१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

न अरिंगाल, न माहुरी

अरिंगाल बन्ने कि माहुरी? एकसाता अघि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई अरिंगाल बन्न आग्रह गरेका थिए। अर्को साता आइपुग्दा उनले माहुरीजस्तो बन्न आग्रह गरेका छन्। अघिल्लो साता अलि आक्रामक थिए, त्यसैले अरिंगाल बन्न भने। एक सातापछि उनले विपक्षीलाई पनि साथमा लिएर हिँड्नुपर्ने समायोजनकारी धारणा राखेका छन्। त्यसैले माहुरीजस्तो बन्नुपर्छ भने।

अरिंगालजस्तो बन्ने सन्देश प्रवाह गरिरहेका बेला उनी भर्खर भारत भ्रमणबाट फर्केका आफ्ना सहअध्यक्ष पुष्पकमल दाहाललाई समेत सन्देश दिन चाहन्थे । दलभित्र गुट देखिएकै छन्। भर्खर भारत भ्रमण गरेर फर्केका दाहालले त्यहाँ ठूलो सम्मान पाएर आएको बताइसकेका थिए। त्यति मात्र होइन दुई वर्षपछि सरकार प्रमुख वा पार्टी अध्यक्षको जिम्मेवारी पाउने उनको उताको सन्देशले यता सन्देह पैदा गरिसकेको अवस्था थियो।

स्वार्थ समूहले ल्याउने प्रस्ताव र निकटस्थ व्यक्तिले दिने प्रीतिकर सुझाव नै अहिलेको राजनीतिक नेतृत्व अघि बढ्ने ऊर्जा हुन्।

त्यसैले पार्टीभित्र कुनै एउटा पक्षमाथि आक्रमण हुँदा अर्को पक्ष रमाउने गरेको स्थितिप्रति आक्रामक हुँदै उनले दलकै कमरेडहरूको झाँको झारेका थिए– अरिंगालको जति पनि बुद्धि छैन ? तर, अरिंगाल बन्नु सजिलो रहेनछ। दलभित्रैबाट अरिंगाल चिन्तनमाथि प्रश्न उठ्यो । निर्णय आफूखुसी गर्ने र पछि सबैले त्यसको जिम्मेवारी लिइदिनुपर्ने अवस्थाप्रति विशेषगरी घनश्याम भूषालजस्ता युवा नेताहरूले आक्रामक ढंगले टिप्पणी गरे।

नेपाल कम्युनिस्ट पार्टीका अहिलेका काम हेर्दा धेरै हिसाबले त्यहाँ माथिल्ला नेता हाबी छन् । त्यसभित्र सामूहिकताको अन्त्य भइसकेको छ । पहिले कम्तीमा साता दिनसम्म पनि दलका बैठकमा बस्थे । तिनले उठेका विषयमा गम्भीर छलफल गर्थे । नेताले भन्दैमा केही हुँदैनथ्यो । त्यसमा पक्ष/विपक्षमा बहस हुन्थे। अन्त्यमा, सहमति भएपछि वास्तवमै अरिंगालजस्तै गरी ती विषयलाई लिएर जाने गरेको देखिन्थ्यो।

पार्टी महासचिवलाई त्यतिबेला -याख-याखी पारेका दृश्य देखिन्थे । त्यो भन्दा भिन्न नेपाली कांग्रेसमा अद्वितीय किसिमले नेताहरू आफूलाई लागेका विषयमा निर्णय गराउँथे । आलंकारिकरूपमा बैठक बस्थे, सकिन्थ्यो । अहिले नेकपा पनि कांग्रेसको त्यही अभ्यासमा आइपुगेको छ । बस्, ठूला नेताले निर्णय गर्छन्, बाँकीले त्यसलाई पालना गर्छ । होइन भने महाधिवेशनमा पाएका पद नेताहरूको दल मिलानका क्रममा एकाएक खोसिने थिएन । अहिले धेरै महाधिवेशनबाट पाएका उच्च पद खोसिएको अवस्थामा ती छन् । कार्यकर्ता भौँतारिएर हिँडेका छन्– कुन नेताको पछि लाग्दा आफ्नो भविष्य सुरक्षित हुने हो!

सत्ता चलाउन दुई तिहाइ मात्र भएर पुग्ने रहेनछ भन्ने दिव्यज्ञान हाम्रा प्रधानमन्त्रीलाई अवश्य भएको हुनुपर्छ। वास्तवमा सत्ता चलाउन विशाल हृदय चाहिन्छ। सात प्रदेशका मुख्य मन्त्रीको बैठक एक झोँकमै बहिष्कार गर्न सक्ने प्रधानमन्त्री ओलीको झोँक अरिंगालभन्दा कम छ र?

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न दुई साता लामो यात्रामा निस्कनु अघि शनिबार प्रधानमन्त्री ओली अर्का सहअध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरे । नेत्री सहाना प्रधानको स्मृतिमा आयोजित त्यही समारोहमा ओलीले माहुरीजस्तै मिलेर अघि बढ्न आग्रह गरेका हुन्। ओलीको यो दुर्लभ अभिव्यक्ति हो कि यसपटक उनले विपक्षीलाई पनि हातेमालो गर्न आग्रह गरेका छन्।

कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरिरहँदा प्रधानमन्त्री ओलीले प्रतिपक्षीलाई पनि सहकार्यमा आउन आग्रह गर्नुले एक सातामै के त्यस्तो फरक पारेछ भन्नेमा घोरिन बाध्य पार्छ । यसको अर्थ दुई तिहाइको दम्भ उत्रिन थालेको हो ? सत्ता चलाउन दुई तिहाइ मात्र भएर पुग्ने रहेनछ भन्ने दिव्यज्ञान हाम्रा प्रधानमन्त्रीलाई अवश्य भएको हुनुपर्छ । वास्तवमा सत्ता चलाउन विशाल हृदय चाहिन्छ। सात प्रदेशका मुख्य मन्त्रीको बैठक एक झोँकमै बहिष्कार गर्न सक्ने प्रधानमन्त्री ओलीको झोँक अरिंगालभन्दा कम छ र ? प्रधानमन्त्रीले त यस्ता विषय आउनासाथ बोलाएर समाधानको कोसिस गर्नुपर्ने हो। तिनलाई विमुख पारेर के लाभ भयो?

अचेल किन कसैलाई मुलुकमा समृद्धि आउँछ भन्ने कुराले छुँदैन ? सशस्त्र द्वन्द्वका बेला पनि निराश नभएका सर्वसाधारण अहिलेको गतिदेखि निराश छन् । अरिंगाल बनेर होस् वा माहुरी देश त बन्नैपर्छ । देश बन्न निरन्तर इमानदार प्रयासबाट मात्र सम्भव छ । हामी त देश बन्नै सकेका छैनौँ । सरकारप्रति नागरिकको कति ठूलो विश्वास छ भन्ने थाहा पाउन तीन दिनदेखि पेट्रोल पम्पमा लागेको सर्वसाधारणको लाइन हेरे पुग्छ । पेट्रोलियम पदार्थ ढुवानीकर्ताले एक दिन काम नगर्नासाथ देश अस्तव्यस्त हुन्छ भने बुझ्नुपर्छ समस्या कति गम्भीर भएका छन्।

यहाँका प्रत्येक नागरिकलाई थाहा छ– आफैँ ‘जुगाडु’ हुनुपर्छ । सरकार नामको माइवापले केही गर्दैन। गथ्र्यो भने सडकका भ्वाङ असरल्ल छाडेर पानीजहाज, नाकचुच्चे रेल वा यस्तै यस्तै सपनाको फौवन्जार बन्ने थिएन । एक दिनमा पेट्रोलियम पदार्थ बजारबाट गायब ! घन्टौँ लागेर केही लिटर तेल थाप्नुपर्ने अवस्थामा रहेका सर्वसाधारणलाई आश्वस्त तुल्याउन सरकारले सकेको देखिएन।

यस्तो अवस्थामा प्रधानमन्त्री ओली नेता कार्यकर्तालाई ‘माहुरी’ बन्ने उपदेश दिएर दुई साताका लागि विदेश भ्रमणमा लाग्नुबाट बुझ्न सकिन्छ यो मुलुकका समस्या समाधान गर्ने जाँगर कसैलाई छैन। कोस्टारिका भन्ने देशसँग नेपालको के साइनो ? तर, प्रधानमन्त्रीका पूरै चार दिन त्यहाँ बित्नेछन्। कोस्टारिकासँग नेपालको के सम्बन्ध रहेछ भनेर यसो अनुसन्धान गरिहेर्दा हाम्रो आवश्यकता धेरै देखिएन।

तर, विश्वभरि कन्टेनर सेवा पु-याउँदै आएको एउटा कम्पनी मायर्सक लाइनले भने नेपालसँग दीर्घकालीन साझेदारी गर्न खोजेको भन्ने फेला प-यो । सायद, नेपालीले रेमिटान्सबाट आएको पैसाबाट आयातित सामग्री किनेर खान्छन् भन्ने बाहिरका व्यापारीले थाहा पाएका छन् । गत वर्ष जुन २०१७ मा विशाखापतनम हुँदै नेपालमा कन्टेनर सिपमेन्ट पनि गराइसकेको त्यसबाट देखिन्छ।

एकातिरबाट काम गर्दै गयो, अर्कोतिर खुस्किँदै गएको देखिन्छ । व्यापार/व्यवसाय गर्न वा सम्बन्ध राख्न पनि सबैभन्दा नाफा हुनसक्ने क्षेत्रलाई हेर्ने चलनै हो । तर, हाम्रा प्राथमिकता कहाँ छन् भन्ने देखिँदैन । राजनीतिक नेतृत्वमा होस् वा कुनै पनि संस्थाको माथिल्लो पदमा पुगेपछि बुद्धिको उचाइ पनि एकाएक बढ्दै जान्छ । त्यसपछि अरूसँग सल्लाह सुझाव लिइरहनुपर्ने आवश्यकता रहँदैन । स्वार्थ समूहले ल्याउने प्रस्ताव र निकटस्थ व्यक्तिले दिने प्रीतिकर सुझाव नै अहिलेको राजनीतिक नेतृत्व अघि बढ्ने ऊर्जा हुन्।

प्रधानमन्त्री ओली दुई साता देशमा नहुनु भनेको ‘राजाको राँगो’ फुकेको अवस्था हो । प्रधानमन्त्रीको दैनिक निर्देशनले त कुनै काम हुन नसकेको अवस्था देशमा छ भने उनी नभएपछि कसरी काम हुन्छ ? कामको कुरा नगरौँ । देश हामीले बनाएको होइन । प्रकृतिले जे दिएको छ, त्यसैलाई कुरूप बनाउँदै जाँदा पनि यत्तिको रहिरहेको हो । बाटाघाटा खराब भएका छन्। देखावटी निर्देशन र मन्त्रीको अनुगमनले पनि त्यसमा कुनै प्रगति भएन। कलंकीदेखि नागढुंगासम्म बसोबास गर्दै आएका सर्वसाधारणले यतिका वर्ष बिताएको खण्डहर जिन्दगी देख्दा रुन मन लाग्छ । बौद्ध–जोरपाटी सडकको दूरवस्था थाहा नपाउने कोही छैन । चाबहिल गोपीकृष्णबाट भित्र पस्ने सडक तीन वर्षसम्म बनेन । कालोपत्रे भएको तीन महिनामा त्यसमा परेका खाल्डामा जोल्टिङ खाएर हिँड्ने प्रत्येक यात्रुले सरापे पनि सरकारलाई फापेकै छ।

सरकारका सबै मन्त्रीको काम हे-यो भने लाग्छ, ती प्रधानमन्त्री ओलीका सूक्ष्म ‘क्लोन’ हुन् । प्रत्येकले त्यही ढाँचामा निर्देशन दिन्छन्, जसरी ओलीले दिने गर्छन् । कतिपय आशलाग्दा भनिएका युवा मन्त्रीको काम पनि अत्यावश्यक कामभन्दा पनि शक्ति दलाल समूहकै इसारामा दौडिएको देखिन्छ । रुख काटिहाल्न, बाटो भत्काइहाल्न, ट्रयाक खोलिहाल्न सबैको ध्यान छ । तर, त्यो कहिले बन्ने हो भन्ने निश्चित छैन।

मुलुकका लागि ठूल्ठूला सपना देखाउनुअघि बिग्रे–भत्केका काम पहिले गरिहाल्न पाए हुन्थ्यो । बन्न नसकेका बाटा पहिले बनिहाल्ने हो भने बाँकी बाटाहरूमा त्यसपछि काम गर्न सकिने थियो । भएजति सबै बाटा भत्किएका छन् । सिंहदरबार, रत्नपार्क, बालुवाटार वरपर मात्रै ठीक भएर भएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला हतारहतारमा गरिएको काम कस्तो भएछ अहिले पनि एकपटक हेरिदिने हो भने बल्ल केही हुने थियो । काम गर्दै नगरी बस्ने र जतिबेला गरियो त्यतिबेला लतरपतर पारेर पैसा कमाइहाल्ने प्रवृत्ति छ । सर्वसाधारणले यो नजिकबाट नियालेर हेरिरहेका छन्।

एकजना अन्तर्राष्ट्रिय संस्थामा कार्यरत उच्चपदस्थ नेपालीले शुक्रबार पत्रकारहरूको एउटा सानो समूहलाई जिम्बाबेको अनुभव सुनाउँदै भनिरहेका थिए– प्रत्येक मन्त्रीलाई दिएको कामको सार्वजनिक अनुगमन हुन्छ । तिनलाई दिएको जिम्मेवारी सार्वजनिक भएको हुनाले त्यसअनुसारको प्रगति नभएमा स्वतः तिनीमाथि कारबाही हुन्छ।

हाम्रो मुलुक जहाँ एउटा सरकारको ठाउँमा आठ सरकार छन्। एक संसद्को ठाउँमा आठ संसद् भए । तर, काम नहुने हिजोको रोग जस्ताको तस्तै रह्यो । ‘लथालिङ्गे देशको भताभुङ्ग चाला’ भनेको यही हो । यस्तो अवस्थामा प्रधानमन्त्रीका उखान टुक्का र निर्देशनले देश पार लाग्ने देखिएन। यो स्थितिमा कार्यकर्ता न अरिंगाल बन्न सक्छन्, न माहुरी । काम नेतृत्वमा रहेका व्यक्तिबाट सुरु हुनुपर्छ । अर्थात् अवरोध आफैँमा छ।

प्रकाशित: ७ आश्विन २०७५ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App