१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

ज्वरो आए स्क्रबटाइफस हुन सक्छ !

काठमाडौं - गोर्खाकी एक महिला वीर अस्पतालको सघन उपचार कक्षमा उपचाररत छिन् । उनलाई सुरुमा ज्वरो बढ्न् र घटन् भयो। त्यो क्रम रोकिएन । झन् त्यमाथि वान्ता हुने र पखाला चल्ने भएपछि उनी अस्पतालमा पुगिन्। रक्तचाप न्यून भएर कमजोर भइसकेकी उनलाई चिकित्सकले अस्पताल भर्ना गरेर उपचार थाले।

चिकित्सकको सल्लाहअनुसार उनी राजधानीको एक निजी अस्पतालमा भर्ना भइन्। उपचारको क्रममा उनको झन्डै लाख रुपैयाँ सकियो । निजी अस्पतालको उपचारपछि पनि पूर्ण निको नभएपछि उनी वीर अस्पताल पुगिन् । हाल उनको स्वास्थ्यमा सुधार आएको छ। उनलाई स्क्रबटाइफस भएको रहेछ । स्क्रबटाइफसकै कारण शरीरका विभिन्न अंगमा संक्रमण भएपछि उनमा थप जटिलता बढेको थियो।

उनी दुई साताअघि स्क्रबटाइफस संक्रमण भएर वीरमा पुगेकी थिइन्। सघन उपचार कक्षमा शैय्या खालि नभएपछि उनलाई अन्यत्र रेफर गरिएको थियो। अस्पतालमा स्क्रबटाइफसले गम्भीर भएका यी दुई बाहेक अरु बिरामी पनि विभिन्न अस्पतालमा भर्ना हुन पुगेका छन्। एक महिनाअघि धादिङकी एक महिलाको टिचिङ अस्पतालको आइसियुमा उपचार भएको थियो।

गर्मी तथा वर्षात्को मौसम सुरु भएदेखि स्क्रबटाइफसका बिरामी बढिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालमा स्क्रबटाइपस संक्रमित बिरामी उपचारका लागि पुग्ने गरेका छन्।

त्यसबोहक अन्य अस्पतालबाट रगत परीक्षण गर्न पुगेका बिरामीमा यो रोग भेटिने गरेको तथ्यांक छ। अस्पतालका अनुसार रगत परीक्षण भए मध्येमा औसत दैनिक ५ जनामा स्क्रबटाइफस भएको पाइएको छ। स्क्रबटाइफसको संक्रमण बाह्रै महिना देखिए पनि वर्षात्को मौसममा बढी देखिने गरेको चिकित्सकहरु बताउँछन्।

स्क्रबटाइफस रोग लागेमा ज्वरो आउने, पेट दुख्ने जस्ता लक्षण देखिन्छ। यस्तो हुँदा बिरामी र स्वास्थ्यकर्मी समेत झुक्किने गरेका छन्। यसले सही उपचारमा ढिलाइ हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान प्रमुख डा. शेरबहादुर पुनले बताउँछन्। ‘स्थानीय स्वास्थ्यकर्मीले सुरुमा टाइफाइडकै उपचार गरेका हुन्छन्। बिरामी निको नभएपछि मात्र केन्द्रीय अस्पताल पुगेका देखिन्छ,’ डा. पुनले भने। सही उपचारमा ढिलाई हुँदा केही बिरामी गम्भीर अवस्थामा मात्र अस्पताल पुग्ने पुन बताउँछन्।

राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वर्षाको बेला यो रोग बढ्ने गरेको छ। विगत नौ महिनामा देशभरमा ३ सय ३० जनामा स्क्रबटाइफस भएको तथ्यांक छ। साउन यता एक महिनाको अवधिमा १ सय २६ जनालाई यो रोगको संक्रमण भएको छ।

प्रदेशका आधारमा सबैभन्दा बढी ५ नम्बर प्रदेशमा यसको संक्रमण देखिएको छ। ५ नम्बर प्रदेशपछि प्रदेश नम्बर ३ प्रभावित भएको छ।

स्क्रबटाइफसकै कारण गत जेठमा गुल्मीमा एक जनाको मृत्यु भएको थियो। पाल्पा, नवलपरासी र गुल्मीमा यसको संक्रमण फैलिएको थियो । प्रदेश ३ मा यो अवधिमा १ सय ९ जनामा यो रोगको संक्रमण भइसकेको छ। प्रदेशका चितवन धादिङ, गोर्खा, नुवाकोट, काभे्रलगायतका जिल्लामा बढी प्रभावित भएको थियो। यो रोग असोज महिनापछि विस्तारै कम हुँदै जाने चिकित्सक बताउँछन्।

के हो स्क्रबटाइफस?
खेतवारी वा झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’नामक परजीविको माध्यमबाट मानिसमा स्क्रबटाइफस संक्रमण हुन्छ। झाडीमा बस्ने परजीवि (किर्ना)भित्र हुने ‘ओरेन्सिया सुसुगामोसी’ नामक जिवाणु शरीरभित्र प्रवेश गरेपछि यसको संक्रमण हुन्छ। सो परजीवि घाँस, झाडीमा बस्ने भएकाले मुसाघरभित्र पसेर किर्ना छोडेमा घरभित्रै पनि यो परजीविले टोके स्क्रबटाइफसको संक्रमण हुन्छ।

किर्नाले टोकेको पाँचदेखि ५ देखि ६ दिनमा व्यक्तिलाई ज्वरो आउने, शरीरमा रातो बिमिरा आउने, शरीर दुख्ने, ग्रन्थी सुन्निनेलगायतका लक्षण देखिन्छन्। कतिपयको यो परजीविले टोकेको भागमा कालो दाग देखिन्छ । कसैको भने दाग नदेखिन पनि सक्छ।

समयमै उपचार नभएमा यसले शरीरका अन्य अंगहरु मुटु, कलेजो, फोक्सो, मिर्गौला लगायतका अंगमा संक्रमण फैलिएर मृत्युसमेत हुनसक्छ। ‘यसको संक्रमणले कलेजो, मिर्गौला जस्ता अंग फेल भएर बिरामीको मृत्युसमेत हुन सक्छ,’ डा. पुनले भने। स्क्रबटाइफस संक्रमणको लक्षण टाइफाइडकै जस्तो हुने हुनाले ज्वरो आउने र शरीरमा रातो बिमिरा आएमा स्क्रबटाइफसको परीक्षण गरेमा समयमै रोगको पहिचान गर्न सकिने डा. पुनको सुझाव छ।

राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमण न्यूनीकरण गर्न नेपाल सरकारले तोकिएका ८२ प्रारम्भिक रोग पहिचान केन्द्र तथा अस्पतालमा किट वितरण गरिसकेको छ। सो किट स्थानीय निकायबाट रेफर भएका शंकास्पद बिरामीमा प्रयोग भइरहेको छ।

चिकित्सकका अनुसार नांगा खुट्टाले खेतबारीमा टेक्ने र झाडीमा सुत्ने, घर वरपर मुसा भएमा स्क्रवटाइफसको संक्रमण अधिक हुन्छ। घरभित्र र वरपरको वातवरण सफा राखेर, झाडीमा नांगो गोडा या हातले नछोएमा यसको जोखिम कम गर्न सकिन्छ। घाँस भएको भुइँमा सिधै बस्ने या पल्टिने क्रममा यो परजीवि छालामा टाँसिने भएकाले त्यसो गर्नु हुँदैन। खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा बुट प्रयोग तथा हातमा पन्जा प्रयोग गरेमा यसको जोखिमवाट बच्न सकिन्छ।

कसरी बच्ने?
– झाडी या बारीमा जथाभावी नबस्ने
– बारीमा जाँदा नांगो खुट्टाले नजाने
– घर वरिपरिको वातवरण सपे
– चौर या झाडीमा सुतेर नबस्ने
– खेतबारीमा जाँदा पन्जाको प्रयोग गर्ने

लक्षण
– ज्वरो आउने
– शरीरमा राता बिमिरा देखिने
– वान्ता हुने
– खाना मन नलाग्ने
–आँखा रातो हुनु
– टोकेको भागमा कालो दाग बस्नु

प्रकाशित: ७ आश्विन २०७५ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App