१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चिकित्सक नहुँदा जिल्ला अस्पताल आफै ‘बिरामी’

सदरमुकाम धादिङबेसीमा रहेको जिल्ला अस्पताल धादिङमा सेवा लिदै बिरामीहरू । तस्बिर : सरिता/नागरिक

धादिङ – नीलकण्ठ नगरपालिका –४ की ६ महिनाकी गर्भवती सेतीमाया राना भिडियो एक्सरे गराउन जिल्ला अस्पतालमा आइन्। तर अस्पतालको ढोकैमा भिडियो एक्सरे सेवा बन्द भएको सुचना देखेपछि निराश बनिन्। भिडियो एक्सरे सेवा किन बन्द भनेर बुझ्दा अस्पतालमा चिकित्सक नभएको जानकारी पाइन्। ‘आफ्नो र पेटमा भएको बच्चाको अवस्थाबारे भिडियो एक्सरे सेवा लिन आएकी थिए’, रानाले भनिन्, ‘अस्पताल आउँदा सेवा बन्द भनेर लेखिएको छ।’ सेवा नपाएपछि सेतीमाया निराश हुँदै फर्किइन्।  

गर्भवती महिलाहरूले ४ महिना, ६ महिना र ८ महिनामा भिडियो एक्सरे गर्नुपर्ने हुन्छ। जिल्ला अस्पतालबाट मात्रै प्रदान हुँदै आएको भिडियो एक्सरे सेवा नै बन्द हुँदा राना जस्तै गर्भवती महिला सेवा लिनबाट बञ्चित हुनु परेको छ। टाढा–टाढाबाट स्वास्थ्य सेवा लिन भनेर सदरमुकाम आएका बिरामीहरू नै स्वास्थ्य सेवा नपाएपछि कतिपयले हैरानी बेहोर्नु परेको छ। चिकित्सकहरू नहुँदा गम्भीर प्रकृतिका बिरामी तथा अप्रेशन गर्नुपर्ने बिरामीहरू राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता रहेको छ।

पछिल्लो ३ महिना यता जिल्ला अस्पतालमा भिडियो एक्सरे सेवा बन्द छ।  चिकित्सक नभएकै कारण नेपाल सरकारबाट स्वीकृत भइ संचालनमा रहेको अप्रेशन सहितको प्रसूति सेवा बन्द हुँदा गर्भवतीको नियमित जाँच र बिरामीको उपचारमा कठिनाई भएको छ। बर्खामा जसोतसो ग्रामीण भेगबाट सेवा लिन सदरमुकाम झरेपनि उचित सेवा लिन नपाएको रानाले गुनासो गरिन्। ‘ग्रामीण क्षेत्रमा चिकित्सक नभएर सदरमुकाममा झरेका हुन्छौँ’, रानाले भनिन्, ‘सदरमुकामकै जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवा नै बन्द हुँदा हामी जस्ता बिरामी मारमा परेका छौँ।’ 

अस्पतालमा न चिकित्सक छ, न उपकरण नै। अलिकति जटिल प्रकृतिको केस आउने बित्तिकै रेफर गरिहाल्नुपर्ने बाध्यता रहेको छ। अस्पताल विकास समितिको पदावधी सकिएर बिदाइ हुँदा करार सेवामा राखिएका कर्मचारीको करार नविकरण हुन सकेको छैन भने ४ जना सरकारी दरबन्दी रहेकोमा एक जना मात्रै चिकित्सक छन्। भएको एक जनाले पनि निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी लिएर प्रशासनिक काम गर्नुपर्ने बाध्यता आइपरेपछि जिल्ला अस्पताल धादिङवेशीबाट प्रदान गरिने बहिरङ्ग (ओपीडी) सेवा पनि प्रभावित भएको छ।

जिल्ला अस्पतालबाट दिने सामान्य सेवाहरू समेत चिकित्सक नभएकै कारण बन्द हुँदा बिरामी तथा सेवाग्राही निजी क्लिनिक तिर धाउन बाध्य भएका छन्। पर्याप्त चिकित्सक नुहँदा जिल्ला अस्पताल आँफैले संचालन गरेको विस्तारित स्वास्थ्य सेवा र कार्यालय समयमा आकस्मिक उपचार कक्षमा चिकित्सक बसेर दिने सेवा समेत प्रभावित भएको छ।

४ जना सरकारी दरबन्दी रहेकोमा एकजना मात्रै चिकित्सक छन्। जिल्ला अस्पतालको नेतृत्व गर्ने मेडिकल सुपरिटेण्डेन्ट रिक्त रहेकै २ वर्ष भइसक्दा समेत मन्त्रालय र विभागबाट चिकित्सक पठाएका छैनन्। तत्कालिन मेसु डाक्टर रसिला अमात्य सरुवा भएपछि १ वर्षसम्म नित्तिम मेसु चलाएका गौरव महतो समेत सरुवा भइसक्दा समेत सरकारी दरबन्दीको मेसु जिल्लामा हाँजिर हुन सकेको छैन। हाल जिल्ला अस्पतालममा रहेकी एक मात्रै सरकारी दरबन्दीकी चिकित्सक दीपा बोहराले नित्तिम मेसुको काम सम्हालीरहेकी छिन् भने बहिरंग सेवा ४ जना करार चिकित्सकको भरमा चलेको छ।

१५ शैयाको क्षमताको अस्पताल ५० शैैयामा स्तरोन्नतिका लागि गत २०७४ माघमा अनुमति पाएको थियो। तर सिमित स्रोत साधन र चिकित्सकको अभावले जिल्ला अस्पताल आफंै बिरामी परेको छ। १५ शैंयाको अस्पताल भएपनि अहिले त्योभन्दा बढी शैयाबाट सेवा दिइरहेको अवस्थामा पनि जिम्मेवार निकायबाट हेलचेक्राइँ हुँदा जिल्ला अस्पतालमा उपचार गराउने बिरामीहरू समस्यामा परिरहेका छन्। करार अवधि गएको असारमा सकिएपछि अस्पतालले दिने सेवा, श्रोत र साधनको अभावका कारण सेवा ठप्प भएको जिल्ला अस्पताल धादिङका प्रमुख डा.दीपा बोहराले बताइन्। ‘जिल्ला अस्पताल भनेर बिरामी र आफन्तहरू ठूलो आश र भरोसाका साथ आएका हुन्छन्, बोहराले भनिन्, ‘श्रोत र साधनको अभावका कारण चाहेर पनि सेवा दिन नसक्दा खल्लो लाग्छ।’

धादिङका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा उपचार हुन नसकेपछि थप उपचार गराउन आउने बिरामीलाई चिकित्सक नभएकै कारण अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल धादिङले जनाएको छ। गत असारदेखि प्रसूति सेवा बन्द छ, कुनै जटिल अवस्था आइपरेमा तत्काल राजधानी काठमाडौँ नै रेफर गर्नुको विकल्प नभएको बोहराले बताए। राजधानीसँग जोडिएपनि धादिङमा भने सदरमुकामकै जिल्ला अस्पतालमा चिकित्सक नहुँदा बिरामी तथा सेवाग्राहीहरू समस्यामा परेका छन्। पटक–पटक स्वास्थ्य मन्त्रालय, विभाग र क्षेत्रमा चिकित्सक नभएकाले समस्या भएको भनेर पत्र पठाएपनि मागको कुनै सुनुवाइ नभएको अस्पताल स्रोतले जानकारी दिएको छ।

प्रकाशित: १० आश्विन २०७५ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App