१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपामा ओली र नेपाल समूहबीच आरोप प्रत्यारोप, मिल्ला त विवाद ?

काठमाडौं– वरिष्ठ नेता माधवकुमार नेपालले सरकार र नेतृत्वको आलोचना गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु उनीमाथि खनिएका छन् भने नेपाल पक्षधर नेताले बचाउ गरिरहेका छन्। 

नेता नेपालले प्रतिनिधिसभाको बिहीवारको बैठकमा ‘मेरो देश डुब्नै लाग्यो किनारा लगाई देउ’ भन्दै सरकारको आलोचना गरेका थिए। देशमा हत्या, हिंसा, बलात्कार बढेको भन्दै गृहमन्त्री खोई भनी प्रश्न समेत गरेका थिए। 

त्यस्तै पार्टीभित्र अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले एकलौटी गरेको भन्दै स्थायी कमिटी बैठक बोलाएरै प्रदेशको पदाधिकारी चयनमा  असन्तुष्टि पोखे। दुबै अध्यक्ष विदेश (ओली अमेरिका, दाहाल सिंगापुर)मा रहेका बेला वामदेव गौतमसहितका नेताहरु बोलाएर नेपालले बैठक गरेका थिए। 

नेता नेपालका यस्ता गतिविधीविरुद्ध प्रधानमन्त्री ओलीले अमेरिकाबाटै विरोध जनाए। संयुक्त राष्ट्रसंघको ७५ औं महासभालाई सम्बोधन गर्न न्युयोर्क पुगेका ओलीले आफ्नो एक अन्तर्वार्तामा उतैबाट ‘देश डुब्दैन, म फर्केर आइहाल्छु’ भनेका थिए। उनले संसदमा नेपालले व्यक्तिगत कुण्ठा पोखेको आरोप समेत लगाए।

लगत्तै प्रधानमन्त्रीसँगै अमेरिकामा रहेका राजनीतिक सल्लाहकार विष्णु रिमालले नेता नेपाललक्षित ट्वीट गर्दै सरकार ढाल्न खोजेको आरोप लगाए। ‘मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू गरिन्छ!’, रिमालले ट्वीटरमा लेखेका छन्।

त्यस्तै, शनिबार गुल्मी पुगेका गृहमन्त्री रामबहादुर थापाले नेपालको गृहमन्त्री खोई भन्ने भनाईप्रति लक्षित गर्दै सरकारलाई घेराबन्दी गर्ने र ढाल्ने षडयन्त्र भइरहेको बताएका थिए।  

ओली निकट मानिने नेता राजन भट्टराईले पनि सरकारको विकल्पका रुपमा धमिलो पानीमा माछा मार्न खोजेको भन्दै नेपालको विरोध गरे। नेता नेपालप्रति लक्षित गर्दै भट्टराईले ट्वीट गरेका छन्, ‘सामाजिक क्षेत्रमा देखापरेका समस्या र विकास निर्माणले चाहेजति गति लिन सकेन भन्ने नाममा सरकारको विकल्प र अझ कतिपयको वैकल्पिक राजनीतिको खोजी धमिलो पानीमा माछा मार्न खोजेको भन्दा बढी के होला र?’

उनले सरकारलाई थिंकट्यांक बनाउन घच्घच्याउनु पर्ने पंक्तिबाटै यसको गठनको बिरोध भएको भन्दै यस किसिमको उदेक लाग्दो अवस्था यही मात्र त होला? भनी प्रश्न समेत गरेका छन्। 

ओली समूहले कडा प्रतिवाद गरेपछि नेपाल पक्ष पनि प्रतिरक्षामा उत्रिएको छ। नेपाल पक्षीय नेताहरुले सत्ता र शक्तिको चुचुरोबाट पतन देख्नु हास्यास्पद भएको बताएका छन्। 

नेपाल निकट मानिने नेता योगेश भट्टराईले गलत कामको आलोचना गर्दा सत्ता गिराउने र आफैं पतन भएको देख्नु उपयुक्त नभएको उल्लेख गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन! कठै दोषी चस्मा!’

सरकारको आलोचना गर्ने क्रममा बिहीवारै संसदमा केन्द्रीय सदस्य एवं सांसद विरोध खतिवडाले माधव नेपालको सम्बोधनलाई समर्थन गर्दै सरकारको अनुहार देख्दा पनि लाज मान्नुपर्ने अवस्था आएको बताएका थिए। 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आलोचनालाई सरकार सफल पार्ने हिसाबले लिनुपर्ने बताए। ‘सरकारको आलोचना सरकारलाई सफल पार्ने उद्देश्यले हो र हुनुपर्छ’, श्रेष्ठले नागरिकसँग भने, ‘यो सरकारको विकल्पमा अहिले सोच्नु पार्टी, जनता र देश कसैको हितमा छैन्। तर, सरकारको आलोचना र टिप्पणीको अर्थ सरकारलाई सफल पार्ने नै हो।’ आलोचनालाई विधिसम्मत ढंगले पार्टीभित्रै छलफल गरेर टुंगो लगाउनुपर्ने उनको भनाई छ। 

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सरकार र पार्टीको आलोचना हुनु स्वभाविक भएको बताए। ‘पार्टीका कामकारवाहीहरु जब नियमित चल्न छोड्छ, तब यस्ता प्रतिक्रिया आउँछन, जुन राम्रो कुरा होइन। तर, पार्टी राम्रोसँग चल्नुपर्छ भन्ने चिन्तासँगै यो आएको हो भन्ने लाग्छ’, उनले भने।

एकता प्रक्रियामा ढिलाई भएको गुनासो गर्दै उनले पार्टी लामो समयसम्म निष्क्रिय भयो भने गतिहिन हुने भन्दै सचेत गराए। ‘पार्टीको गति अन्त्य भयो भने अनेक मान्छे अनेक बाटो लाग्छ, त्यो नहोस भन्नका लागि पार्टी विधि र प्रक्रियाबाट चल्नुपर्छ भन्ने चिन्ता विभिन्न कोणबाट आएको हो’, उनले प्रष्ट पारे।

यसअघि स्थायी कमिटी बैठकमा सरकारको कामकारवाहीको समीक्षा तथा पार्टीको एकता प्रक्रिया छिटो टुंग्याउने सम्बन्धमा स्थायी कमिटी राख्ने भनिएको र त्यसले टुंग्याउनुपर्थ्यो भन्दै नेता पाण्डलेले भने, ‘ढिलो भएको कारणले यस्तो स्थिती उत्पन्न भएको हो। यसले नै पार्टी एकता र सरकारलाई नकारात्मक असर पार्दैन्। तर, यसलाई पार्टीले छिटो भन्दा छिटो समाधान गर्नुपर्छ।’

सरकारविरुद्ध यसप्रकारका गुनासा बाहिर सार्वजनिक हुनुपर्ने परिस्थिती उत्पन्न हुनु राम्रो नभएको भन्दै उनले चाँडो भन्दा चाँडो स्थायी कमिटी बैठक राखेर छलफल गरिए सबै समस्याको समाधान हुने सुझाए।

प्रकाशित: १४ आश्विन २०७५ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App