१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फिफा वर्ष खेलाडीको अवार्ड लुका माेड्रिचलाई, अन्य विधाका विजेता को ?

काठमाडौं – फिफा पुरुष वर्ष खेलाडीको अवार्ड क्रोएसियाका लुका मोड्रिचले जितेका छन्। लण्डनस्थित रोयल फेस्टिबल हलमा सोमबार राति भएको समारोहमा रियल मड्रिकका मिडफिल्डर मोड्रिचले पूर्व टिम सहकर्मी पोर्चुगीज रोनाल्डो र इजिप्ट तथा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहलाई पछि पार्दै उपाधि जिते।

यो सँगै लामो समयदेखिको क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको बर्चस्व समेत तोडिएको छ। राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान तथा पत्रकारहरूको मतका आधारमा विजेता छनोट गरिएको हो। जसमा मोड्रिचले २९.०५ प्रतिशत, दोस्रो स्थानमा रहेका रोनाल्डोले १९.०८ प्रतिशत र तेस्रो स्थानमा रहेका सलाहले ११.२३ प्रतिशत मत प्राप्त गरेका थिए।

सन् २००७ मा ब्राजिलका काकाले जितेयता रोनाल्डो र मेस्सीबाहेकका खेलाडीले अवार्ड जितेको यो पहिलो पटक हो। रोनाल्डो र मेस्सीले यो अवार्ड ५–५ पटक जितिसकेका छन्। ३३ वर्षीय मोड्रिचले गतवर्ष रियललाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले क्लब फुटबलमा रियल मड्रिडमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्। त्यस्तै उनकै प्रेरणदायी प्रदर्शनको मद्दतमा क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको थियो। फाइनलमा क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भएको थियो।

विजेता बनेपछि मोड्रिचले गत सिजन आफ्नो करियरको उत्कृष्ट रहेको भन्दै राष्ट्रिय तथा क्लब सहकर्मीलाई धन्यवाद दिएका छन्। रुस विश्वकपमा पनि उत्कृष्ट खेलाडी बन्दै मोड्रिचले गोल्डेन बल जितेका थिए। साथै मोड्रिच यसै वर्ष युरोपियन वर्ष खेलाडी पनि घोषित भएका थिए। अवार्ड समारोहमा रोनाल्डो र मेस्सी अनुपस्थित रहेका थिए। नेपालका कप्तान विराज महर्जनले भने रोनाल्डोलाई भोट दिएका थिए।

विश्वविजेता फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक चुनिए। उनले रियलका पूर्व फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान र क्रोएसियाका डालिचलाई पछि पारेका हुन्। डेसच्याम्पको नेतृत्वमा फ्रान्सले गत जुलाईमा दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो। सन् १९९८ मा फ्रान्सले पहिलो पटक विश्वकप जित्दा डेसच्याम्प टोलीको कप्तान थिए। बेल्जियमका थिवाउट कोर्टोइस उत्कृष्ट गोलकिपर चुनिए। रुस विश्वकपमा बेल्जियमले तेस्रो स्थान हात पार्दा उनले सानदार खेल प्रदर्शन गरेका थिए।

यस्तै ब्राजिलकी मार्टा वर्षकै उत्कृष्ट फिफा महिला खेलाडी बनिन्। उनले छैटौं पटक उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी हुन्। अमेरिकन क्लब ओर्लान्डो प्राइडबाट व्यवसायिक फुटबल खेल्दै आएकी ३२ वर्षीय मार्टाले हंगेरीकी डीज्नीफर मारोजसान र नर्वेकी अदा हेजेरबर्गलाई पछि पारेकी हुन्।

गत सिजन ब्राजिलले कोपा अमेरिकाको उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण थियो। ब्राजिलले आफूले खेलेका सातै खेलमा जित हात पारेको थियो। उनले ब्राजिलका लागि अहिलेसम्म ३१ गोल पनि गरेकी छन्। यस सिजनमा उनले १३ गोल गर्दै उनको क्लब  ओर्लान्डो प्राइडलाई अमेरिकामा सेमिफाइनल पुराएकी थिइन्। मार्टाले अवार्ड जितेपछि आफू उत्साहित भएको प्रतिक्रिया दिइन्।

त्यस्तौ रेनाल्ड पेड्रोसले उत्कृष्ट महिला प्रशिक्षकको उपाधि जितेका छन्। फ्रान्सेका पूर्व मिडफिल्डर रेनाल्डले गत सिजन लियोनलाई घरेलु लिगका साथै च्याम्पियन्स लिग उपाधि जिताएका थिए। उनले एसियन कप जितेकी जापानी प्रशिक्षक आसाको ताकाकुरा र नेदरल्यान्ड्सकी सरिना विएगमानलाई पछि पार्दै अवार्ड जितेका हुन्। 

यता लिभरपुलका सलाहले गत सिजनको प्रिमियर लिगमा एभर्टनविरुद्ध गरेको गोलका लागि पुष्कास अवार्ड प्राप्त गरे। फिफाले मेस्सी र रोनाल्डोलाई समावेश गर्दै प्लेइङ इलाभेन पनि सार्वजनिक गरेको छ। यसमा गोलकिपर स्पेन तथा म्यानचेस्टर युनाइटेडका डेविड डे हेया, ब्राजिल तथा पिएसजीका डिफेन्डर ड्यानी आल्भेस, स्पेन तथा रियल मड्रिकका डिफेन्डर सर्जियो रामोस, फ्रान्स तथा रियल मड्रिकका डिफेन्डर राफेयल भरान, फ्रान्स तथा चेल्सीका मिडफिल्डर एन्गोलो कान्टे, क्रोएसिया तथा रियल मड्रिकका मिडफिल्डर लुका मोड्रिच, ब्राजिल तथा रियल मड्रिकका मिडफिल्डर मार्सेलो, फ्रान्स तथा पिएसजीका स्ट्राइकर किलियन एमबाप्पे, बेल्जियम तथा चेल्सीका स्ट्राइकर इडेन हाजार्ड, पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर क्रिष्ट्रियानो रोनाल्डो र अर्जेन्टिना तथा  बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी छन्। ब्राजिलका मेइमार र इजिप्टका सलाह भने प्लेइङ इलाभेनमा समावेश भएनन्। 
 

प्रकाशित: ९ आश्विन २०७५ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App