१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधान विरोधमा मधेसीको झिनो सहभागिता

काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको दिनलाई 'कालो दिन' मनाउन निकै तामझाम गरे पनि अन्ततः उक्त कार्यक्रममा निकै थोरै सहभागी भए। मधेसका जिल्लामा विरोध कार्यक्रम केही प्रभावकारी देखिए पनि राजधानीमा भने विरोध कार्यक्रम 'सांकेतिक' रूपमा सीमित रह्यो। सोमबार मोर्चाआवद्ध चार दलले माइतीघर मण्डला र तीन दल तथा संघीय गठबन्धनले रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध कार्यक्रम आयोजना गर्दा आन्दोलनकारीभन्दा बढी सुरक्षाकर्मी र बटुवा देखिन्थे ।

गत वर्ष असोज ३ गते संविधान जारी भएदेखि आन्दोलनमा उत्रिएका मधेसवादी दलले आयोजना गर्ने यसअघि विरोधका विभिन्न कार्यक्रममा सर्वसाधारणको व्यापक सहभागिता हुन्थ्यो।  संविधानप्रति असन्तुष्टि जनाउन तराईंमा साङ्ले जुलुस गर्दा मानवसागर नै उर्र्लिएको थियो भने सामूहिक विरोधका कार्यक्रममा सशक्त आन्दोलन हुने गर्थ्यो। सुरुको ४० दिने आन्दोलनको क्रममा तराई–मधेसमा ११ सुरक्षाकर्मीसहित ६८ जनाको ज्यान गएको थियो। मधेसको आन्दोलन राजधानीकेन्द्रित भएपछि पनि विरोध कार्यक्रममा राम्र्रै सहभागिता हुन्थ्यो।

संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसवादी दलले सोमबार पहिलोपटक छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया थाल्ने बताइरहेका बेला मोर्चामा आवद्ध सात दल विभाजित भएपछि संशोधन प्रक्रियामा उनीहरू पुनः एक हुन्छन् या हुँदैनन् भन्ने अन्योल बढेको मधेसी नेता बताउँछन्। मोर्चाका नेताका अनुसार विरोध कार्यक्रम नै फरक–फरक स्थानमा गर्न थालेपछि सर्वसाधारणको दलप्रतिको विश्वास घट्दै गइरहेको हो।

माइतीघर मण्डलामा आयोजना गरिएको विरोध कार्यक्रममा महन्थ ठाकुर अध्यक्ष रहेको तराई–मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी, अनिलकुमार झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यकर्ता सहभागी थिए। त्यस्तै, रत्नपार्कको शान्तिबाटिकामा आयोजित विरोध कार्यक्रममा उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम, शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेस समाजवादी पार्टी र महेन्द्र राय यादव अध्यक्ष रहेको तराई–मधेस   सद्भावना पार्टी समर्थक सरिक भए। तर, दुवै कार्यक्रममा आयोजकले अपेक्षा गरेभन्दा निकै थोरै संख्यामा विरोधकर्ता सहभागी भए।

रत्नपार्कको विरोध कार्यक्रममा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा विरोध कार्यक्रममा अपेक्षा गरेभन्दा थोरै संख्या सहभागी हुनुमा छुट्टाछुट्टै कार्यक्रम हुनुले पनि असर गरेको अनुमान लगाउँछन्। आन्दोलन लयमा नआउँदा सहभागीको संख्या कम हुनु स्वभाविक भएको उनको भनाइ छ। 'यो सांकेतिक विरोध हो, त्यसैले  सहभागी संख्यालाई सन्तोषजनक नै मानेका छौं,' झाले भने।

रत्नपार्कको विरोध कार्यक्रममा आयोजकले एक हजारजति विरोधकर्ता सहभागी हुने अपेक्षा गरेका थिए भने मण्डलामा पनि त्यस्तै अपेक्षा गरिएको थियो। दुवै कार्यक्रममा मोर्चाका शीर्ष नेता भने सहभागी भएनन्।  शीर्ष नेता नै उपस्थित नभएपछि सर्वसाधारणको न्यून सहभागिता रहेको कतिपयले ठानेका छन्।  रत्नपार्कको विरोध कार्यक्रममा  २८ दलआवद्ध संघीय गठबन्धनको पनि समर्थन भएका कारण ठूलो संख्याका सर्वसाधारण सहभागी हुने आयोजकले ठानेका थिए।

माइतीघरको विरोध कार्यक्रममा सहभागी अनुसन्धानकर्ता काशीन्द्र यादव विगतमा मधेसवादी दलको मोर्चा बन्दा नै कुनै पनि सिद्धान्तमा आधारित नभएको परिणाम अहिले आएर देखिन थालेको बताउँछन्। 'मधेसका मुद्दा समाधान गर्न कुनै सिद्धान्त अवलम्बन नगरिएका कारण नेताहरूको टकराव बढ्दा सर्वसाधारणको विश्वास घट्न थालेको हो,' यादवले भने, 'मधेसी जनताको बलियो चेतनाले नै नेताहरूलाई मोर्चा बनाउन बाध्य बनाएको हो।' नेताहरूको भने मोर्चा बनेदेखि नै सम्बन्ध चिसिन थालिसकेको कतिपयको बुझाइ छ।

सोही विरोध कार्यक्रममा सहभागी अर्का बुद्धिजीवी सीताराम अग्रहरि मधेसी जनताका समस्या समाधान गर्नुको साटो नेताहरूलाई पार्टी र गुटका समस्या समाधान गर्न फुर्सद नहुँदा समस्या बढिरहेको बताउँछन्। विरोध कार्यक्रममा कम  सहभागिता हुँदैमा मधेस आन्दोलन कमजोर भयो भनेर बु‰न नहुने उनको भनाइ छ। 'विरोध कार्यक्रम सांकेतिक मात्र हो, त्यसैले कसैले थोरै सहभागिता हुँदैमा पूरै आन्दोलन कमजोर भएको ठानेको छ भने त्यसबाट पूर्वराजा ज्ञानेन्द्रको जस्तै अवस्थाबाट पुर्‍याउँछ,' उनले भने।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पहलमा आदिवासी, जनजाति र थारु सम्मिलित संघीय गठबन्धन गठन गरेदेखि नै चिसिएको मोर्चाका नेताहरूको सम्बन्ध अहिले आएर विस्तारै छरपष्ट हुँदै गइरहेको मोर्चाका नेता बताउँछन्।

प्रकाशित: ४ आश्विन २०७३ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App