१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'रामभरोस आफ्नै घर फर्कि आऊ'

काठमाडौं- ओ! राष्ट्रकवि हो,

फकाएर ल्याओ न रामभरोसलाई

के मा चित्त दुखाएर रासनकार्डको ढुंगा फ्याँक्छ आफ्नै घरको छानामा?

सोमबार देशभर संविधान दिवस मनाइरहँदा राजधानीको मण्डला थिएटरमा एक जना कवि भने देश साँच्चिकै फूलबारी भएको हेर्न आतुर देखिन्थे। 'सिर्जनशील अराजकता' अभियानका अभियन्ता हाङयुग अज्ञात राजधानीसँग रिसाएको तराईको एक पात्र रामभरोसलाई बिम्ब बनाएर देशमा उनीहरूको अभाव खट्किएको कवितामार्फत् सुनाउँदै थिए। 

एकल कविता वाचनमा समाजमा सदियौंदेखि लादिएको  धार्मिक, सांस्कृतिक र अन्य विभेदबारे राज्यप्रति आक्रोश पोखिरहेका हाङयुगले 'रामभरोस मधेसमा छैन' शीर्षकको कवितामार्फत् राष्ट्रिय एकताको जोडदार वकालत गरे।  शासकसँग आक्रोश ओकलेका उनको वाणी राष्ट्रको सवालमा  भने एकदमै मधुर बन्यो। 

श्रवण मुकारुङको कविताको पात्र रामभरोसलाई नै आफ्नो कविताको पनि पात्र बनाएका हाङयुगले 'रामभरोस मधेसमा छैन' कवितामार्फत्  मधेस आन्दोलन, राज्यको नीति र दुवैले बु‰नुपर्ने सत्य सरल भाषामा उल्लेख गरे।

'श्रवण मुकारुङको रामभरोस हिजोआज मधेशमा छैन

यता अनुहार खोज्यो भेटेन,

त्यसैले जंगेपिलर नाघेर उतातिर गएको छ,

उताबाट ढुंगा हान्न खुबै सजिलो भएको छ ...

पहाडबाट  मधेस हेर्ने अनि मधेसमा बसेर पाहाड हेर्ने परिपाटीले नेपाली–नेपालीबीच विभेद बढाएको भन्दै उनी दुवैसँग आपसका सुखदुःख बु‰न आग्रह गर्छन्। 

मधेस हेर्न म मधेस नै झर्ने छु,

तिमी पहाड हेर्न पहाड नै चढनु,

तातो दुःख मधेसको,

चिसो दुःख पहाडको,

आखिर दुःख त दुःख नै हो।'

पहाडबाट तराईमा ढुंगा फाल्ने अनि पारिबाट पनि  तराईमै ढुंगा फ्याँक्दा सिंगो मधेस 'ढुंगाघारी' हुनेतर्फ सचेत गराउँदै हाङयुगले रामभरोसलाई फर्की आफ्नै धर्तीमा आएर रमाउन आग्रह गरे।

तिमीमा आगो बाल्ने अर्कै,

तिमीमा घीउ हाल्ने अर्कै

यसरी त तिमी खरानी हुन्छौ,

आऊ रे रामभरोस आफ्नै घर फर्की आऊ,

तिमीलाई हृदयभरि जग्गा छ।'

प्रकाशित: ४ आश्विन २०७३ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App