१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

निडर अभियन्ता

घरेलु हिंसालाई नियति ठानेर घरभित्रै चुपचाप बस्ने महिला धेरै छन् । तर, हिंसालाई अवसरको रूपमा उपयोग गरेर आफ्नो जीवन नै हिंसा पीडित महिलाका लागि समर्पण गर्नेहरू थोरै मात्र होलान् । तीनैमध्येकी एक हुन्, देवकुमारी महरा । जसले आफ्नो जीवन हिंसापीडित महिलाको न्यायका लागि समर्पित गरेकी छन्। 

साविक सीतापुर–४ घर भएकी देवकुमारी गाउँकै सामुदायिक विद्यालयमा कक्षा ५ मा पढ्दै थिइन् । करिब ११ वर्ष हुँदा उनको विवाह छिनिएछ । त्यतिबेला विवाहबारे उनलाई केही थाहा थिएन । विवाहमा धेरै मानिसको जमघट हुन्छ, बाजागाजा बज्छ, मनोरञ्जन हुन्छ भन्ने उनले बुझेकी थिइन् । त्यही भएर उनले रमाउँदै आफ्नो विवाह हुने जानकारी गाउँभरि छरिन्। 

भोजभतेर, बाजागाजाको रमझममा रमाएकी उनी विवाह भएर ससुराली जानेबेला जान मानिनन् । बाल उमेरमा आमाबुबा छोडेर अर्को ठाउँ जानु पर्दा उनी खुबै रोएकी थिइन् । तीन दिनमै उनी माइती फर्किन् । त्यसपछि करिब दुई–तीन वर्षसम्म माइतमै बसिन् । पढाइ पूरा गर्न उनलाई श्रीमानले माइतीमै बस्न सहयोग गरेको रहेछ।

पहिले देवकुमारीको कुरा काट्नेहरू अहिले गाह्रोसाह्रो पर्दा उनकै साथ खोज्छन् । हरेक निर्णयमा उनको सुझाव लिन्छन् । यसले उनलाई खुशी तुल्याएको छ । देवकुमारीलाई निडर अभियन्ताको रूपमा सबैले सम्मानको नजरले हेर्छन्। 

कक्षा ९ मा पुग्दा देवकुमारीकी एकजना साथी अन्तरजातीय विवाह गरेर गएछन् । त्यो बेला अन्तरजातीय विवाह मधेसी समाजमा ठूलै हल्लीखल्लीको विषय बन्थ्यो । यो हल्ला देवकुमारीको ससुरालीसम्म पुग्यो । सासु–ससुराले पढाई छोडाउन देवकुमारीको माइती पक्षलाई दबाब दियो । पढाई छोडाउनका लागि ससुराली पक्ष बुहारी ल्याउने निर्णय गरे । उनी ससुराली गइन् । त्यसपछि उनको पढाई नियमित हुन सकेन । उनी एसएलसी परीक्षा अनुत्तीर्ण भइन् । ससुरालीमा नियमित बस्न थालिन्।

ससुरालीमा उनी तीन वर्षसम्म घरको पर्खालबाहिर पाइला टेक्न पाइनन् । कारण थियो– नयाँ बुहारी घरबाहिर जान नहुने सामाजिक परम्परा । घरको काम गर्ने, खाना पकाउने काम उनको जिम्मा थियो । तर, सानै उमेरमा विवाह भएकाले उनले घरधन्दाको सीप सिक्न पाएकी थिइनन् । खाना पकाउँदा कहिले दालदाल मात्रै हुने त कहिले पानीपानी मात्रै । तरकारीमा कहिले नुन कम हुने त कहिले बढी । जसका कारण उनले सासुससुराबाट गाली खानुपथ्र्यो। 
०००

उनी १४ वर्षकी पुग्दा फलानो बुहारी सन्तान जन्माउन सकिनन् भन्ने गाउँभरि हल्ला चल्यो । सन्तान नजन्मेपछि उनले सासुबाट पनि गाली सुनिन् । यति वर्ष बित्यो, बाबच्चा भएन भन्दै उनलाई झारफुक गर्न ससुराले धामी बोलाए । धामीबाट झारफुक गराएपछि सन्तान जम्निन्छ भने मान्यता अझै मधेसका गाउँघरमा कायमै छ । त्यसको एक वर्षपछि उनले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिइन्। 
०००

पहिलो सन्तान छोरी पाएपछि देवकुमारी निकै खुसी भइन् । तर, उनको परिवारमा दुःखको पहाड खस्यो । छोरी जन्माइस् भनेर उनलाई खुबै पीडा दिइयो । सासु–ससुराहरूको आशा बुहारीले छोरा जन्माओस् भन्ने थियो । उनकी जेठानीका पनि तीन छोरी थिए । त्यसकारण पनि उनले परिवारबाट यातना पाइन् । सुत्केरी अवस्थामा पनि कसैले स्याहार गरेनन् । जेठाजुले उनकी छोरीलाई मारिदिनुपर्छ भनेको समेत उनी सम्झिन्छिन्। 
०००

उनले १८ वर्षमा दोस्रो सन्तान र २१ वर्षमा तेस्रो सन्तानलाई जन्म दिइन् । उनका दुई छोरी र एक छोरा छन् । सासु–ससुराले देवकुमारीलाई जती यातना दिए पनि श्रीमान चुपचाप सुनिरहन्थे । यसको कारणबारे देवकुमारी भन्छिन्, ‘गाउँमा नकमाउने छोराले बुबाआमासँग प्रतिबाद गर्न पाउँदैनन् ।’ उनका श्रीमान पनि बेरोजगार थिए। 

कान्छी छोरी सानै हुँदा घिस्रिँदै घरअगाडिको इनार नजिक पुगिन् । खाना पकाउँदै गरेकी देवकुमारी छोरा घरमा नदेखेपछि खोज्न घरबाहिर निस्किइन् । इनारनजिकै छोरी देखेर उनी दौड्दै त्यहाँ पुगिन् । र, छोरीलाई उचालेर काँखमा राखिन् । घरभित्र जाँदै गर्दा चउरीबाट फर्कदै गरेकी सासुले देखिछन् । बुहारी भएर गाउँ डुल्न निस्किने भन्दै उनले खुबै यातना पाइन् । त्यो सहन नसकेर उनी छोरी काँखी च्यापेर मर्छु भन्दै घरबाट निस्किन्।

बाटोमा तीन ठाउँ उनी मर्ने कोशिस गरिन् । तर, सकिननन् । घरबाट निस्केको तीन दिन भइसकेको थियो । सुत्केरी उनी गोलबजार नजिक आएर बाटोमै थला परिन् । काँखको बच्चासहित सडकमा थला परेको देवकुमारीमाथि रोणुका गुरुङको नजर परेछ । सेभ द चिल्ड्रेनमा कार्यरत उनी गाडी रोकेर देवकुमारीलाई बसाएर गोलबजार ल्याएर स्याहारिन् । उनको दुःख सुनेर रोणुका पनि रोइन् । रोणुकाले देवकुमारीलाई तत्काल जागिरको अफर दिइन् । पढेलेखेकी मधेसी दलित महिला आवश्यक थियो । उनले हुन्छ भनिहालिन् । देवकुमारीलाई रेणुकाले आफ् गाडीमा लगेर फिल्डमा काम गर्ने सीप सिकाइन् । देवकुमारी भन्छिन्, ‘रोणुका म्याडमले मलाई जागिर मात्र दिनुभएन, जीवन नै दिनुभयो ।’ उनी नभेटिएकी भए म जीवन नै त्याग्थे होला, देवकुमारीले आँखा रसाउँदै भनिन् । हिंसाको भारी म मरेर बिसाउँछु भनेर घरबाट हिडेकी थिएँ । ‘त्यहिँ हिंसा मेरा लागि अवसर बनिदियो,’ उनले भनिन्, ‘२०५१ सालमा मैले सेभ द चिल्ड्रेनमा महिला हिंसा विरुद्धको अभियानमा काम गर्न पाउनु मेरा लागि हिंसाले जुराएको अवसर ठान्छु।’ 

काम गर्ने दौरान हिंसा सहेर चुपचाप बसिरहने महिला भेटेको उनी बताउँछिन् । ती महिला भेट्दा आफूले पाएको पीडा सम्झिने गरेको उनले सुनाइन्। 

सेभमै काम गर्दा मैले पहिलो पटक साइकल किने । ‘फिल्डमा जान सजिलो होला भनेर साइकल किनेकी थिएँ । उल्टो दुःख पाएँ,’ उनले सुनाइने, ‘फलानोको बुहारी साइकल चलाउन थाल्यो, बिीग्रयो भन्दै गाउँसमाजले कुरा काट्न थाले ।’ त्यसपछि साइकल चलाउन छाडेको उनले सुनाइन्। 
०००

कुरा काट्ने धेरै हौसला बढाउने थोरै थिए । तर, पनि उनले हरेस खाइनन् । आत्मबल र मेहेनतलाई अडिग राखेर कर्मपथमा निरन्तर अघि बढिरहिन्, उनी । लगनका साथ मेहेनेत गर्ने उनलाई थोरै समयमा सबैले रुचाउन थाले । समाजदेखि अफिससम्म सबैतिर देवकुमारीको हाइहाइ हुन थाल्यो।
०००

अपमानित गर्ने, निरुत्साहित गर्ने कुरा काट्नेहरूको संख्या समाजमा घट्दै गयो । उनको प्रशंसक बढ्दै गए । त्यहिँ भएर होला ०५४ सालको स्थानीय निकाय निर्वाचनमा उनलाई महिला सदस्यको रूपमा समाजले उम्मेदवार बनायो । त्यो बेलासम्म एसएलसी पढेका मधेसी दलित महिला नगन्य थिए । उनले सहजै चुनाव जितिन् । चुनाव जितेपछि उनले महिलाहरू बैठकमा नजाने परम्परालाई मात्र तोडिनन्, महिलालाई सम्मानजनक हैसियत पनि दिलाइन् । सबै बैठकमा महिलाको गणपुरक उपस्थिति गराएर महिला सशक्तीकरणका लागि कार्यक्रम विनियोजन गर्न लगाइन् । जसका कारण उनी अगुवा पुरुषहरूको तारो बनिन् । उनलाई धेरै पुरुष अगुवाहरू निरुत्साहित गर्न धेरै कसरत गरे । तर, उनले हौसला गुमाइनन्।

जनप्रतिनिधि भएकै बेला ०५७ सालमा उनी ओरेक नेपालबाट महिला सशक्तीकरणका लागि प्रशिक्षक तालिममा छनोट भइन् । त्यो बेला उनको काखे छोरा तीन महिनाको थियो । काखे छोरालाई च्यापेर उनले तालिममा सहभागी भइन् । तालिममा कुशल प्रदर्शन गरेकी उनलाई बाँकी २६ गाविसका महिला जनप्रतिनिधिलाई सशक्तीकरणको तालिम दिने अवसर जुर्यो । उनी अक्षर नचिन्ने महिलाहरूका लागि प्रौढ कक्षा सञ्चालन गरेर अक्षर चिन्न मद्दत गरिन् । त्यो बेला गाविसहरूबाट महिला साक्षरताका लागि बजेट विनियोजन गर्न लगाएर प्रौढ कक्षा सञ्चालन गरेको उनी सम्झन्छिन् । विपन्न महिलाहरूका लागि सुत्केरी हुँदा पोषकतत्व खान पोषण भत्ताको समेत व्यवस्था गर्न लगाइन् । आफूले भोगेको जस्तो पीडा अरू महिलाले भोग्न नपरोस भनेर उनी महिलालाई आत्मनिर्भर बनाउनेतर्फ कसरत सुरु गरिन्। 
०००

निरक्षर महिलाहरू प्रौढ कक्षामार्फत अक्षर चिन्ने भएपछि सिलाइकटाइको तालिम ल्याइन् । सीप सिकेपछि स्वरोजगारका लागि सजिलो भयो । महिलाहरू सिलाई मेसिन किनेर स्वरोजगारमा रमाउँदै छिन् । बुहारी कमाउने भएपछि सासुससुराबाट हिंसा होइन, स्नेह पाइरहेकी छन् । ग्रामीण महिलाहरू स्वरोगारीमा लागेपछि गाउँमा उनीहरूको इज्जत पनि बढेको छ । पहिला कुरा काट्नेहरू अहिले सम्मानको नजरले हेर्छन्।
०००

‘दुःखको दिन सम्झँदा अहिले पनि आँखा भरिएर आउँछ,’ देवकुमारी भन्छिन्, ‘जबसम्म महिला आत्मनिर्भर हुँदैन, तबसम्म घरेलु हिंसाको सिकार भइरहनुपर्छ ।’ बालविवाह नभएको भए सायद आफूले यति हिंसा खप्नु नपर्ने उनी बताउँछिन् । त्यही भएर उनी अहिले दाइजो र बालविवाहविरुद्ध अभियन्ताको रूपमा काम गर्दै छिन् । मैले बाल उमेरमा विवाह गर्दा भोगेको पीडा पाएको प्रताडना अरु महिलाले भोग्न नपरोस् भनेर अभियान चलाउँदै छु । गाउँगाउँमा महिला समूह गठन भएको छ । जसले गाउँमा उमेर नपुग्दै हुने विवाह रोक्ने काम गर्छ । उक्त समूहले घरका अभिभावकलाई वालविवाहका कारण महिलामा हुने समस्याहरूको बारेमा जानकारी गराउँछ । यसले बालविवाह रोक्न मद्दत पुग्ने उनको बुझाइ छ। 

स्थानीय तहमार्फत् बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न दबाब दिएर नियन्त्रण गर्ने जस्ता अभियान गाउँगाउँमा सञ्चालित छ।

यो महिला समूह गाउँघरमा हुने महिला हिंसाका घटना पत्ता लगाउने र त्यसको कानुनी उपचारका लागि पैरवी गर्ने काम गरिरहेको छ। 
०००

घरमै दबाएर राखिएको महिला हिंसाको घटना बाहिर ल्याउनु सजिलो भने छैन । धाकधम्कीदेखि ज्यानै मार्नेसम्मको चुनौती खपेर पनि हिंसा पीडित महिलाको पक्षमा पैरवीलाई निरन्तरता दिइरह्नु सबैको बसमा हुँदैन । बलियाहरूले गरेको अपराधमाथिको पर्दा उघार्दा त झन् कती खतरा खप्नुपर्छ, यसको उनी आफै भुक्तभोगी हुन्। 

आफन्तबाटै बलात्कारको सिकार महिलाको घटना बलजफती गाउँसमाजमै दबाउन खोजिएको देवकुमारीलाई थाहा भएछ । उनी ती महिलालाई उद्धार गरेर अस्पताल पु-याइन् । अस्पतालमा उपचार गराउन ल्याएपछि घटना प्रहरी, पत्रकारलगायत सबैको जानकारीमा आयो । प्रहरीले कानुनी कारबाही अघि बढायो । दबेको घटना उघारेको भन्दै पीडक पक्ष देवकुमारीमाथि खनिए । उनलाई ज्यान लिने गरी हमरा गरे । तर, उनी त्यो हमलाबाट ज्यान जोगाएर उम्किन सफल भइन् । त्यो बेला डा. रोणुराज भण्डारीले उनलाई नडराएर काम गर्न हौसला दिइन् । त्यसपछि उनी सम्हालेर काममा फर्किन।

त्यसपछि महिला अधिकार रक्षक सञ्जाल देशभर गठन भयो । देशभर महिला अधिकार रक्षक सञ्जाल गठन भएपछि काम गर्दा सुरक्षित महसुस हुन थालेको उनी सुनाउँछिन्।

पहिलाको तुलनामा मधेसका महिलाहरू घर बाहिरको काममा अघि बढ्दै छन् । गाउँगाउँमा महिलाहरू स्वरोजगार हुन थालेका छन्। 

‘अहिले गाउँका महिलाहरू स्वरोजगार भई स्वतन्त्र भएको देख्दा खुसी लाग्छ,’ उनी भन्छिन् । पहिले देवकुमारीको कुरा काट्नेहरू अहिले गाह्रोसाह्रो पर्दा उनकै साथ खोज्छन् । हरेक निर्णयमा उनको सुझाव लिन्छन् । यसले उनलाई खुशी तुल्याएको छ।

देवकुमारीलाई निडर अभियन्ताको रूपमा सबैले सम्मानको नजरले हेर्छन् । बाँचुन्जेली महिला सशक्तीकरणका पक्षमा लागिरहने उनको सोच छ।

 

प्रकाशित: १३ आश्विन २०७५ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App