१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

तनहुँ जलविद्युतको ठेक्का सम्झौता सम्पन्न, ५ वर्षभित्र आयोजना तयार हुने

काठमाडौ– १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्यका लागि छुट्टाछुट्टै २ कम्पनीसँग सोमबार ठेक्का सम्झौता भएको छ। हेडवर्कसका लागि इटलियन कम्पनी सिएमसी तथा सुरुङ, हाईड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यका लागि सिनाे हाइड्रोसँग आयोजना निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले संझौता गरेको हो।

जलाशययुक्त उक्त आयोजनाको नदी फर्काउने, बा“ध बनाउने लगायतका पहिलो प्याकेजका संरचना(हेड वर्क) निर्माणका लागि इटालियन कम्पनी सिएमसी(कोपरेटिभा मुराटोरी एण्ड सिमेन्टिसी)सँग संझौता गरेको छ। संझौतापत्रमा तनहुँ हाइड्रो पावरका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीका आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले हस्ताक्षर गरेका छन्। संझौताअनुसार सिएमसीले २० अर्ब ५२लाख रुपैयाँमा उक्त कार्यसम्पन्न गर्नेछ।

त्यस्तै आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका कामका लागि चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेटसँग सम्झौता भएको कम्पनीले जनाएको छ। संझौताअनुसार सिनोले उक्त कार्य ३ अर्ब ८३ करोड १४ लाखरुपैयाँमा गर्नेछ।  दुवै प्याकेजको निर्माण कार्य दुई महिनापछि सुरु गरी सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ। 

कम्पनीले गत ७ साउनमा  बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो। पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए। 
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मूल्याङन भइरहेको कम्पनीले जनाएको छ। नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ।

आयोजनाको मूख्य निर्माणसहित प्रशारण लाईन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत गरी कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर  रहेको छ। यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकी डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले अमेरिकी डलर ८५ मिलियन र नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

 

प्रकाशित: १५ आश्विन २०७५ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App