१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आफ्नै पैसा र पसिनाले सडक

गोरखा- शहिद लखन गाउँपालिका वडा नम्बर ७ बुङकोटका स्थानीयले आफ्नै शक्रियतामा सडक मर्मत गरेका छन्। दशैँ नजिकिँदै गर्दा सदरमुकाम हुँदै गाउँ जाने सडक अवरुद्ध भएपछि खाद्यान्न ढुवानीमा समस्या भएको, पुन निर्माणको समय भएकाले निर्माण सामग्री लैजान सकश भएपछि सडक मर्मतमा स्थानीय लगेका हुन्।

‘घरैपिच्छे एकजना काम गर्न आउने नियम बनाएका छौँ’ निर्माण समितिका संयोजक धनबहादुर थापाले भने ‘स्थानीय क्लव, आमा समुह, भुपु सैनीक जस्ता स्थानीय समूहहरुबाट करिब ४० हजार संकलन भएको छ ।’ तीन लाख ५० हजार रुपैयाँ सडक मर्मतमा खर्च हुने अनुमान स्थानीयको छ। श्रमदान मात्रै गरेर स्थानीयले सडक बनाउन सक्ने अवस्था छैन। पहिरोले सडक बगेका कारण करिब ४० थान जाली आवस्यक पर्छ। तारजाली ल्याउन धुरिपिच्छे पाँच सय देखि एक हजार रुपैयाँ उठाउने तयारी गरेका छन्।

उक्त सडक भएर मास्किछापा, आँपस्वाँरा, पिपलछाप, चारघरेका करिब तीन सय ५० घरधुरीले सुविधा पाउनेछन् । अहिले ती गाउँमा पुग्न एक घण्टा सम्म पैदल हिड्नुपर्छ। निर्माण सामग्री र खाद्यान्न बोकेर लैजानुपर्ने बाध्यता स्थानीयलाई छ । पहिरोले सडक बगाएर साँघुरो बनाएका कारण जोखिमले मोटरसाईकल मात्रै आउजाउ गर्न मिल्छ । गाउँपालिकाका कार्यकारी अधिकृत जीवन आले र उपाध्यक्ष इन्दिरा तिवारीलाई पटक पटक सडक मर्मतका लागि सहयोग गरिदिन अनुरोध गर्दा कुनै सहयोग गाउँपालिकाबाट नमिलेको वडा सदस्य गोपाल रानाले बताए। उनले भने ‘सबैतिर सडक बिग्रिएको छ, अहिले जाली छैन, सकेको सहयोग गरौँला भन्नुभएको छ तर केही पाएका छैनौँ ।’ सहयोग कतैबाट मिल्ने छाँटकाँट नदेखेपछि स्थानीय भेला भएर आफैँ बनाउने निर्णय गरेका हुन् । उनीहरुले अहिले पनि सहयोगको याचना वडाकार्यालय देखि गाउँपालिका सम्म गरिरहेका छन्।

बिरामी हुँदा एम्बुलेन्स जाने सडक समेत त्यहाँ छैन । स्टेचरमा बिरामी घण्टौँ बोकेर स्वास्थ्य संस्था पुर्‍याउनुपर्दा समस्या भएको गुनासो स्थानीयको छ । कहिँकतैबाट सहयोग नमिलेपछि मास्किछाप र आपस्वाँराका ६५ घरधुरी अहिले दिनको चार घण्टा सडक मर्मतमा जुट्ने गर्छन। वडा कार्यालयबाट गल, गैँची, सहयोग बाहेक अन्य केही मिलेको छैन । वडा अध्यक्ष शरण श्रेष्ठले सडक मर्मत गर्ने शिर्षकको बजेट गाउँपालिका सँग रहेको र आफुले जानकारी गराएको बताए । उनले भने ‘वडाले सक्ने सहयोग गरेका छौँ, अझै सहयोग जुटाउन म पनि लागिरहेको छु, वडाको बजेट योजनामा छुट्टयाइसकेका छौँ, सडक मर्मत गर्न गाउँपालिकाले दिनुपर्ने हो, दिएको छैन।’ स्थानीयले आफैँ श्रमदान गरेर  सडक मर्मत गर्नु अन्य ठाउँका स्थानीयलाई पनि ठूलो पाठ हुने बताउँदै सडक हेरेर फर्किएका उनले भने ‘त्यो बाटो नबन्दा स्थानीयले धेरै दुःख पाएका छन्, वडाले गाउँपालिका सँग समन्वय गरेर सहयोग गर्छ।’

प्रकाशित: ६ आश्विन २०७५ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App