१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

राजतन्त्रीय शासनविरुद्ध ‘जालिनी’

काठमाडौं – राजाका थरीथरीका मूर्ति बेच्न बसेकी जलजला नाटक ‘जालिनी’की एक वृद्धा पात्र हुन् । राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकमा उनी राजतन्त्र, शोषक र सामन्तकाविरुद्ध आवाज उठाउने एक खरो पात्रका रुपमा उपस्थित छिन् । नाटकमा चार पर्खाल भित्र मात्र सीमित रहेकी राजकुमारीको लालनपालन, अन्य पुरुषलाई हेर्न नहुने नियमले वर्तमान पितृ सत्तात्मक सोचयुक्त समाजको चित्रण गरेको छ। 

पुरुषवादी सोचले राज गरेको समाज र कानुनविरुद्ध नाटकमा अर्का पात्र जयनले आफ्नो बुबा जयस्थितिको धारणा विपरित उभिएको देखाइएको छ । राज्यमा चलाइएकोे दासत्व, कडा नीति र नियमलाई तोड्नको लागि जागेको मनोभावना दबाउन सजाएको तत्कालीन अवस्थालाई नाटकले चित्रण गरेको छ । अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध बोल्नेलाई सजाय दिएर नै आवाज दबाउन सकिन्छ वा दबाउनु पर्छ भन्ने सोच परापूर्वकालदेखि नै चलिआएको कुरालाई नाटकमा देखाइएको छ।

जलजलाका छोरा जयनले राज्यकै गरिब विद्रोहीको प्रतिनिधित्व गरेका छन् । उनी साहसी र हिम्मतिला छन् । जयनको बहादुरीपन र पहिलो पटक आफ्नो बुबाभन्दा अर्को परपुरुषलाई देखेकी जालिनी जयनको प्रेममा पर्छिन् । नाटकको अन्त्यमा जालिनीको प्रेम र राजाको दम्भका बीच जालिनीको प्रेमले जितेको देखाइएको छ । क्रुर सीमा र परिधिबिच आफ्नो प्रेम दर्शाउने हिम्मत जुटाएकी जालिनीले अन्त्यमा राजाको क्रुर नीति नियममा नैै परिवर्तन ल्याउँछिन्।

कथाकार ध्रुवसत्य परियारद्वारा लिखित यो नाटकमा कलाकार दयाहाङ राईको निर्देशन छ । परियारको कथा संग्रह ‘कैरन’मा समावेश गरिएको लोक कथा शैलीको ‘जालिनी’लाई नाटकमा रुपान्तरण गरिएको हो।

नाटकमा राजारानी, राजकुमार, राजकुमारी, वीरवीरंगना, बुद्धिमान महिला, वृद्धवृद्धा र चतुर बालबालिकाको कथालाई समेटिएको छ । समाजको विकृत परिवेश, राज्य व्यवस्थाका कुटनीति, राज्य भित्र र बाहिरका नीति, अलौकिक पात्र, मान्छेले बनाएका अन्धविश्वास र मिथलाई पनि नाटकमा प्रस्तुत गरिएको छ । कथाकार परियारले कथा ‘जालिनी’ मार्फत तत्कालीन राज्य व्यवस्थाले महिलामाथि लादेको सामन्ती शासन, महिला स्वतन्त्रता, महिलालाई पितृसत्ताको दमनले नराम्रोसँग जकडिएको लगायतका विषयलाई चित्रण गरेका छन्। 

नाटकमा सिर्जना सुब्बा, विजय बराल, विनिता गुरुङ, इँगिहोपो कोइँच सुनुवार, पुष्कर कार्की, सागर दाहाल, विकास पन्त, सञ्जिव राई, दिपक पछलदँँग्या, प्रमिला खनाल, सकु शाह, सुदिप खतिवडा, विक्रम श्रेष्ठ, रिजन परियार, कविराज राई, सबिन घलान, देविन चौधरीको अभिनय छ । नाटक असोज २१ गतेसम्म मञ्चन हुनेछ।

 

प्रकाशित: ११ आश्विन २०७५ ००:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App