१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘चाडपर्वमा हतार, अरु बेला गुपचुप’

धादिङबेसीमा गरिएको बजार अनुगमन ।     तस्बिरः सरिता/नागरिक

धादिङ – चाडपर्व नजिकिएको छ । बजारभाउ आकाशिएको छ । होटल, व्यवसायले लुट मच्चाइरहेका छन् । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ताको ढाड सेकाइरहेको छ । खाद्यान्नमा मिसावट र उपभोक्ता ठगी हुने गुनासो बारम्बार आइरहेका छन्।

तर पनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला सरकारी निकाय दसैंतिहारको मौका कुरेर बसिरहन्छन् । चाडपर्व नजिकिँदै जाँदा सरकारी निकाय बजार अनुगमनमा सक्रिय देखिन थालेका छन् । कालोबजारी तथा उपभोक्ता ठगी उन्मुलन गर्ने निहुँमा मन्त्रीदेखि तल्लो निकायका कर्मचारीको गोजी भर्ने काम गरेको आरोप लाग्ने गरेको छ।

धादिङमा पनि प्रत्येक वर्ष त्यहि क्रम दोहोरिने गरेको छ । विगतमा जस्तै चाडपर्वका मुखमा आएर बजार अनुगमन हुने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ । विशेषगरी दसैं, तिहार, छठ जस्ता ठूला चाडपर्वको समयमा मात्र अनुगमन हुने र त्यसपछिको समयमा खासै अनुगमन नहुने क्रम दोहोरिएको छ । जिल्ला प्रशासन धादिङको टोलीले धादिङबेसी बजारका विभिन्न पसलमा अनुगमन गरेका छन् । बजार क्षेत्रमा सञ्चालित मासु पसल, तरकारी पसल, सञ्चालनमा रहेका होटल, व्यवसाय तथा सवारी साधनमा समेत अनगुमन गरे। 

विशेषगरी उपभोग्य वस्तुको कृत्रिम अभाव, अतिशय आर्थिक मोह र खर्चिलो संस्कारको दबाब र प्रभाव, माफिया प्रवृति आदि कारणले उपभोक्ता महंगीको मारमा परेका छन् । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले भने नियमित बजार अनुगमन गरिएको बताए । चाडपर्वमा अत्याधिक महंगी हुने र उपभोक्ता मारमा पर्ने भएकाले पनि यस समयमा विशेष जोड दिएर अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । ‘धादिङबेसी र बजार क्षेत्रमा हामीले नियमित रुपमा अनुगमन गर्ने गरेका छौं,’ पाण्डेयले भने, ‘चाडपर्वको समयमा उपभोक्ताहरुले दैनिक उपभोग्य सामान किन्दा कोही पनि नठगिउन भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता पारिएको हो ।’ पाण्डेयले अनुगमन कार्य चाडपर्वको समयमा मात्र नभई जुनसुकै समयमा पनि निरन्तर रुपमा प्रशासनले गरिरहेको बताए। 

गत वर्ष पनि दसैंको मुखमा केन्द्रबाट नै आएर मन्त्रीले अनुगमन गरेका थिए । राजमार्ग क्षेत्र र बजार क्षेत्रमा अनुगमनका क्रममा होटलमा मूल्यसूची नराखेको, सरसफाइमा ध्यान नदिएको तथा मनपरी मूल्य लिएको भेटिएको थियो । अनुगमनको बाटोलाई निरन्तरतामा लैजादै, दसैं तिहार तथा मौसमी अनुगमन मात्र नभई सधैंभरी यसलाई निरन्तरता दिने बताएका थिए । मासु पसल तथा होटलमा फोहोर तथा गुणस्तर कम भएको भन्दै यसलाई कडाइका साथ अनुगमन गरी व्यापारीलाई करको दायरामा ल्याउन निर्देशन पनि दिएका थिए । तर उपलब्धि शून्य देखियो । यसपालि पनि उहि क्रम देखिएको छ। 

बजार क्षेत्रमा अनुगमनका क्रममा सञ्चालित व्यापारीले मूल्य बढी लिएको, कर छली गरेको पाइएको छ । उनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने अनुगमनको टोलीको भनाइ छ । तर, अघिल्ला वर्ष पनि उस्तै समस्या आउने र कारबाही गरिने भनेर छाडिने गरेको उदाहरण प्रशस्त छन् । नीतिनियम कार्यान्वयनको पाटो यति फितलो छ कि फेला परेका व्यापारीलाई सामान्य रूपमा सचेत तथा जरिवाना गराई छाडिने गरेको छ । एक साताअघिमात्र वाणिज्य तथा आपूर्ति मन्त्रालयले धादिङबेसीका औषधि पसल अनुगमन गरेका थिए । अनुगमनका क्रममा औषधि जस्तो संवेदनशील वस्तु म्याद नाघेको तथा सरसफाइ नगरेको भेटिएको थियो । चाडपर्वको समयमा मात्रै गरिने यस्ता हतारो अनुगमनले अन्य समयमा उपभोक्ताको ढाड सेकाइरहेको हुन्छ। 

चाडपर्वको मौका छोपेर विशेष त पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लामा सञ्चालित होटलले खाना र खाजाको मूल्य बढी लिने गरेको गुनासो यात्रुले गर्दै आइरहेका छन् । बढी नै मूल्य तिरे पनि यात्रुले स्वच्छ, ताजा र गुणस्तरीय खाजा तथा खाना खान पाएका छैनन् । होटल व्यवसायीको मनपरी बढ्दै गएको आवाज गुन्जिरहेको छ । राजमार्गको होटलमा गाडी रोक्छन् । प्यास लाग्छ पानी खानै पर्याे, २० रुपैयाँको पानीलाई ४० रुपैयाँ लिन्छन् । ८० को रेड बुललाई एक सय ५० लिन्छन्, खाना, खाजाको पनि उस्तै महंगी छ।

अनुगमन गर्ने क्रममा टोलीले अनुगमन गर्ने प्रविधि तथा मापनयन्त्र समेत ल्याउने गरेको हुँदैन । एक व्यापारीले अर्को व्यापारीलाई अनुगमन गर्न टोली आउँदैछ भन्ने सन्देश प्रवाह गर्दा अनुगमन कार्य फितलो भएको देखिन्छ । अनुगमन टोली आउँदै छन् भन्ने सुइको पाउनासाथ व्यापारी पनि ढोका थुनेर बस्ने गर्छन् । स्थानीय प्रशासन तथा केन्द्रीय टोलीले हरेक वर्ष राजमार्ग क्षेत्रका होटलमा अनुगमन गर्ने गरेको छ । तर, त्यसको प्रगति शुन्य देखिएको छ । राजमार्ग हुँदै मन्त्री, नेता, सर्वसाधारण हरेक व्यक्ति हिँड्छन् तर, त्यसको प्रवाह कसैलाई पनि परेको छैन।

चाडपर्वमा विशेष गरेर महंगी ह्वात्त बढ्ने गरेको छ । जसको सिकार आमउपभोक्ता नै हुने गरेका छन् । प्रत्येक वर्ष चाडपर्वमा व्यापारीले चौथी हान्ने गर्छन् । सडकदेखि सदनसम्म, खेतको आलीदेखि थालीसम्म, नुनदेखि सुनसम्म, अचारदेखि घिउसम्म, पानीदेखि तेलसम्म कुनै वस्तु तथा ठाउँ चोखो भेटिँदैन । प्रत्येक वर्ष उपभोक्ता ठगिने र लुटिने क्रम बढ्दै जाँदा पनि प्रभावकारी अनुगमन र कारबाही नहुँदा ठगीमा सुधार आउन सकेको छैन । मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई जेल सजायसम्मको कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन नसक्दा यो केवल देखाउने दाँत मात्र भएको छ।

अनुगमनका क्रममा धादिङबेसीमा सञ्चालित एक होटलबाट करिब ४० लिटर घरेलु मदिरा नियन्त्रण गरिएको छ । घरेलु मदिरासहित होटल सञ्चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा समय समयमा राजमार्ग तथा बजार क्षेत्रमा अनुगमन हुँदै आइरहेको छ । अनुगमनका क्रममा राजमार्गका होटलमा सरसफाइ कम तथा मूल्यसूचि नभएको भेटिएको थियो । खाद्यमा माछामासु अति संवेदनशील मानिन्छ । चाँडै सडिने र यसैबाट अनेक रोग सर्ने भएकाले व्यवसायी र उपभोक्ता सचेत बन्न जरुरी छ। 

प्रकाशित: १२ आश्विन २०७५ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App