१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

उत्कृष्ट ‘महाकाली’

भक्तपुरमा गाईजात्राको अवसरमा आयोजित कार्यक्रममा देवी नाचमा महाकालीको भूमिकामा नाचेकी सवेरा बज्राचार्य। तस्बिर : उपेन्द्र/नागरिक

सवेरा बुद्ध धर्मावलम्बी हुन् । उनलाई हिन्दू देवी महाकाली निकै मनपर्छ । गाईजात्राको अवसरमा आयोजित देवी नाचमा महाकालीको भूमिका निभाएकी यीनै सवेरा महिलातर्फ उत्कृष्ट कलाकार घोषित भइन् । उनको समूहले भने सान्त्वना पुरस्कार हात पारेको छ।   

‘मलाई निकै खुसी लागेको छ,’ सवेराले भनिन्, ‘परिवार र साथीभाई सबै खुसी भएका छन् ।’ भक्तपुरमा मल्लकालदेखि नै देखाउँदै आएको परम्परागत देवी नाचमा यसपटक भने यो ‘देवी’ अर्थात् नारीले समेत सहभागिता जनाएका हुन् । पर्यटन दिवसको अवसरमा उनलाई अन्य  विजेतासँगै सम्मान गरिनेछ।

भक्तपुरस्थित ‘द राइजिङ स्टार’ विद्यालयमा अध्यनरत उनले आफ्नो समूहसँगै गाईजात्राको अवसरमा भक्तपुरका डवली र चोकमा देवी नाच नाचेकी थिइन् । पुरुषले नाच्दै आएको यस्ता नाचमा पहिलो पटक कन्याहरूले सहभागिता जनाउँदा  स्थानीयले खुसी व्यक्त गरेका थिए  । सवेरा उत्कृष्ट बनेपछि सबैलाई हौसला पनि भएको छ । ‘हामीलाई थप हौसला मिलेको छ,’ सवेराको साथमा महालक्ष्मीको भूमिका निभाएकी श्रृजा शाक्यले भनिन् । उनी पनि बुद्ध धर्मावलम्बी हुन्।

भक्तपुरमा बुद्ध धर्मालम्बी र हिन्दू धर्मालम्बीबीच सदियौंदेखि  राम्रो  सम्बन्ध रहँदै आएको छ । यहाँका विभिन्न चाडपर्वमा दुवै धर्मका मानिस मिलेर मनाउने गर्छन् । मन्दिर र चैत्य एकै ठाउँमा छन् । सँगै परिक्रमा गर्छन् ।  ‘यो  नगर सदियौंदेखि धार्मिक सहिष्णुताको प्रतिक हो,’ संस्कृतविद् ओम धोभडेलले भने, ‘विभिन्न जातजाति र धर्मावलम्बी नगरमा रमाएर बसेका छन्।’

शाक्य कुलकी छोरीलाई कुमारी मानेर पुज्ने चलनदेखि चैत्यको किनारमा गणेशका मूर्तिसमेत भेटिन्छन् । ‘पञ्चदानका हिँडाइने बुद्धका पाँच आकृतिलाई हिन्दू समुदायले पाण्डवको रूपमा मानेर पुज्छन्,’ उनले भने,  ‘एउटै आकृतिलाई दुवैले पुज्ने यो धार्मिक सहिष्णुताको  गज्जबको उदाहरण हो।’

सवेराको सफलताले उनका पिता अशोक बुद्धाचार्य पनि औधी खुसी छन् । ‘छोरीको सफलताले परिवारमा खुसी दिएको छ,’ उनले भने, ‘हामीले उसलाई अझै राम्रो गर्न भनेका छौं।’

देवी नाचका कलाकार एंव प्रशिक्षक मुक्तिसुन्दर जधारी आफै पनि परम्परागत महाकाली नाचका कलाकार हुन् । सवेराको सफलताले उनलाई पनि निकै खुसी दिएको छ । ‘पहिलो खुसी त देवी नाचमा नारीलाई नै राखेर नचाउन पाउँदा भयो,’ उनले भने, ‘यहि टोलीकी सवेरा उत्कृष्ट बन्दा झनै खुसी मिलेको छ।

देवी नाचका टोलीसँगै भदौ ८ गते दिक्षान्त लिएर ११ गते गाईजात्रामा नगर घुमेका उनीहरूले १३ र १५ गते भक्तपुरमा विभिन्न चोक र डबलीमा नाच्दै सर्वसाधारणलाई खुसी बनाए।

विद्यालयका प्रिन्सिपल चण्डीका कायस्थ सवेरा पढाई पनि उत्कृष्ट रहेका बताइन् । ‘ऊ हरेक कुरामा चासो दिन्छे, अगाडी बढ्छे,’ उनले भनिन्, ‘अहिले ऊ सफल हुँदा हामीलाई खुसी लागेको छ।’

परम्परागत पहिरनमा मुखुण्डो लगाएर नाच्न थालेपछि जिउमा अर्के शक्ति आए जस्तो भन हुने सवेराको बुझाई छ । नाचको क्रममा उनले पटक–पटक महिषासुर बध गरेकी छिन् । ‘पापीबाट सज्जनको रक्षाको लागि गरिएको महिषासुर बधको कथा हो,’ उनले भनिन्।

संस्कृतविद् ओम धौभडेल विगतको समयमा महिलालाई नाचगानमा बर्जित गरिने गरेका कारण पुरुष सहभागिता हुँदै आएकोमा पछिल्लो समयमा यो सोच परिवर्तन हुँदै आएको बताउँछन्।

भक्तपुर नगरपालिकाले पछिल्लो समयमा स्थानीय कला संस्कृतिलाई पाठ्यक्रममा समेत समावेश गरेको छ। जसका कारण विद्यालय तहबाटै कला संस्कृतिको जगेर्ना हुने अपेक्षा गरिएको पर्यटक सूचना केन्द्रका मुरज दिदियाले बताए।

‘पहिलो पटक सहभागी टोलीकी मुख्य कलाकार उत्कृष्ट घोषणा गर्न पाउँदा नगरपालिका हर्षित भएको छ,’ दिदियाले सुनाए, ‘यसले नयाँ पिढीलाई कला संस्कृतितर्फ अझै आकर्षित गर्नेछ।’

गाईजात्राको अवसरमा भक्तपुरमा देवी नाचको अलावा भैल, माक, गाइचा, लुसी, फाकदली, लाखे, क्लालिचा, भालु, जंगली, खिचा, ख्या, क्वाचा, घिन्ताङघिसी, झ्याउरे, हनुमान, मेखा, झ्या झ्या, ख्याल, हुला, नागचालगायत विभिन्न परम्परागत नाच देखाइएको थियो।

यी सबै नाचका विजेतालाई समेत पर्यटन दिवसको दिन आयोजित कार्यक्रममा पुरस्कार दिइने दिदियाले जानकारी दिए।

प्रकाशित: ६ आश्विन २०७५ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App