१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रिविमा भाँडभैलो : भागबन्डा नमिल्दा तीन महिने नियुक्ति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका दर्जनजति आंगिक क्याम्पसमा असारदेखि प्रमुख पद खाली भए पनि राजनीतिक भागबन्डा नमिल्दा पूर्णकालीन नियुक्ति हुन सकेको छैन। अनुसन्धान निकाय प्रमुख र डिनमा पनि तीन महिने नियुक्ति गरिएको छ।

विश्वविद्यालयमा दलैपिच्छेका प्राध्यापक संगठनले भाग दाबी गर्दा  पूर्णकालीन नियुक्तिमा समस्या भएको हो। प्राध्यापक संघसंगठनबीच कुरा नमिल्दा उपकुलपतिले आफ्नो अधिकार प्रयोग गरी तीन महिने नियुक्ति गर्दै आएका छन्। तीन महिने नियुक्ति 'कामचलाउ' जस्तै हो। टालटुले यो नीतिले अनुसन्धान निकाय, डिन कार्यालय र आंगिक क्याम्पस चुस्त व्यवस्थापनमा बाधा पुगेको प्राध्यापक बताउँछन्।

चार वर्षे कार्यावधि हुने क्याम्पस प्रमुख शिक्षाध्यक्षको सिफारिसमा त्रिवि कार्यकारी परिषद्ले नियुक्ति गर्नुपर्ने नियम छ। तर, राजनीतिका भागबन्डा नमिलेकै कारण उपकुलपति तीर्थ खनियाले तीन महिने कार्यअवधि तोकेर नियुक्ति गरिरहेका छन्। त्रिवि उपकुलपति कार्यालयका शाखा अधिकृत इन्द्रेशकुमार ठाकुरले उपलब्ध गराएको तथ्यांक अनुसार उपकुलपतिले नौवटा आंगिक क्याम्पसमा तीन महिने प्रमुख नियुक्त गरेका छन्।

भक्तपुर बहुमुखी क्याम्पसमा प्रमुखको पद भदौ ११ मा खाली भयो। भोलिपल्टै उपकुलपति खनियाले आफ्नो अधिकार प्रयोग गरी तीन महिनाका लागि प्रमुख नियुक्त गरे। बल्खुस्थित जनप्रशासन क्याम्पस प्रमुखमा पनि उपकुलपतिले साउन ६ गते टेकनाथ खनाललाई तीन महिनाका लागि नियुक्त गरे। ताहाचलको महेन्द्ररत्न क्याम्पस प्रमुखमा अनुपकुमार उपाध्यायलाई असार १६ मा तीन महिनाका लागि नियुक्त गरिएको थियो। उनको तीन महिने म्याद असोज १६ मा सकिन्छ। पद्मकन्या बहुमुखी क्याम्पसमा रेनुका जोशीले असार ६ गतेदेखि तीनमहिने प्रमुखको जिम्मेवारी समाल्दै आएकी छन्।

उपत्यकाबाहिरका आंगिक क्याम्पसमा पनि सहमति नभएको भन्दै यसैगरी तीन महिने प्रमुख नियुक्त भइरहेका छन्। विराटनगरस्थित महेन्द्र मोरङ आदर्श क्याम्पसमा साउन ३१ देखि तीन महिनाका लागि भनेर महेन्द्रनारायण यादवलाई प्रमुख तोकिएको छ। भोजपुर बहुमुखी क्याम्पस प्रमुखमा रोहितकुमार श्रेष्ठले भदौ २९ देखि तीनमहिने नियुक्ति पाएका छन्।

अधिकृत यादवका अनुसार भैरहवा बहुमुखी क्याम्पस प्रमुखमा भदौ १३ देखि लागू हुनेगरी सुदर्शनप्रसाद नेपाललाई तीनमहिने नियुक्ति दिइएको छ। धौलागिरि बहुमुखी क्याम्पस प्रमुखमा पनि यस्तै नियुक्ति भएको छ।

यसैगरी चिकित्सा शास्त्र अध्ययन संस्थान, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्था र  शिक्षाशास्त्र संकायमा डिन पद खाली छ। यी निकायमा पनि उपकुलपति खनियाले तीन महिने डिन नियुक्त गरेर विश्वविद्यालय चलाउने योजना बनाएका छन्।

यसैगरी असोज २ गते व्यवस्थापन र मानविकी संकाय डिनविहीन भएको छ। उपकुलपति खनियाँले मानविकीमा भने चिन्तामणि पोखरेललाई नै असोज ३ गतेदेखि लागू हुने गरी तीन महिने डिन नियुक्ति गरेका छन्।

पूर्णकालीन डिन नियुक्ति गर्न त्रिवि कार्यकारी परिषद्ले छनोट समिति गठन गरी तीन जनाको नाम सिफारिस गर्नुपर्छ। तीमध्ये एक जना छनोट गर्नुपर्ने हो। तर, हालसम्म डिन छनोट समिति नै गठन भएको छैन।

'डिन छनोट समिति पनि प्रमुख दलको प्रतिनिधि हुनुपर्छ।  दलहरूबीचै भागबन्डाको खेल नमिलेकाले बनाउन सकेको छैन,' त्रिविकै एक डिनले भने, 'त्रिवि भागबन्डामा चलेकाले भाँडभैलो भएको हो।'

सहमतिमा विभिन्न निकायमा पूर्णकालीन नियुक्ति नगरी कामचलाउ गर्दा व्यवस्थापन पक्ष लथालिंग बनेको एमालेनिकट नेपाल प्रगतिशील प्राध्यपाक संगठनका अध्यक्ष यादव लामिछानेले बताए।

लामिछानेले आफ्नो संगठनका तर्फबाट उपकुलपति कार्यालयमा क्याम्पस प्रमुखको नामावली पठाइसके पनि उपकुलपति खनियाले चार वर्षे नियुक्तिको साटो आफूखुसी तीन महिने नियुक्ति दिँदै हिँडेको आरोप लगाए। उनका अनुसार एमालेका भागमा परेका क्याम्पसमा पनि उपकुलपतिले नेपाली कांग्रेस समर्थकलाई तीन महिने प्रमुख तोकेका छन्।

'बागलुङको धौलागिरि क्याम्पसको प्रमुख विगतदेखि नै एमालेको भागमा रहँदै आएको हो  तर  उपकुलपति खनियाले आफ्नो प्रभुŒव देखाउन कांग्रेस समर्थकलाई तीन महिने प्रमुखको नियुक्ति दिएका छन्,' लामिछानेले भने, 'तीन महिने प्रमुख कामचलाउ मात्र भएकाले अन्योलमा छन्, उनीहरूले भावी योजना बनाउन सकेका छैनन्, क्याम्पसलाई लगाम दिन पनि सकेका छैनन्।' उनले थपे, 'तीन महिने प्रमुखलाई शिक्षक, कर्मचारी र विद्यार्थीलेसमेत नटेर्दा क्याम्पस व्यवस्थापन कमजोर र भाँडभैलो हुँदै गएको पाइएको छ।'

लामिछानेका अनुसार त्रिविका ६० वटा आंगिक  क्याम्पसमध्ये २२ नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्रध्यापक संघ, २० एमाले निकट प्रगतिशील प्रध्यापक संगठन र १८ माओवादी निकट नेपाल राष्ट्रिय प्रध्यापक संगठनको भागमा पारिएको छ।

माओवादी निकट नेपाल राष्ट्रिय प्रध्यापक संगठनका सचिव पूर्ण लामिछानेले आफ्नो संगठनले आफ्नो भागमा परेका क्याम्पसमा प्रमुख र डिनमा नियुक्तिका लागि नाम सिफारिस गर्न छलफल थालेको बताए। उनले पनि तीन महिने प्रमुख नियुक्तिले शैक्षिक निकाय अस्तव्यस्त बनेको जनाए। 

'भागबन्डाले त्रिविलाई राम्रो गर्दैन, यो परिपाटीले समग्र उच्च शिक्षालाई नै खलबलाएको पाएको छु ,' सचिव लामिछानेले भने, 'भागबन्डाकै नाममा उच्चशिक्षाको स्तर खस्काउनु विश्वविद्यालयको अहित हो।' क्याम्पसहरूमा योग्यलाई लत्याएर दलीय आधारमा नियुक्ति गरिँदा रातदिन पठनपाठनमा खटिने प्राध्यापकहरूको मनोबल गिर्ने उनी बताउँछन्।

त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले विभिन्न दल निकट प्रध्यापक संगठनहरूले नाम सिफारिस गर्दा योग्यता, क्षमता र दक्षता र वरिष्ठताभन्दा पनि आसेपासे तथा नातेदारहरूको पोको (नाम) बुझाएकाले डिन र क्याम्पस प्रमुख नियुक्तिमा चुनौती थपिएको प्रस्ट पारिन्। 'दल निकट प्रध्यापक संगठनहरूले भाइभारदार, नातेदार र नेता नजिकैका कार्यकर्ताकोे नाम पो सिफारिस गरेका रहेछन्,' शिक्षाध्यक्ष त्रिपाठीले खुलाइन्, 'हामीले नाममाथि छानबिन गर्दा उपयुक्त नदेखिएकाले तीन महिने नियुक्ति दिनु परेको हो।' उनले थपिन्, 'त्रिविले अब डिनमा नियुक्ति गार्दा न्यूनतम पिएचडीसहितका योग्यता आधार तयार पार्दै छ। त्यही आधारमा डिन नियुक्ति हुन्छ।' क्याम्पस प्रमुखमा आधार बनाएर नियुक्ति गर्ने तयारी रहेको उनले बताइन्। 'डिन र कलेज प्रमुखको नियुक्तिका लागि रातदिन दलका नेताहरूको दबाब खेपिनसक्नु आएको छ,' उनले भनिन्, 'अब त्रिविको गरिमा कायम राख्न मापदण्ड बनाएर अघि बढ्छौं।'

प्रकाशित: ४ आश्विन २०७३ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App