१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लक्ष्मणको गजलमा रमायो नुवाकोट

गजल वाचन गर्दै संगम।तस्बिर:

नुवाकोट - अछामको ढकारी गाउँपालिका–१ का गजलकार लक्ष्मण संगमले नुवाकोटमा जीवनको पहिलो एकल गजल वाचनको अनुभव बटुलेका छन्। नुवाकोट साहित्य समाजले शनिबार आयोजना गरेको एकल गजल वाचन कार्यक्रममा उनले माया प्रेम, बेरोजगारीको पीडा, विशुद्ध कवि मात्र हुँदाको आर्थिक संकट, देशको अवस्थालगायतका विषय झल्कने गजल सुनाएका थिए।

‘मेरो गजल सुन्नको लागि साना भाइबहिनीदेखि ८० वर्ष पार गरिसक्नुभएकी हजुरबुवासमेत आउनु भएको छ। यहाँको यो माहोल हेर्दा घरकै हजुरबुवा र भाइबहिनी सम्झिएँ,’ गजलकार संगमले भने, ‘नुवाकोटले दिएको एकल गजल वाचन गर्ने अवसरले थप जिम्मेवारी थपिदिएको छ । अझै सशक्त गजल लेख्ने प्रेरणा प्रदान गरेको छ ।’ संगमले पाँच चरण गरी १५ वटा गजल वाचन गरेका थिए । उनले नुवाकोटका सर्जकहरूको आग्रहमा थप दुई वटा गजल सुनाए।

नसोच्नुस् खाली आएको छ खाली जान्छ
ऊ आँखा लिई आएको छ नियाली जान्छ
यसरी गइदिन्छ कवि सम्मेलनमा भोको कवि
जसरी पहिलो पटक दुलाहा ससुराली जान्छ ।

संगमका गजल सुनेर कार्यक्रमका प्रमुख अतिथि रहेका ८३ वर्षीय समाजसेवी रामहरि रिमालले उनलाई शुभकामना दिए ।  ‘नातीका गजलले असाध्यै मन छोए । लेखाई अझै निखारिदै जाओस् । मेरो आशिर्वाद छ,’ संगमलाई सम्मान गर्दै रिमाल बाजेले भने, ‘फेरि पनि नुवाकोट आएर यस्तै गजल सुनाउनु । पर्खेर बस्नेछौँ।”

कार्यक्रममा साहित्यकार शम्भुप्रसाद शर्मा, प्राध्यापक द्वारिका पाण्डे, नुवाकोट साहित्य प्रतिष्ठानका सल्लाहकार श्रीराम श्रेष्ठ, आदर्श बहुमुखी क्याम्पसको प्राध्यापक संघका अध्यक्ष दिपकराज सिलवाल, सर्जक सिताराम पौडेल, लोकबहादुर पुडासैनीलगायतले गजलकार संगमलाई शुभकामना दिएका थिए । उनीहरूले निरन्तरको अभ्यासले नै मान्छेलाई सफल बनाउने भन्दै साधना जारी राख्न नुवाकोटका सर्जकहरूलाई समेत आग्रह गरेका थिए।

स्थापनाको तेस्रो वर्षमा नै नुवाकोट साहित्य समाजले विविध साहित्यक गतिविधि गर्दै आएकोले आगामी दिनमा सर्जकको सम्मान र हौसलाको लागि फरकफरक शैलीको कार्यक्रमहरू गर्दै आउने आयोजक सस्थाका अध्यक्ष बद्रिवृन्द गजुरेलले बताए।

प्रकाशित: ८ आश्विन २०७५ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App