१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एसिड आक्रमणमा मृत्यु भएकी किशोरीकाे शव रौतहट ल्याइयो

रौतहट– एसिड प्रहारबाट गम्भीर घाइते भई उपचारका क्रममा काठमाडौंमा ज्यान गुमाएकी किशोरीको शव रौतहट ल्याइएको छ। 

सोमबार साँझ मृतक दासको शव गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुर ल्याइएको हो। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहितका सुरक्षा निकायका प्रमुखले चन्द्रनिगाहपुर पुगेर बालिकामाथि जघन्य अपराध गर्ने अभियुक्तलाई हदै सम्मको कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।

रौतहटको चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना कुमारी दासको आइतवार मध्यराति कीर्तिपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार घरमा सुतिरहेको अवस्थामा गत भदौ २६ गते राति सम्झना र सँगै सुतेकी १५ वर्षीया बहिनी सुस्मितामाथि एसिड प्रहार गरिएको थियो। गम्भीर अवस्थामा घाइते भएकी दिदी र बहिनीको चन्द्रपुरस्थित अस्पतालमा सामान्य उपचार पश्चात काठमाडौं लगिएको थियो।

समान्य परिवारमा जन्मेकी दुवै किशोरीमाथि एसिड कसले प्रहार ग¥यो भन्ने विषयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गहन रुपमा अनुसन्धान गर्दै जाँदा घटना घटेको ६ दिनपछि छिमेकी ५० बर्षीय रामबाबु पासवानलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो।

छिमेकी पासवानले प्रहार गरेको एसिडवाट सम्झना ४० प्रतिशत शरीर जलेको थियो। धेरै ठाउँमा र अनुहारमा बढि एसिड परेर गम्भीर घाइते भएकी सम्झनाको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले बताए। 

एसिड प्रहारबाट सँगै घाइते बनेकी सुस्मिताको अवस्था समान्य छ उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
दिदी र बहिनीसँगै सुतिरहेको अवस्थामा गाउँकै ५० वर्षीय पासवानले एसिड प्रहार गरेको हो भन्दै किटानी जाहेरी दिएपछि पासवानलाई प्रहरीले पक्राउ गरेको छ। पासवानले १५ दिनमा १ सय ८० पटक दासकी जेठी छोरी सम्झनालाई फोन गरेको पाइएको छ।

पटक पटक फोन गर्ने तर किशोरीले फोन रिसिभ नगरेको झोंकमा रिसाएर पासवानले राति एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। पासवानले एकतर्फी प्रेम गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी केदार ढकालले बताए। पासवानको मोबाइल डिटेल र पीडित किशोरीका पिताको किटानी जाहेरीबाट अनुसन्धानको लागि घटना भएको ६ दिनपछि पासवानलाई कीर्तिपुरबाट पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरमा समेत म्याद थप गरेर घटनाको विषयमा रौतहट प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ८ आश्विन २०७५ १६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App