१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सुरक्षा संयन्त्रको साख

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यासँगै नेपाल प्रहरीको साखमा गम्भीर क्षति भएको छ । उक्त काण्डको दुई महिना पुगिसक्दा पनि वास्तविक अपराधी दृश्यबाट बाहिरै रहेको देखिएको छ । ढिलोचाँडो अपराधी पत्ता लाग्ला । तर, यस प्रकरणमा प्रहरीबाट भएको गम्भीर गल्तीबाटै यो स्थिति आएको हो । अहिलेसम्मको एउटै अनुत्तरित प्रश्न हो– किन प्रहरीले घटनास्थल संरक्षण गर्न सकेन ? सामान्यतः प्रहरीको जिम्मेवारी घटना हुनासाथ त्यसको संरक्षण गर्ने हो । प्राप्त प्रमाण सुरक्षित राख्न प्रहरीले आफूलाई तत्कालै क्रियाशील बनाउनुपर्छ । निर्मला बलात्कार र हत्यामा प्रहरी प्रमाण नष्ट गर्न सक्रिय भएको देखिएको छ । यस प्रकरणमा उठेका प्रश्नको जबाफ दिनुपर्ने आवश्यकता महसुस गरेको देखिएको छैन । घटनाको खबर हुनासाथ प्रहरी किन परिचालन हुन चाहेन ? शंका लागेका ठाउँमा खोजी गर्न आग्रह गर्दा किन प्रहरी तत्पर भएन ? लास फेला परेपछि किन सुरुवाल धुनुपर्ने आवश्यकता भयो ? किन त्यस कार्यमा महिला प्रहरी नै खटाइयो ? त्यतिले मात्र नपुगी किन नक्कली आरोपित तयारी पारी अपराध कबुल गर्न यातना दिइयो ? यस्ता धेरै अनुत्तरित प्रश्न छन् । प्रहरीले यस मामिलामा आफूलाई व्यावसायिक रूपमा प्रस्तुत गर्न सकेको छैन । सिंगै प्रहरी संस्थाको साखमा आँच आउने अवस्था आउँदा पनि यसको नेतृत्वले आफूलाई प्रस्ट पार्नुपर्ने आवश्यकता देखेको छैन । यो अपराधमा वास्तविक अपराधी फेला पर्ने अनिश्चितजस्तो देखिएको छ । तर, अपराध लुकाउन मद्दत गर्ने तत्कालीन प्रहरी नेतृत्वमाथि कारबाही यसको पहिलो सर्त हो । प्रहरी कर्मचारीले तोकिएको जिम्मेवारी पूरा गर्न सक्दैन र विपरीतका कार्य गरेको छ भने कारबाही अनिवार्य हुन्छ।

सुरक्षा निकायले आफ्नो संयन्त्रलाई शून्य सहनशीलताका हिसाबले बलात्कारका घटनामा प्रमाण संकलन र कारबाहीका निम्ति अग्रसर गराउनुपर्छ। गृह प्रशासनले आफूमाथि लागेको अहिलेको धब्बा मेटाउन यसअघि भएका अनुसन्धानलाई समेत ध्यानमा राखी चाँडै गम्भीर छानबिनमा लगाउनु उचित हुन्छ।

संयोगले यसपटक निर्मला बलात्कार तथा हत्या प्रकरणले ठूलो चर्चा पाएको छ । तर, त्यसपछि पनि यस्ता घटनामा कुनै कमी आएको देखिएको छैन । पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दीको कोदीमा १० वर्षीया बालिका श्रेया विकको पनि बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । यो घटनाका अभियुक्त फेला परिसकेका छन् । बालिका, किशोरी र कमजोर पारिवारिक पृष्ठभूमिका महिलामाथि यस किसिमको क्रूर आक्रमण भइरहेका छन् । यस्ता घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमै नकारात्मक प्रभाव पार्न थालेको छ । प्रत्येक दिन कम्तीमा चार बलात्कारका घटना हुन थालेको अहिलेका घटनाक्रमले उजागर गरेको छ । एकातिर निर्मलाको बलात्कारपछि हत्या भएको घटनाका वास्तविक अपराधी पत्ता लगाउनुपर्ने चुनौती छ भने अर्कोतिर यस्ता घटना निरन्तर भइरहेका हुँदा त्यसमा रोकथामका निम्ति अल्पकालीन र दीर्घकालीन योजनासमेत अघि सार्नुपर्ने अवस्था देखिएको छ । सामान्यतः परिवारका सदस्यले आफ्ना बालबालिकालाई यस्ता घटनाबाट जोगिन आवश्यक जानकारी दिने गरेको देखिएको छैन । घरपरिवार र स्कुलबाटै बालबालिकालाई कसरी सजग हुने ? शरीरका अंगमध्ये कहाँ अरूले छुन हुन्छ, कहाँ हुँदैन भन्ने जानकारी गराउनुपर्ने देखिन्छ । चर्चित भारतीय नायक आमिर खानले एउटा टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ मा बालबालिकालाई नै राखेर शरीरका संवेदनशील अंगबारे जानकारी गराएका छन् । यो एउटा उदाहरण हुन सक्छ हाम्रा सन्दर्भमा पनि । हाम्रा स्कुल वा परिवार सदस्यले आफ्ना बालबालिकालाई यसरी सिकाउन सक्छन् । यस्ता विषयमा बालबालिकासँग छलफल गर्न ढिला भइसकेको छ । यो जागरणका लागि नेपाल प्रहरीले समेत आफ्ना निकाय परिचालन गर्न सक्छ । कञ्चनपुर घटनाबाट नेपाल प्रहरीले पनि पाठ सिक्नु आवश्यक छ।

अहिलेसम्म यौन दुव्र्यवहार, बलात्कार र यससँग जोडिएका अपराध लुकाउने प्रवृत्ति देखिएको हो । कतिपय अवस्थामा सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा समेत फरक–फरक प्रतिवेदन आउने गरेको देखिएको छ । चिकित्सकले समेत मुद्दा कमजोर पार्ने गरी प्रतिवेदन दिएको देखिएको छ । यस हिसाबमा पनि अहिले निर्मला बलात्कार तथा हत्या प्रकरणमा वास्तविक अपराधीसम्म पुग्न भइरहेको अवरोध र अलमल बुझ्न सकिन्छ । प्रायः यस्ता घटना प्रहरीबाटै ढाकछोप हुने गरेका तथ्य यसअघि पनि सार्वजनिक भइसकेका छन् । यस्ता मुद्दा अदालतमा पुगेपछि पनि सुनुवाइमा हुने ढिलाइले गर्दा साक्षीले बयान फेर्ने, पीडितमाथि गाउँठाउँमा मुद्दा फिर्ता लिन दबाब पर्ने र धाकधम्कीको सामना गर्नुपर्ने अवस्था छ । महान्यायाधिवक्ता अग्नि खरेलको पहलमा अहिले देशभरिका अदालतमा यी मुद्दालाई निरन्तर सुनुवाइमा लैजाने निर्णय भएका छन् । यसो भएमा साक्षीहरूले बीचैमा बयान फेर्ने, पीडित आफैं भयातुर भई मुद्दा फिर्ता लिने अवस्थामा सुधार हुन सक्छ । निर्मला हत्या प्रकरणमा अझै पनि प्रहरीले आफूलाई सुधार्ने अवसर छ । यो मुद्दामा वास्तविक अपराधी फेला नपरुन्जेल प्रहरीमाथि शंका भइरहन्छ । किनभने प्रहरीले सुरुदेखि नै कमजोरी गरेको सार्वजनिक भइसकेको छ । यस किसिमका अपराध नियन्त्रणका निम्ति चौतर्फी अभियान सञ्चालन हुनुपर्छ । स्कुलमा आठ वा नौ कक्षामा पढ्ने बालबालिकादेखि नै यस्ता घटनामा सजग गराउने गरी सिकाउन थाल्नुपर्छ । सुरक्षा निकायले आफ्नो संयन्त्रलाई शून्य सहनशीलताका हिसाबले बलात्कारका घटनामा प्रमाण संकलन र कारबाहीका निम्ति अग्रसर गराउनुपर्छ । गृह प्रशासनले आफूमाथि लागेको अहिलेको धब्बा मेटाउन यसअघि भएका अनुसन्धानलाई समेत ध्यानमा राखी चाँडै गम्भीर छानबिनमा लगाउनु उचित हुन्छ।

प्रकाशित: १६ आश्विन २०७५ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App