता बिना यो सम्भव छैन।’

सब डिभिजन वन कार्यालय अमौरीका प्रमुख रविकुमार निधी कर्णले आफ्नो पूरै जनशक्ति ढुंगा तस्करी रोक्नमा परिचालन गरेको बताए। उनले केही दिन अघि चुरे क्षेत्रबाट ढुंगा तस्करी भइरहेको स्विकार्दै हिजोआज रोकिएको दावी गरे। ‘केही दिन अघि ढुंगा तस्करी भएको हो,’ उनले भने, ‘मैले रोकिसके हिजोआज छैन।’

उनले मोहन्याल गाउँपालिकामा पर्ने चुरे क्षेत्रबाट ढुंगा तस्करी भएको बताए। गाउँपालिकाले ढुंगा बालुवा संकलनको अनुमति दिएको भन्दै केही व्यक्तिले खुलेयाम चुरेको दोहन गर्दै आएका छन्।

यता लम्कीचुहा नगरपालिकाले समेत कर्णाली, धोबेनी, रोरा लगायतका नदीमा ढुंगा बालुवा संकलनका लागि इजाजत दिएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन पश्चात नगरपालिकाले ढुंगा बालुवा संकलनका लागि इजाजत दिएको हो। ढुंगा बालुवा संकलनका लागि टेण्डर भई नसकेको मेयर बजगाइले बताए। उनले तत्काल राजश्व संकलनका लागि नगरपालिकाले आफ्नै कर्मचारी परिचालन गरेको बताएका छन्।

नगरपालिकाले इजाजत दिएको क्षेत्रबाट ढुंगा संकलन गर्ने भन्दै ट्याक्टर चुरे क्षेत्रमा केन्द्रित हुने गरेका छन्। नगरपालिकाले चुरे क्षेत्रमा प्रवेश नगर्न सार्वजनिक सूचना जारी गरेको छ। तर ट्याक्टर धनीले सार्वजनिक सूचना अटेर गरेको पाइएको छ।
चुरेको दोहनले भूक्षयको डर रहेको छ। वर्षेनी चुरे मासिँदै गएपछि त्यसको असर तलको उब्जाउ भूभागमा पर्न थालेको छ। चुरेबाट बग्दै आउने खहरे खोलाले उब्जाउ भूमिमा माटो थुपार्नाले उत्पादनमा ह्रास आइरहेको छ। ‘चुरेको दोहनले हुने बेफाईदाका बारेमा कति सम्झायौं तर टेरपुच्छर लगाएका छैनन्’ अत्याधिक चुरे दोहन क्षेत्र रहेको लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउनेले भने, ‘स्थानीय तहका हातबाट रोकथाम होला जस्तो छैन।’

ढुंगा तस्करीमा चुरे क्षेत्रमा रहेका केही सामुदायिक वनको समेत संलग्नता रहेको छ। जाल्पा, देउराली, मुक्त कमैया लगायतका सामुदायिक वनले रकम असुलेर ढुंगा संकलन गर्न दिइरहेको पाइएको छ। केही दर्ता नभएका सामुदायिक वनले समेत ढुंगा तस्करी वाफत रकम असुल्ने गरेका छन्। उनीहरुले प्रति ट्रली १५० देखी २०० रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ।

चुरे दोहनमा एउटा गिरोह संलग्न छ। सो गिरोहमा लम्की र चिसापानीका युवाहरु संलग्न छन्। उनीहरुले विगत केही वर्षदेखी अवैध रुपमा ढुंगा बालुवा संकलन गर्दै आएका छन्। उनीहरुले तस्करी संरक्षणका लागि युवाहरु पालेर राखेका छन्। अहिले तिनै युवाहरुले चुरे क्षेत्रबाट भइरहेको तस्करीको संरक्षण गर्दै आएका छन्। उनीहरु लम्कीदेखी चिसापानीसम्मका विभिन्न ठाउँमा समूह समूहमा बस्ने गरेको पाइएको छ। पूर्वपश्चिम राजमार्गबाट उत्तर चुरेतर्फ कुनै व्यक्ति प्रवेश गरे उनीहरुले सोधपुछ गर्नुका साथै धम्काउने समेत गरेको बताइएको छ।

प्रकाशित: १६ आश्विन २०७५ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App