१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वन जोगाउन ग्यास वितरण

उदयपुर– दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुरको एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको छ। दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै त्रियुगा नगरपालिका १ जोगीदहस्थित रामजानकी नमुना सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको हो। 

सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई २ लाख ५२ हजार रुपैयाँ बराबरको ७२ घरधुरी उपभोक्तालाई एलपी ग्यासको सिलिण्डर वितरण गरेको समूहले जनाएको छ। समूहले आर्थिक वर्ष २०७४/७५ को आम्दानीबाट समूहभित्र रहेका दलित, एकल महिला र विपन्न ७२ घरधुरी परिवारलाई ग्यास सिलिण्डर वितरण गरेको समूहका अध्यक्ष युवराज खनालले बताए। समूहका १ सय ४० घरधुरी उपभोक्तामध्ये पहिलो चरणमा ६० र दोस्रो चरणमा ७२ घरधुरीलाई सिलिण्डर वितरण गरिएको उनले बताए। 

अध्यक्ष खनालका अनुसार वार्षिक कार्य योजनामा समेटिएका लक्षित उपभोक्तामध्ये अव अन्तिम चरणमा थप उपभोक्तालाई सिलिण्डर वितरण गरिने छ। घरायसी प्रयोजनका लागि दाउरा बाल्न रुख काट्दा वन फँडानी हुँदै आएको भन्दै समूहले कार्ययोजना बनाएर वन विनाश रोक्न लागेको हो। खासगरी गरिव, बिपन्न, दलित र एकल महिलालाई बैकल्पिक उर्जा कार्यक्रमअन्तर्गत एलपी ग्यास सिलिण्डर वितरण गरिएको हो। 

सामुदायिक वनको आम्दानीबाट प्रत्येक घरधुरीलाई १–१ वटा ग्यास चुलोसमेत बितरण गर्ने कार्यक्रम रहेको र त्यसअन्तर्गत अहिलेसम्म १ सय ३२ जनालाई ग्यास सिलिण्डरसहित चुल्होसमेत बितरण गरिएको समूहका सचिव हरेराम चौधरीले बताए। उनका अनुसार उपभोक्तालाई धुवाँमुक्त बनाउने योजना पनि यसमा समेटिएको छ। सरकारले अघि सारेको ‘धुँवामुक्त त्रियुगा नगर अभियान’ लाई सहयोग गर्न पनि ग्यास सिलिण्डर बितरण गरिएको सचिव चौधरीले बताए। 

समूहका अनुसार सो वन समूहभित्रका एक घरधुरी उपभोक्ताले वार्षिक ३० देखि ३५ भारी दाउरा खपत गर्ने गरेको तथ्यांक निस्केको छ। ‘यसरी उपभोक्ताले खपत गर्ने दाउरा भनेको वन सम्पदा मासेरै हो’ सचिव चौधरीले भने ‘यस्तै तरिकाले वन मासेर दाउरा उत्पादन गर्दै जाने हो भने त केहीवर्षभित्रै वन सकिने निश्चित भयो, त्यसैले बिकल्पमा हामीले ग्यास सिलिण्डर बितरण गरेका हौं।’ 

खाना पकाउने प्रयोग हुने दाउरा उत्पादन त्यही सामुदायिक वनक्षेत्रबाटै हुने भएकाले यसबाट वर्षेनी वन विनाश बढ्दै गएको पाएपछि रुख काट्ने काममा कमी ल्याउन ग्यास सिलिण्डर बितरण गरिएको चौधरीको भनाई छ। समूहले सिलिण्डर बितरणसँगै उपभोक्तालाई स्वरोजगार बनाएर आयआर्जन गराउने नीति पनि समूहले लिएको छ।

समूहले स्थानीय युवा र महिलालाई आयआर्जन गराएर आत्मनिर्भर बनाउने उदेश्यले वार्षिक कार्ययोजनामै ‘स्वरोजगार कार्यक्रम’ को नीति लिएको छ। सो कार्यक्रमअन्तर्गत समूहका ५ जना महिलालाई उन्नत जातको बाख्रा बितरण गरेर कृषि उद्यममा लगाइएको छ। समूहभित्र रहेका गरिव, बिपन्न, दलित र महिलालाई उद्यम व्यवसायमा लगाएर आयआर्जन गराउने उद्देश्यले उन्नतजातका बाख्रा बितरण गरिएको सचिव चौधरीले बताए।

प्रकाशित: ११ आश्विन २०७५ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App