१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पर्दामा एकैसाथ तीन नेपाली फिल्म

काठमाडौं – फरक फरक कथाका तीन फिल्म शुक्रबारबाट हलमा प्रदर्शन हुँदैछ। काठमाडौं बाहिरबाट काठमाडौं आई संघर्षरत तीन फरक जोडी पात्रको कथा प्रस्तुत गरिएको ‘कथा काठमाडौं’, बहुपति प्रथामा आधारित फिल्म ‘छिरिङ’ र प्रेमकथाको ‘अनुराग’ले शुक्रबारबाट एकसाथ  प्रदर्शन थाल्दैछन्।

सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक संगीता श्रेष्ठको ‘डेब्यु’ निर्देशन रहेको फिल्म ‘कथा काठमाडौं’ फिल्मका कलाकारद्वय प्रियंका कार्की र प्रमोद अग्रहरीले फिल्मभित्र दिएको अन्तरंग दृश्यका कारण चर्चामा छ। फिल्मको गीत र ट्रेलरमा रहेकोे अन्तरंग दृश्यले थुपै्र सकारात्मक तथा नकारात्मक चर्चा बटुलेको थियो।

संगीताकै लेखन रहेको फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको पनि अभिनय छ । आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । फिल्ममा लुजा सिंहको छायांकन, मित्र गुरुङको सम्पादन छ।

गायक तथा नायक यश कुमार निर्देशित फिल्म ‘छिरिङ’मा निमा रुम्बा, यश कुमार र कामना भुजेलको अभिनय छ । फिल्म ‘कागवेनी’बाट अभिनयमा डेब्यु गरेका गायक निमा यही फिल्ममार्फत पुनरागमन गर्दैछन् । नायिका कामनाको यो ‘डेब्यु’ फिल्म हो।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्ममा यश र यम थापाको लेखन, मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ।

सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज हुने तेस्रो फिल्म हो ।  पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको  पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।

तीन नेपाली फिल्मसँगै यही दिन एउटा हिन्दी फिल्म पनि रिलिज हुँदैछ । बरुण धवन र अनुष्का शर्मा अभिनित ‘सुई धागा’ले पनि यही मितिबाट प्रदर्शन थाल्दैछ । यो साता हलिउड फिल्म भने नेपालमा रिलिज हुने छैनन्।

प्रकाशित: १२ आश्विन २०७५ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App