१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गुनासा सम्बोधन गर्न संविधान संशोधन : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले देशको वस्तुगत परिस्थिति र जनताको आकांक्षा अनुसार संविधान संशोधन गर्न सरकार गम्भीरतापूर्वक लागेको बताएका छन्। पहिलो संविधान दिवस अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले यसअघि एकपटक संविधानका महत्वपूर्ण अंशमा संशोधन भइसकेको र अर्को संशोधनका लागि सरकार लागिरहेको बताएका हुन्।

'संशोधनबाट मधेसी, थारु, आदिवासी जनजातिलगायत समुदायका गुनासा यथोचित सम्बोधन भई संविधानको स्वीकार्यता थप फराकिलो हुनेछ,' उनले भने, 'यसबाट संविधान पूर्ण कार्यान्वयनले गति लिने विश्वास लिएको छु।'

उनले विश्वका कुनै पनि संविधान एकैचोटि पूर्ण नभएको उल्लेख गर्दै समय समयमा हुने संशोधनबाट संविधान परिस्कृत र परिपक्व हुने बताए। 'नेपालको संविधान गतिशील र जीवन्त दस्तावेज भएकाले मुलुकको वस्तुगत परिस्थिति र जनताको आकांक्षा अनुसार यसलाई संशोधन गर्नुपर्ने हुन्छ,' दाहालले भने, 'यो संविधान नेपालको इतिहासको विशिष्ट परिस्थितिमा जारी गर्नुपरेको थियो। संविधानमा मधेसी, थारु, जनजातिलगायत कतिपय समुदायका केही जायज माग र आकांक्षा समावेश गर्न सकिएको छैन। त्यस कारण यसमा संशोधन गर्न सरकार सक्रिय छ।' उनले संविधान संशोधनसँगै कार्यान्वयनतर्फ पनि लाग्न सबैलाई आग्रह गरे।

दाहालले संविधान अनुसार २०७४ माघ ७ भित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन गरिसक्नुपर्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउन सबै दललाई आह्वान गरे। 'तीनवटा चुनाव संविधान कार्यान्वयन तथा संघीयता संस्थागत एवं सुदृढ गर्ने दिशामा कोसेढुंगा साबित हुनेछन,' उनले भने। उनले निर्वाचनका लागि  आवश्यक कानुन र संरचना निर्माण गर्न सरकार लागिरहेको जानकारी पनि दिए।

सरकारले उच्च अदालत सम्बन्धमा गरेका निर्णय संविधान र संघीयता कार्यान्वयनको दिशामा महŒवपूर्ण उपलब्धि भएको उल्लेख गर्दै प्रधानमन्त्रीले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण गर्न बनेको आयोगलाई छिटो काम टुंग्याउन अनुरोध गरेको बताए। उनले भने, 'यस आयोगको कामसँग तालमेल हुनेगरी निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचन मिति सरकारले छिट्टै घोषणा गर्ने छ।'

संविधान जारीपछि मुलुक नयाँ चरणमा प्रवेश गरेको भन्दै दाहालले अब सफल कार्यान्वयन गरी राष्ट्रिय एकता थप सुदृढ बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन योगदान गर्न सबै दल र नेपालीलाई आह्वान गरे।

उनले संविधानले नागरिक तथा राजनीतिक मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक हक अधिकार पनि  सुनिश्चित गरेको बताए।

प्रधानमन्त्री दाहालले मधेस आन्दोलनमा घाइतेको उपचारका लागि बिलबमोजिम खर्च भुक्तानी र राजनीतिक कारणबाट लागेका मुद्दा फिर्ता लिने प्रक्रिया सरकारले अघि बढाइसकेको जानकारी दिए।

परेवा उडाएर संविधान दिवस

सरकारले पहिलो संविधान दिवस भव्यता साथ मनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्षता गरेको मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी यो दिवस मनाएको हो। 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की र प्रधानसेनापति राजेन्› क्षत्रीले शान्तिका प्रतीक एकएक जोडा परेवा उडाएका थिए। संविधान जारी भएको एक वर्ष पुगेको खुसियालीमा आयोजित कार्यक्रममा सेनाको हेलिकप्टरबाट संविधान दिवस लेखिएको झन्डा प्रदर्शन गर्दै पुष्पवृष्टि गरिएको थियो। उक्त अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीले कवाज र कलाकौशल प्रदर्शन गरे। विभिन्न जातजातिका नाच तथा सांस्कृतिक झाँकी पनि प्रस्तुत गरियो।

सरकारले दिवर्स भव्य मनाउन सार्वजनिक बिदा दिएको थियो। दिवस मनाउन सैनिक मञ्चमा आयोजित कार्यक्रममा मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद्, संवैधानिक निकायका पदाधिकारी, सरकारी कर्मचारी, खेलाडी, सर्वसाधारण लगायतको उपस्थिति  थियो।

प्रकाशित: ४ आश्विन २०७३ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App