१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको कोस्टारिका भ्रमणको औचित्यबारे प्रश्न

प्रधानमन्त्री केपी शर्मा अाेली काेस्टारिकाका राष्ट्रपति कार्लाेस अल्भाराडाे क्वेसाडाकाे निमन्त्रणामा काेस्टारिकाकाे अाैपचारिक भ्रमणकाे सिलसिलामा सान हाेजेमा। तस्बिर : रासस

काठमाडाैं -  संयुक्त राष्ट्रसंघ महासभाको ७३ आैं अधिवेशनमा सहभागी हुन अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्य अमेरिकी देश कोस्टारिकाको भ्रमणमा गएका छन्।

उनलाई जुहान सान्टामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा प्रथम उपप्रधान एवं विदेशमन्त्री इप्सी क्याम्पबेल बारले स्वागत गरेकी थिइन्। कोस्टारिका बसाइँका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्लाेस अल्भार्दाे कोयस्दासँग दुईपक्षीय भेटवार्ता गर्नेछन्।

त्यहाँ उनले युनिभर्सिटी फर पिसमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले सोमबार युनिभर्सिटी फर पिसमा भ्रमण गर्नेछन्। ओलीले सोमबार नै युनिभर्सिटी फर पिसको दक्षिण पश्चिममा रहेको रोड्रिगो कारागो क्याम्पसमा भ्रमण गर्ने छन्, जहाँ उनलाई मानार्थ विद्यावारिधिको सम्मान दिइने कार्यक्रम रहेको छ।

ओलीले नेपालमा शान्ति र प्रजातन्त्रका लागि पु¥याएको योगदान बापत उक्त सम्मान गर्न लागिएको युनिभर्सिटीले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्रीले युनिभर्सिटी फर पिसको चार्टडमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। चार्टडमा हस्ताक्षर गर्ने नेपाल ४१ औँ मुलुक हुनेछ।

नेपालसँग कूटनीतिक सम्बन्धबाहेक खासै अन्य गतिविधि नरहेको कोस्टारिकामा प्रधानमन्त्री ओलीको चार दिने भ्रमणलाई कूटनीतिक क्षेत्रका जानकारहरूले अनावश्यक भनेका छन्। पूर्व राजदूत जयराज आचार्य प्रधानमन्त्री ओलीले कोस्टारिका जानुपर्ने कारण के थियो भनेर प्रश्न गर्छन्। उनी मुलुकभित्रै जल्दोबल्दो परिस्थिति सिर्जना भइरहेका बेला त्यहाँ जानुको औचित्य पुष्टि गर्नुपर्ने बताउँछन्। ‘अहिले राज्य छ कि छैन भन्ने अवस्था छ, तर उहाँ त्यसलाई बेवास्ता गर्दै विदेश भ्रमणमा हुनुहुन्छ,’ आर्चायले भने। पहिले गृह व्यवस्थालाई राम्रो बनाएर मात्र परराष्ट्र सम्बन्धलाई जोड दिनुपर्ने आचार्यको तर्क छ।

उनी संयुक्त राष्ट्रसंघ महासभाको ७३ औ महाधिवेशनमा सहभागी हुन गत साता अमेरिका प्रस्थान गरेका थिए। महासभालाई असोज ११ गते सम्बोधन गरेका ओली कोस्टारिका जाने कार्यक्रम तय नभएको भए असोज १३ गते नै स्वदेश फर्किसक्थे तर कोस्टारिकाको भ्रमण तय भएसँगै उनले पाँच दिने भ्रमण तालिका थप गरेका हुन्।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा अपराधीलाई कारबाहीको दायरामा नल्याएको आरोपमा सरकार विरुद्ध सडक, सदन र पार्टी भित्रैसमेत विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले परिस्थितिलाई बेवास्ता गर्दै भ्रमण लम्ब्याएका हुन्।

कोस्टारिकामा उनको खासै महŒवपूर्ण कार्यक्रम नभए पनि उनी मुलुकको अवस्थालाई बेवास्ता गर्दै चार दिन लामो कोस्टारिका भ्रमण तय गरेको भन्दै उनको आलोचना भइरहेको छ। सरकारको काम कामकारबाहीबारे पार्टीभित्रैबाट आलोचना भइरहेको र पार्टी एकता विवादसमेत चुलिएका बेला ओली विदेश यात्रा लम्ब्याउँदै कोस्टारिका पुगेका हुन्।

ओलीले भने सरकारको कामकारबाहीका विषयमा पार्टी भित्रैबाट भएको आलोचनालाई समेत सामान्य रूपमा लिँदै आफू दुईचार दिन बाहिर हुँदैमा देश नडुब्ने बताएका छन्। उनले आफ्नै पार्टीका नेताको भनाइलाई खण्डन गर्दै छिट्टै स्वदेश फर्किने र परिस्थिति सामान्य हुने भन्दै व्यंग्यसमेत गरेका छन्। प्रधानमन्त्री ओली भ्रमण सकेर असोज १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। उनको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, विदेश सचिव शंकरदास बैरागीलगायत रहेका छन्।

प्रकाशित: १५ आश्विन २०७५ ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App