१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अस्ताए गगन विरही

काठमाडौं – निधन अघिसम्म मान्छेका अनेक इच्छा हुन्छन् । साहित्कार तथा फिल्म निर्देशक गगन विरहीको पनि पुस्तक सार्वजनिक गर्ने अन्तिम इच्छा थियो । त्यो इच्छा पूरा भएसँगै विरहीले भौतिक दुनियाँ छाडेका छन्।

लामो समयदेखि अस्वस्थ रहँदै आएका ६१ वर्षे फिल्म निर्माता, निर्देशक, लेखक तथा गीतकार गगन विरहीको आइतबार आफ्नो कृति ‘हस्ताक्षर’को विमोचनपछि निधन भएको छ। रुघाखोकी र ज्वरोका कारण राजधानीको नर्भिक अस्पतालको सघन कक्षमा उपचाररत विरहीको अन्तिम कृति ‘हस्ताक्षर’लाई अस्पतालको शड्ढयाबाट नै उनकै इच्छा बमोजिम विमोचन गरेपछि विरहीले अन्तिम सास फेरेका हुन् । ‘हस्ताक्षर’मा विरहीका कविता संग्रहित छन्।

२ वर्षअघि कलेजोको उपचार गरेर सामान्य अवस्थामा आएका विरहीलाई रुखा खोकीसँगै ज्वरो आएपछि गत शनिबारमात्र अस्पताल भर्ना गरिएको थियो । परिवारका अनुसार अस्पतालको स्वास्थ्य परीक्षणमा उनलाई निमोनियासँगै मृगौलामा समेत असर देखिएको थियो।

फिल्म ‘संकल्प’बाट गीतकार र प्रस्तुतकर्ताका रुपमा फिल्म क्षेत्रमा ‘डेब्यु’ गरेका उनले फिल्म ‘भाउजु’ र ‘ट्रक ड्राइभर’का गीत लेखेका थिए । उनी फिल्म ‘बादल’का गीतकार तथा प्रस्तुतकर्तासमेत हुन । विरहीले फिल्म ‘झझल्को’, ‘मितेरी गाऊँ’, ‘शिखर’ र ‘घरआँगन’को निर्देशन पनि गरेका थिए । ‘झझल्को’ को ‘शनिबारको दिन बिहानी पख’ विरही लिखित चर्चित गीत हो।

नेपाल टेलिभिजनका समाचारवाचकसमेत रहेका विरही कविता र गीत लेखनमा पनि सक्रिय थिए । उनका झन्डै ६ दर्जन कृति प्रकाशित छन् । विरहीका श्रीमति, एक छोरा र छोरी रहेका छन् । छोरा अष्ट्रेलियामा छन् भने अमेरिकामा रहेकी छोरी आइतबारै नेपाल आइपुगेकी छन्।

प्रकाशित: १५ आश्विन २०७५ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App