१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

राष्ट्रकविको राजनीति

राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष लाग्नुभएको छ । सनातन परम्परामा आशीर्वचन दिनेहरूले शतायुको कामना गरिरहेका हुन्छन् । शतायु जीवन आफैंमा अनमोल उपहार हो । सय वर्षको वयमा समेत राष्ट्रकवि घिमिरे सिर्जनामा तल्लीन हुनुहुन्छ । उहाँको वाणी जीवन्त छ । कुनै समयमा कविले लेखेको कालजयी कविता गुनगुनाउँदै कवि तीर्थराज अधिकारी भन्दै थिए : सिर्जनाशक्तिले नै राष्ट्रकविको आयु बढाइरहेको छ । सिर्जनाशक्तिका विषयमा राष्ट्रकवि लेख्नुहुन्छ :
“ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल
 सिर्जना शक्ति संसार्मा कैल्यै हुँदैन विफल”

सिर्जनाले पत्थरलाई पगाल्ने क्षमता राख्छ । सिर्जना जीवन जगत्सँग जोडिएको विषय मात्र हुँदैन कल्पनाशीलताको अनन्ततामा परिभ्रमण गर्छ र सागरको गहिराइमा समेत डुबुल्की मार्छ । भावनाको कुनै सीमा हुँदैन, कुनै बन्धन हुँदैन । राष्ट्रकवि घिमिरेले शतायु जीवनमा पुग्दा आफूलाई त्यस अनन्तताको सीमालाई नाघ्दै खुला आकाशमा विचरण गरिरहनुभएको छ । नेपाली साहित्य र सिर्जनाको क्षेत्रमा शतायु टेक्नै लाग्नुभएका अर्का महनीय व्यक्तित्व हुनुहुन्छ : सत्यमोहन जोशी । अबका आठ महिनापछि उहाँले पनि शतायु टेक्नु हुनेछ । अरू केही नेपाली साहित्यकारहरू हुनुहुन्छ जो नब्बे पार गरिसक्नु भएको छ । जीवनको अनमोल आयुलाई उहाँहरूले नेपाल र नेपालीका हितमा खर्चनुभएको छ । मदनमणि दीक्षित हामी सबैका मास्टर साहब पत्रकारिता क्षेत्र र सिर्जना क्षेत्रका समान प्रतिभा । उहाँ पनि शतायुको नजिकै हुनुहुन्छ । सायद वसन्तकुमार शर्मा नेपाल र प्राध्यापक बालकृष्ण पोख्रेल पनि बिस्तारै नब्बेको पोयामा पुग्दै हुनुहुन्छ । राजनीतिमा अलि बढी सिर्जनामा कम जस्तो देखिए पनि खनुपरुदेको नाम पनि यसमा जोडिन पुगेको छ । अरू धेरै हस्तीहरू हुनुहुन्छ आफ्नो कलाले नेपालको संस्कृतिलाई सगरमाथा जस्तो उचाइमा पु¥याइरहेका छन् । सगरमाथाको चर्चा गर्दैगर्दा राष्ट्रकवि घिमिरे लेख्नुहुन्छ :
“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे”

कति जीवन्त छ यो सिर्जना । नेपाल रहेन भने नेपालीको अस्तित्व कहाँ रहन्छ । नेपाल राष्ट्र छ र नै नेपाली छन् । राष्ट्र निर्माणलाई केन्द्रमा राखेर गरिएको यस रचनामा नेपालको स्वतन्त्रता, स्वाभिमान र नेपाली हुनुको गौरवबोध हुन्छ ।  नेपालको एकीकरण र यस पवित्र भूक्षेत्रको रक्षार्थ नेपालका अनगन्ती सपूतहरूले रगत बगाएका छन् । उनीहरूले जीवन उत्सर्ग गर्दा केवल सिंगो नेपालको कल्पना गरेका थिए । नेपाल भूमिको सुरक्षाको सपना देखेका थिए । त्यही सपनालाई शब्दमा उतार्दै राष्ट्रकविले लेख्नुभएका पंक्तिहरू हुन् यी । माधव घिमिरेको खण्डकाव्यकारिता विश्लेषण र मूल्यांकनमा शोध गर्नुभएका डा. विष्णुकुमार केसी उहाँको सिर्जनात्मकताका विषयमा लेख्छन् : माधव घिमिरेले पूर्वीय काव्यशास्त्रको मर्मलाई आत्मसात् गरी परिष्कारवादी स्वच्छन्दतावादी काव्यकलाको बेजोड संयोजन गरेका छन् । जुन बेला जातीयता र क्षेत्रीयताको सन्तुलनको प्रश्न उठ्न थालेको थियो त्यही अस्थिरताको अवस्थामा देशले बिखण्डनको बाटो पनि समाउन सक्ने स्थिति विद्यमान थियो त्यतिखेर व्यक्ति स्वार्थभन्दा माथि उठेर राष्ट्रका बारेमा सोच्नुपर्ने स्थिति टड्कारो हुँदै गएको थियो । यसै युगीन पृष्ठभूमिको संवेदनशीलताले कविलाई राष्ट्रिय अखण्डताको स्वर सुसेल्ने राष्ट्रनिर्माता खण्डकाव्यको सिर्जना भएको देखिन्छ । राष्ट्रनिर्माता नेपालको एकीकरणका महान् अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरणमा लेखिएको कृति हो । राज्यले राजनीतिक प्रणाली र राज्य संयन्त्रमार्फत देश र समाजलाई जोड्ने काम गरिरहेको हुन्छ भने सर्जकहरूले अक्षरमार्फत, शब्दमार्फत, भावना र संवेदनामार्फत राष्ट्र र समुदायलाई जोड्ने काम गरिरहेका हुन्छन् । सर्जकहरूको स्पन्दन राष्ट्र र राष्ट्रवासीहरूका लागि समर्पित भइरहेको हुन्छ।

अराजकतामार्फत प्रतिक्रान्ति, विखण्डन, विभाजन अनेक योजनाका भ्रूणहरू नेपाली माटोमा रोप्ने प्रयास भइरहेको छ।

नेपाल अहिले संघीय गणतन्त्रमा प्रवेश गरेको छ । हामी प्रयोगको अत्यन्त बालचरणमा छौँ, अनेकौँ समस्याहरू यस बेला हुन सक्छन् । यतिखेर संघ र प्रदेश अनि स्थानीय सरकार बीचका सम्बन्ध सेतुहरूको निर्माण र स्पष्ट व्याख्या भइनसकेको अवस्था छ । अनेक जटिलताहरू देखिएका छन् । संघीयता देश र जनतालाई भावनात्मक रूपमा जोड्नका लागि नै हुनुपर्छ । तर संघीयताका आडमा अराजकताले ठाउँ लिन लाग्यो भने देशको अस्मिता टुक्रिन सक्छ, समाज अराजक भीडमा परिणत भएर द्वेष, कलह र प्रतिशोधको सिकार हुनपुग्छ । धेरै देशहरू युद्ध विभीषिकाको भयानकता व्यहोरिरहेका छन् । मानिसहरूका लागि निरन्तर राज्य र समाज वधशालामा अनूदित हुँदैछन् । सत्ताको महत्वाकांक्षादेखि अन्तर्राष्ट्रिय स्वार्थहरूको व्यूहमा परेपछि सामाजिक न्याय, सद्भाव, सहिष्णुता सबै कैदमा पर्छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि नेपालमा सद्भाव, एकता, सहिष्णुता, राजनीतिक स्थायित्व र विकासका पक्षहरू गौण हुँदै गएका छन् । असोज तीन गते सिंगो देशले संविधान दिवस मनाइरहँदा एकथरीले यो दिनलाई कालो दिवसका रूपमा मनाए । जो प्रदेश सरकारमा छन् र जसले संघीय सरकारको हिस्सा भएर काम गरिरहेका छन् तिनीहरू प्रमुखरूपमा संविधानविरुद्ध उभिएका छन् । गरिब नेपालीले तिरेको करबाट अनेक सुविधा लिइरहेकाहरूले ती दरिद्र नेपालीहरूको शान्ति, विकास र समृद्धिका चाहनामाथि वज्रपात गराउँदै सडकमा संविधान जलाउने, गाउँगाउँ पुगेर कालो झन्डा फहराउने काम गरे । राजनीतिक बेइमानकिो यो सर्वाधिक अशोभनीय, निकृष्ट र अनैतिक चरित्र हो । बिस्तारै भौगोलिक सुरक्षाका लागि एकीकरणको सान्दर्भिकतालाई अन्त्य गर्ने र संघीयतालाई विफल पार्ने वा राष्ट्रलाई नै विखण्डन गर्ने अन्तर्निहित मनसाय कालो दिवसको प्रायोजनमा देखिन्छ । नेपाल देश होइन मधेस हाम्रो देश हो भन्ने नारा लाग्नु, त्यस्तै खाले प्लाकार्ड र ब्यानरहरू प्रदर्शित हुनु, मन्त्री र मुख्यमन्त्रीहरू नै त्यस्ता जुलुसमा सहभागी हुनुले यस भनाइलाई पुष्टि गरिरहेको स्पष्ट छ । सायद यस्तै कुनै सम्भावनालाई प्राक्कल्पना गर्दै राष्ट्रकवि घिमिरेले चुनौतीका साथ लेखेका छन् :
 “खेलेर ऐरा मृग एक मारी
बाँडी कलेजो जति छन् सिकारी
 बिलो उनेझैँ शिरमा उनेर
 यो राज्य बाँड्ने चीज होइन हेर”

कविको कल्पना एक समय र कालमा मात्र सीमित हुँदैन । अनन्त कालसम्म यसले दृष्टिपात गरिरहेको हुन्छ । नेपाल देश होइन मधेस देश भनेर नारा लाग्दा पनि लाचार सरकारले, टुलुटुलु हेर्दै मौन बस्ने सरकारले राष्ट्रवादको नारा लगाउनुको कुनै अर्थ हुँदैन । राष्ट्रकविका यी पंक्तिहरूको पाठको स्मरण गरे मात्र पुग्छ । यसो भनेर राज्य हिंसात्मक रूपमा उत्रनुपर्छ भन्ने कुनै पनि हालतमा हुँदैन । कम्तीमा पनि राष्ट्रको एकता, अखण्डता, सार्वभोैम सर्वोच्चताको सुरक्षाका लागि देखिन लागेका चुनौतीहरूको उपचार समयमै खोज्नु जरुरी छ । नेपाल युक्रेनको क्रिमिया, श्रीलंकाको कुनै दिनको जाफ्ना वा भारतको कस्मीरको जस्तो निरन्तर हिंसाको अवस्थामा प्रवेश गर्नु हुँदैन । नेपालले जातीय रूपमा बर्माको रोहिंग्या होस् कि चीनको उइंगरको अवस्था भोग्न र थेग्न पनि सक्दैन । न्यायोचित ढंगले संविधानमा संशोधनका मुद्दाहरूमा सहमति गरी राजनीतिक समाधानको बाटो राज्यले खोज्नुपर्छ । सानो झिल्कोले अवसर पायो भने पूरा जंगल सखाप पार्नसक्छ । यसैकारण राज्य राज्यका रूपमा जिम्मेदार भएर देखिनुपर्छ । राज्यका लागि राष्ट्रकविको एउटा पंक्तिको स्मरण गरौँ :
“थुतिन्छ पत्ता जब खातखात
सिद्धिन्छ शोभा अनि फूलबाट
विच्छिन्न विच्छिन्न हुने प्रवृत्ति
सहन्नँ भाइ म त एक रत्ति ।

जुन समय र रूपमा लेखिएका भए पनि आजका लागि यी पंक्ति मार्गदर्शक हुन जरुरी छ । अराजकतामार्फत प्रतिक्रान्ति, विखण्डन, विभाजन अनेक योजनाका भ्रूणहरू नेपाली माटोमा रोप्ने प्रयास भइरहेको छ । हिजोका दिनमा नेपालको भूभाग, जात र समुदायलाई जोड्ने केही सूत्रहरू थिए । अब ती सूत्रहरू छिन्नभिन्न भएको अवस्था छ । परिवर्तनले स्थायित्व नपाएसम्म आफैँमा संक्रमणको सामना गर्नुपर्ने हुन्छ । यो परिवर्तनको स्थायित्वका लागि समयअनुसार राज्य कठोर र उदार दुवै हुनुपर्छ । समुदाय र राजनीतिक शक्तिहरू जिम्मेदार हुनुपर्छ । आजको समयको माग यही नै हो।

राष्ट्रकविका विषयमा चर्चा गर्दा कतिपयले यस्ता उपाधिहरूमाथि प्रश्न गरिरहेको सुनिन्छ । तर समयमा उनीहरूले निष्पन्न गरेका काम र योगदानलाई चिरन्तन राख्न यस्ता उपाधिहरू पनि सहयोगी हुन्छन् भनेर हेक्का राख्नुपर्छ । आदिकवि भानुभक्त, कविशिरोमणि लेखनाथ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, जनकविकेशरी धर्मराज थापा, कविवर चित्तधर हृदय, संस्कृतिका प्रतीकात्मक नाम हुन् । अरू धेरै छन् । राजनीतिमा पनि कसैलाई जननायक, कसैलाई लौहपुरुष, कसैलाई सन्तनेता, कसैलाई जननेता, कसैलाई गान्धीवादी नेता, कसैलाई समाजवादी, अहिंसावादी नेता भनेर चिनिइरहेको अवस्था छ । यस्ता अनेक पदावलीबाट सम्बोधित गरिने परम्परा भएका कारण उहाँहरूको योगदान मात्र नभएर सांस्कृतिकता पनि स्थापित हुन्छ । राष्ट्रकवि माधव घिमिरेले देश र जनताका लागि नै साहित्य लेख्नुभएको हुनाले उहाँको योगदान  वन्दनीय छ । उहाँले नेपाली भाषा साहित्यको उत्थान, सामाजिक परिवर्तन, राष्ट्रप्रेम, जनप्रेमका लागि दिनुभएका कालजयी सन्देशहरू निश्चय पनि राष्ट्रका लागि अमूल्य निधि हुन् । महाकवि देवकोटा, लेखनाथ पौड्याल, युवाकवि मोतीराम भट्ट, विश्वेश्वरप्रसाद कोइराला, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, मोहन कोइराला, भूपी शेरचन, गोपालप्रसाद रिमाल, शंकर लामिछानेहरूको पार्थिव अवसान चाँडै भए पनि उहाँहरूको योगदानले नेपाली समाज आज पनि निर्देशित, प्रकाशित र प्रभावित भइरहेको छ । आयुले धेरै बाँचे पनि कृतित्वविहीनताले मानिसलाई जीवित तुल्याएको हुँदैन । आयुका साथ कृतित्व भएमा त्यो चिर कालसम्म रहनेछ । कृतित्वका धनी राष्ट्रकवि स्वस्थ, सक्रिय, सर्जक भएर अरू अनेक वर्षसम्म यसरी नै समाजलाई उत्प्रेरित गरिरहनुहोस्, हामी सबैलाई राष्ट्र र जनताकाप्रति सचेत गराउँदै आशीर्वचन प्रदान गरिरहनुहोस्, मंगलमय शुभकामना।

प्रकाशित: १० आश्विन २०७५ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App