१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आइल्यान्डले एम्बुलेन्सलाई समस्या

काठमाडौं- सडकमा एम्बुलेन्स आए बाटो छाडेर अघि जान दिनुपर्छ। बिरामी बोक्ने एम्बुलेन्स एक मिनेटमात्रै छिटो अस्पताल पुगे बिरामीको जीवन जोगिन्छ। तर राजधानीस्थित वीर अस्पतालको मुख्य प्रवेशद्वार अघि ट्राफिक आइल्यान्ड बनाउने भन्दै सडकमा संरचना बनाएपछि एम्बुलेन्स अस्पतालभित्र लैजान नै समस्या भएको छ।

आइल्यान्ड निर्माण गर्न वीर अगाडि सडकमा जग बनाएपछि एम्बुलेन्स घुमाउन ५–७ मिनेट बढी लाग्ने गरेको छ। पहिलो सिधै मूलद्वारभित्र प्रवेश गर्न सक्थ्यो तर अहिले घुमाएर अस्पतालभित्र मोड्नु पर्ने बाध्यता छ। 'गेट अगाडि सडकमा दुवैतिर फाउन्डेसनका कारण घुम्नैपर्ने भएको छ,' वीर अस्पतालका निमित्त निर्देशक भुपेन्द्र बस्नेतले भने, 'घुमेर भित्र प्रवेश गर्नुपर्ने भएपछि ५/७ मिनेट ढिला हुन्छ। सवारी र बटुवाको चाप भएका बेला १० मिनेट नै ढिला हुने गरेको छ।' उनलेे एम्बुलेन्सलगायत अस्पतालका सवारीसाधन भित्र प्रवेश गर्न जगले अत्यन्तै समस्या उब्जाएको बताए।

काठमाडौं दिगो सहरी यातायात आयोजनाले ट्राफिक आइल्यान्ड निर्माण गर्न जेठमा जग बनाएको हो। जग बनाएयता अस्पतालले समस्या भोग्दै आएको छ। बिरामी बोकेर आएको एम्बुलेन्स २/४ मिनेट अल्झनु पर्दा पनि ठूलै समस्या हुने गरेको छ। 'समस्या विकराल नै हुन थालेपछि सडक विभागमा पत्र पठायौं। विभागले आयोजनालाई देखाएर भनेर पन्छियो। विभागले आयोजनामा पत्र पठाउने त भने पनि पठाए/नपठाएको थाहा पाइएन,' कार्यालयबारे जानकारी नभएकाले आयोजनामा जान नसकेको भन्दै उनले भने, 'करिब दुई महिना बितिसक्यो। अब आयोजनाको कार्यालय खोज्दै जानुपर्ला भन्ने लागेको छ।' उनले जग नहटाए अस्पताल र बिरामीले कठिनाइ झेलिरहनु बताए। चिकित्सक/बिरामीको समेत जगले बेफ्वाँकमा समय व्यर्थ पारिरहेको उनको भनाइ छ। ढिलाइले अहिलेसम्म कुनै बिरामीको ज्यान नगए पनि यस्तो घट्ना नहोला भन्न नसकिने डा. बस्नेतले बताए।

आयोजनाले भने अस्पतालको पत्र पाइसकेको जनाएको छ। 'अस्पतालको पत्र पाएको छौं,' आयोजनाअन्तर्गत योजना कार्यान्वयन इकाइ प्रमुख खड्गलाल श्रेष्ठले भने, 'अस्पताललाई समस्या भएकैले कसरी अस्पतालको समस्या समाधान गर्न सकिन्छ हामी अध्ययन गरिरहेका छौं।' उनका अनुसार जगले अस्पताललाई समस्या नपारोस् भनेर प्राविधिक टोलीले अध्ययन गरिरहेको छ। 'अस्पताल अगाडिको फाउन्डेसन हटाउन प्राविधिक टोलीलाई भनेका छौं,' श्रेष्ठले भने, 'टोलीले चाँडै फाउन्डेसन हटाउनेछ।'

प्रकाशित: ४ आश्विन २०७३ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App