१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

संविधान दिवस मनाउन बेलायती राजकुमार नेपाली दूतावासमा

लन्डन - लण्डनस्थित नेपाली दूतावासले एक समारोहका बीच चौथो संविधान दिवस भव्य रुपमा मनाएको छ।  समारोहमा  बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल तथा बेलायतबीच उच्चस्तरीय भ्रमणको तयारी गर्ने बेला भएको बताएका छन्।

 नेपालको राष्ट्रिय दिवस (संविधान दिवस) को अवसरमा बिहीवार लण्डनको प्रसिद्ध केन्सिङटन प्यालेस गार्डेन्स प्रांगणमा आयोजित एक भव्य समारोहलाई संवोधन गर्दै डा. सुवेदीले त्यस्तो बताएका हुन्।

 यसलाई निकट भविष्यमा हुनसक्ने उच्चस्तरीय भ्रमणको संकेतको रुपमा पनि हेरिएको छ। दुई देशबीच २०० वर्ष भन्दा लामो इतिहास भएता पनि अहिलेसम्म कुनैपनि ब्रिटिश प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन्। राजदूत सुवेदीका पूर्ववर्ती डा. सुरेशराज चालिसेले पनि तत्कालिन ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनको नेपाल भ्रमण गराउने प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन।

 राजदूत डा. सुवेदीले गोर्खा सैनिकहरु र बेलायतमा बसोबास गर्ने एकलाख बढी गैरआवासीय नेपालीहरुले दुबै देशबीचको सम्वन्धलाई अरु सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले नेपालको विकास प्रयासमा बेलायती सरकार र जनताबाट लगातार साथ र सहयोग प्राप्त भैरहेको बताउँदै त्यसको प्रशंसा पनि गरे।

 समारोहका प्रमुख अतिथि प्रिन्स माइकेल अफ केन्टले ब्रिटेन र नेपालबीचको  संबन्ध अरु कैयौं मुलुकहरुको भन्दा निकै पुरानो रहेको बताए। उनले दुई देशबीचको संबन्ध बहुआयामिक र घनिष्ठ रहेको पनि बताए। उनले गोर्खा सैनिकहरु संसारमै सबैभन्दा साहसी सैनिकको रुपमा चिनिने बताउँदै उनीहरुको साहस र अनुशासनको खुलेर प्रशंसा गरे। उनले निकट भविष्यमा नेपाल जाने आफ्नो  योजना रहेकेा पनि खुलासा गरे।

 प्रिन्स माइकेल अफ केन्टले दूतावासमा आयोजित नेपाली चित्रकला प्रदर्शनीको उद्घाटन पनि गरे। कार्यक्रममा राजदूत सुवेदीले प्रमुख अतिथिलाई कलात्मक खुकुरी तथा नेपाली चित्रकला उपहार दिएका थिए। समारोहमा ब्रिगेड अफ गोर्खाजमा कार्यरत गोर्खा सैनिकहरुले खुकुरी नाच तथा अन्य कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए।

 कार्यक्रममा लण्डनस्थित विभिन्न विदेशी दूतावासका प्रतिनिधिहरु तथा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति थियो।

 

प्रकाशित: ६ आश्विन २०७५ ०५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App