स्कुल जाने समयमा रमा ठुस्स परेर बसेकी थिइन्। कपाल कोर्ने, किताब ठिक गर्ने, केही अत्तोपत्तो नै थिएन । भान्छामा खाना तयार भइसकेको थियोे। खाना पस्किएर आमाले रमालाई बोलाउनु भयो तर रमाले वास्तै गरिनन् । रमाको अटेरी व्यवहार देखेर आमा छक्क पर्नुभयो । सधैँभन्दा अलि भिन्न व्यवहार देखिन् आमाले।
‘तिमीलाई सन्चो छैन कि के हो? किन यसरी बसेकी ? हेर त, स्कुल जाने खाजा तयार भयो ।’ आमाले रमालाई सोध्नुभयो । अनि छिटो तयार हुन भन्नुभयो । सधैं आमाले पकाएको खाना खाँदा खुसी हुने रमा बोल्नुको साटो उता फर्किइन् । छोरीको यस्तो चाल देखेर रमाकी आमा छक्क पर्नुभयो।
त्यस दिनको त्यो घटनापछि रमा बिस्तारैबिस्तारै बाहिरकै खाजा खाँदै स्कुल जान थालिन्। आमालाई भने रमाको त्यो व्यवहार त्यति चित्त बुझेको थिएन। यसपछि रमाको स्कुलमा परीक्षाको मिति तय भयो।
‘आज मेरी छोरीलाई केमा चित्त दुखेछ !’ भन्दै आमा सोचमग्न हुनुभयो । सधैं ‘हतार हुन्छ है छिटो गरिदिनू भन्थिन्’ भन्दै आमा मनमनमा सोच्दै हुनुहुन्थ्यो । त्यही बेला रमाका स्कुले साथीहरू आइपुगे । ‘रमा...ए रमा ! अझै कपडा फेरेकी छैनौ ? लौ ! कपाल नि कोरेकी छैनौ ? ल, निकै ढिला पो हुन थाल्यो त । छिटो गर न’ भन्दै सबैले भने।
साथी भनेपछि हुरुक्कै हुने रमाले आज भने साथीलाई पनि वास्तै गरिनन् । रुन्चे मुख लगाउँदै ‘आज म स्कुल नजाने ।’ भनिदिइन् । उनका साथीहरू आफ्नै सुरमा गफ गर्दै त्यहाँबाट हिँडे । रमा भने आफूले पढ्ने टेबलमा टाउको राखेर घोप्टो परिरहिन्।
छोरीलाई दुखी देखेपछि मायालु पाराले कपाल सुम्सुम्याउँदै आमाले भन्नु भयो ‘रमा तिमीलाई के भयो ? लौ भन त, किन यसरी झोक्राएर बसेकी ? तिमीले त यसपाली पाँच कक्षामा सुबोध र सरितालाई जित्छु भन्थ्यौ । यसरी पढ्नै नगएर जितिन्छ र ? ल भन न तिम्रो कुरा के हो ? म सुन्छु।’
आमाको यस्तो कुरा सुनेपछि रमाले बिस्तारै टाउको उठाइन् । अनि भनिन् ‘मलाई अबदेखि सधैं हलुवा र मकै भटमासको खाजा नबनाइदिनू । मलाई पनि सुबोध र शर्मिलाको जस्तै खाजा किनिदिनू । मलाई नि अब चाउचाउ र चुइगम किन्ने पैसा सधैँ दिनू ।’ भनिन्।
रमाको कुरा सुनेर मुसुक्क हाँस्नुभयो । गालामा चुम्बन गरिदिँदै आमाले भन्नुभयो ‘यति सानो कुरा भन्न पनि तिमीले यतिबेर लगाउनु पर्छ त ? एउटा चाउचाउ म किनिदिई हाल्छु नि ! रमा लौ छिटो कपडा लगाऊ । अब स्कुल जानुपर्छ । दस बज्नै पो लागिसक्यो त !’ आमाले भन्नुभयो । नभन्दै रमाले हतारहतार कपाल कोरिन् । जुत्ता लगाइन् ।उनी आमाको हात समातेर स्कुलतर्फ लागिन्।
रमा स्कुलमा पुग्दा दैनिक प्रार्थना सकिइसकेको रहेछ । उनलाई स्कुलमा देख्नासाथ उनका साथीहरूले ‘रमा आई ! रमा आई !’ भन्दै खैलाबैला गरे । रमा भने खुरुर्र दौडेर साथीसँगै गइन्।
रमालाई स्कुल पु-याएर उनकी आमा मनमा अनेकौ कुरा खेलाउँदै घरमा फर्कनुभयो । उहाँ घरमा आएर आफ्नै काममा व्यस्त हुनुभयो । त्यस दिनको त्यो घटनापछि रमा बिस्तारैबिस्तारै बाहिरकै खाजा खाँदै स्कुल जान थालिन् । आमालाई भने रमाको त्यो व्यवहार त्यति चित्त बुझेको थिएन । यसपछि रमाको स्कुलमा परीक्षाको मिति तय भयो । साँझबिहान आमाले रमालाई मेहनतसाथ पढ्न सिकाउनुभयो।
०००
एकदिन दिउँसो रमाकी आमा खेतमा काम गर्न जानुभएको थियो । उहाँको मोबाइलमा रमाको स्कुलबाट फोन आयो । ‘रमा बिरामी भइन्, तपाईँ स्कुलमा आउनुहोला’ भन्ने खबर आयो । हतारहतार रमाकी आमा काम गर्दैगरेको ठाउँबाट सिधैँ स्कुलतिर जानुभयो । स्कुलमा पुग्दा रमालाई नजिकैको स्वास्थ्य चौकीमा लगिसकिएको रहेछ । रमा बेडमा सुतेकी रहिछन् । आमालाई देखेपछि उनले अलिकति आँखा उठाइन् । उनको पेट डम्म फुलेको रहेछ । टाउको पनि नराम्रोसँग दुखेको रहेछ।
डाक्टरले निकै समय लगाएर रमाको स्वास्थ्य चेकजाँच गरे । त्यसपछि रमाकी आमालाई ‘रमाले घरमा के खाएकी थिइन् ? अनि आज खाजा के ल्याएकी थिइन् ?’ भनेर सोधे । ‘कतै यिनले पानी कम पिएर हो कि !’ डाक्टरले अर्को अनुमान पनि गरे । ‘रमा त दिनदिनै कमजोर पो हुँदै गइन् त ।’ डाक्टरको कुरा सुनेपछि आमा एकछिन गम्न लाग्नुभयो।
उहाँले मन–मनमा अस्ति बिहानको घटना पनि सम्झनुभयो र बिस्तारै भन्नु भयो ‘सर, छोरीले अघिल्लो आइतबारदेखि सधैँ चाउचाउको मात्र खाजा खाँदैछिन् । उनले मैले बनाएका रोटी, हलुवा र मकै भटमास अचेल पटक्कै रुचाउँदै रुचाउन्नन् । कतै त्यसैको असर हो कि!’
डाक्टरले पनि आपूmलाई त्यही कुराको शङ्का लागेको बताए र घरमा बनाएर खाइने खाजा बजारमा पाइने खाजाभन्दा धेरै राम्रो हुने कुराबारे रमा र उनकी आमा दुबैलाई राम्रोसँग सम्झाए । रमालाई चाउचाउ, बिस्कुटलगायतका तयारी खाजाभन्दा आमाले बनाउने मकै, भटमास, रोटी नै खान सल्लाह पनि दिए।
डाक्टरले लेखिदिएको औषधी किनेपछि रमालाई लिएर आमा घरमा फर्कनुभयो । घरमा आएपछि आमाले सुस्तरी टाउको मुसार्दै रमालाई भन्नुभयो ‘नानु, तिमीले लगातार बाहिर बनेका तयारी खाजा मात्र खायौ । त्यसैको असर तिमीलाई देखियो । त्यस्ता खाजाले हाम्रो स्वास्थ्यमा असर पार्छन् । हेर त तिम्रो पेट कस्तो टम्म फुलेको छ । अनि आँखा पनि कस्ता पहेँला देखिएका छन् ? तिमी दिनदिनै कमजोर बन्दैछौ। अब तिमी घरैमा बनाएको ताजा खाजा खाऊ ल!’
आमाको कुरा सुनेपछि शीर निहुराएर ‘हुन्छ’ भन्दै रमा लजाइन् । ‘अस्तिको कुरा त मैले बिर्सिसकेँ रमा । अब नलजाऊ ।’ भन्दै आमाले उनलाई सुम्सुम्याउनुभयोे । आमाको कुरामा रमाले फेरि थपिन् ‘आमा, भोलि यो कुरा म स्कुलका अरु साथी रीता, श्याम र रमितालाई पनि भन्छु है ! उनीहरू पनि त घरायसी खाजा कहिल्यै खाँदैनन् नि । सधैँ चाउचाउ, लेज, चटपटे र हम्टीडम्टी मात्र किनेर खान्छन् नि!’
प्रकाशित: ६ आश्विन २०७५ ०४:३७ शनिबार