१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिपक्षी सांसद भन्छन् : अपराध र भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल

फाइल तस्बिर

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सर्वाधिक स्वतन्त्र सर्वदलीय संसदीय छानविन समिति गठन गर्न माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले अपराध र भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको भन्दै तत्काल संसदीय समिति गठन गर्न माग गरेका हुन्।

‘नयाँ सरकार आएदेखि हत्या हिंसा बढेको छ, सुशासनका नाममा भ्रष्टाचार बढेको छ। निर्मला पन्त, निरुदेवी पाल, सम्झना दासको मुद्दामा सरकार मुकदर्शक बनेको छ। कञ्चनपुरकी नानी निर्मला र माननीय दुईटैको सत्य तथ्य अझै बाहिर आउन सकेन। एसिड आक्रमणमा परेकी सम्झना दासलाई सरकारले एक रुपैयाँ उपचार खर्च दिएन, उनले ज्यान नै गुमाउनुपर्यो’, उनले सभामुखको ध्यानाकर्षण गराउँदै भने, ‘सरकार यसरी गैरजिम्मेवार भइरहँदा संसद सुरु भएदेखि अहिलेसम्म एउटा पनि संसदीय समिति बनेन, यसको कारण के हो?’

उनले पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीले गरेको भनिएको भ्रष्टाचारको छानविनको लागि संसदीय समिति बनाउन माग समेत गरे। ‘सेना प्रमुखले गरेको भ्रष्टाचारको छानविनको लागि संसदीय समिति बन्नुपर्छ’, उनले भने।

सरकार विचौलियाले चलाइरहेको भन्दै कांग्रेस केन्द्रीय सदस्य सिंहले भने, ‘विचौलियाले चिनीको भाउ बढाउँछ। हरेक क्षेत्रको भाडा बढाउँछ, यातायात भाडा बढ्छ। सरकारका प्रधानमन्त्री मन्त्रीले जनताको माग छाडेर विदेश भ्रमण गर्ने, गाडी किन्ने, आसोपासेलाई जागिर दिने विकृति अन्त्य गर्नुपर्छ।’

सरकारले एकातिर भ्रष्टाचार गर्ने र अर्को सुशासनको कुरा गरेर दोहोरो चरित्र देखाएको भन्दै उनले चिकित्सा शिक्षा विधेयक ल्याएर मात्र संसद बन्द गर्न माग गरे। ‘जनताको आवाज बोक्ने गोविन्द केसीसँग गरेको सहमति कार्यान्वयन होस’, उनले भने।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद अधिवेशन टुंग्याएर विधेयक ल्याउने निरंकुश काम नगर्न सरकारसँग माग गरे। उनले निर्मला पन्तको छानविन प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ, के अर्को दुई महिना लाग्छ? भनी प्रश्न गरे। गृहमन्त्रीले संसदमा सुन तस्करीका ठूला माछा, ठूला ठेकेदार र घरबेटी ठेकेदारलाई कारवाही हुन्छ भनेको स्मरण गराउँदै भने, ‘खै अहिलेसम्म ठूला

माछा पक्राउ परेन, ठेकेदार पक्राउ परेनन। नेपाली भूमि अतिक्रमण भइरहेको छ। कुटनीतिक तवरबाट सीमा नियमित गर्ने काम किन गर्दैनन्?’

सांसद हृदेयश त्रिपाठीले सरकार चिनी मिलको चक्रव्यूहमा फसेको आरोप लगाए। ‘उखु कृषकलाई भुक्तानीको नाममा सरकारले आयातमा प्रतिबन्ध लगाउँदा बजारमा चिनी छोइनसक्नु छ। चिनीको मूल्य ८० सम्म पुग्ने अनुमान गरेको थिए। ८५/९० पुगिसक्यो। चिनी माफियाले सगौरव एक सय पुग्छ भनिरहेका छन्।’

 

प्रकाशित: १० आश्विन २०७५ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App